
ढल्केबर/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संसद चल्न नदिएका कारणले नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन्।
धनुषाको ढल्केबरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अब संसद चलेपछि एमालेले नाराबाजी गरेपनि नागरिकताको समस्या समाधान गर्ने बताए। ‘एमाले गुटले नै संसद चल्न दिएको छैन्। संसदमा बहस हुन दिएको छैन्,’ उनले भने, ‘यो नागरिकताको समस्या ढिलो भइरहेको छ। हामीले सदन खुलेपछि एमालेले माने पनि नमानेपनि नागरिकताको समस्या समाधान गरिनेछ।’
बा–आमाको नागरिकता भए पनि छोराछोरीको नभएको लज्जास्पद स्थिति जनकपुरमा देखा परेको उनले बताए। ‘बाउआमाको नागरिकता हुने छोराछोरीको नहुने जस्तो लज्जास्पद स्थिति यहाँ देखा परेको छ। त्यसकारण अदालतले के भन्यो, उसले भन्यो, यो मुद्धा सम्बोधन हुनैपर्छ। तर अध्यादेश ल्याएर सम्बोधन नगर, संसदको अधिवेशनभित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्नुपर्छ भन्ने अदालतको फैसला भएको हुनाले अध्यादेश ल्याएर यसलाई समाधान गर्न सकेनौं’ प्रचण्डले भनेका छन।
उनले मधेशी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि संघर्ष गरिरहने बताए। ‘अन्तिम समयसम्म पनि म मधेशको लडाईं र अधिकारलाई अघि बढाउने प्रतिवद्धता गरेको थिएँ। मैले मधेशका ८ वटै जिल्लामा भ्रमण गरेर अपिल गरेको थिएँ, जनताको अधिकारका निम्ति अन्तिम समयसम्म संघर्ष गरिहनेछौं’ प्रचण्डले भनेका छन्। – नेपालखबर
प्रतिक्रिया