म सँग भिजन छ, सोच छ अनि मनमा आँट पनि छ : हरि प्रसाद मण्डल ।।

धनवीर महतो

महोत्तरी । 

यस हप्ताको अन्त्यतिर हुन लागेको स्थानियतह निर्वाचनको लागि देशका ७५३ वटै पालिका चुनावमय बनिसकेका छन् । हरेक उम्मेदवारहरु आममतदातालाई आफुतर्फ आकर्षित गरि मत तान्नमा अहिले व्यस्त रहेका छन् । यस्तै मत माग्नका लागि व्यस्त रहेका मटिहानी नगरपालिकाको लागि मेयरको उम्मेदवार दिएका हरिप्रसाद मण्डलसँग हामीले कुराकानी गरेका छौ ।

प्रस्तुत छ महिटानी नगरपालिकाको लागि लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवार दिएका हरि प्रसाद मण्डलसँग धनवीर महतोले गरिएको कुराकानीको सम्पादित अंश :

वैशाख ३० गते पालिकास्तरको निर्वाचन भईरहेको छ । यहाँ पनि मेयर पदमा उम्मेदवार दिई चुनावी रणभु्मिमा ओर्लिनुभएको छ । पछिल्लो समय दिनचर्या कसरी वित्दैछन् ? 

– स्थानियतहको निर्वाचन आउनका लागि एकहप्ताभन्दा कम समय रहेको छ । म आफनो प्यानलको उम्मेदवारहरुको साथमा हरेक समय मतदातासँग विताउँदैछु । स्थानियतहको चुनावको घोषणा भएलगतै अन्य पालिका झै मटिहानी पनि चुनावमय बनेको छ । यहाँका उम्मेदवारहरु स्वतःस्फुर्तरुपमा मत माग्नमा व्यस्त छन् । म अहिले टोलटोलमा गई आममतदातासँग भेटघाट गर्दै उनीहरुसँग सामुहिक छलफल गर्दै आएको छु । यस चुनावलाई पनि आफनै पक्षमा पार्नका लागि मेरो प्यानल व्यस्त छन् । मैले आमनागरिकसँग पछिल्लो घटनाक्रमलाई मनन गर्दै अगामी यात्राको सम्बन्धमा विचार विमर्श गरि समय विताईरहेको छु । समग्रमा भन्नुपर्दा म मटिहानीवासीसँग राय सल्लाह लिनुको साथै आममतदातासँग मत माग्नमै व्यस्त छु भन्नुपर्ला ।

 ५ बर्षपछि पुनः मत माग्नका लागि जनतासमक्ष पुग्नुभएको छ । जनताले के– कस्ता प्रतिक्रिया दिईरहेका छन् ?  

–  म सर्वप्रथम मटिहानीवासीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । उहाँहरुको आर्शिवादले म यसपालिकाको नगरप्रमुख भई ५ बर्षे कार्यकाल विताएको छु । स्थानियतह जनप्रतिनिधीविहीन भएको समयमा कर्मचारीहरुवाट आजित भएका स्थानिवासी अहिले परिवर्तनको महसुस गदैछन् । जनताहरुले मलाई मटिहानी नगरपालिका संचालनको लागि जुन अधिकार प्रदान गर्नुभयो त्यसप्रति उनीहरुलाई रतिभरि पनि पछुतो छैन् । उहाँहरुको सहयोग र विश्वासले म आफनो सफल कार्यकाल विताएको छु् । म त्यसको लागि उहाँहरुप्रति म कृतज्ञता अर्पण गर्दछु । कार्यकाल विताएर पुनः आमनागरिकसमक्ष जाँदा उनीहरु प्रायः नगरपालिकाको सम्बन्धमा चर्चा परिचर्चा गर्दै आएका छन् । मटिहानी नगरपालिकाप्रति उनीहरुको रतिभरि पनि गुनासो छैनन् । उनीहरु वल्कि यसअवधिमा भएको कामकारवाहीको सम्बन्धमा अन्र्तहृदयदेखि मेरो कार्यको प्रसंशा गर्दै धन्यवाद दिईरहेका छन् । कहिकतै मेरोप्रति जनगुनासो छैन ।

अहिले अनेकौ उम्मेदवारहरु मटिहानीको वागडोर सम्हाल्नका लागि चुनावी मैदानमा उत्रिएका छन् । हरि मण्डललाई नै मत दिनुपर्ने त्यस्तो कारण के रहेको छ ?

– नेपालमा कुनै पनि व्यक्तिलाई योग्यताअनुसारको पदमा उम्मेदवार दिनका लागि स्वतन्त्रता प्राप्त भएको छ । यो नै गणतन्त्र, लोकतन्त्रको ठूलो उपलब्धि रहेको छ । म पछिल्लो समयमा गरेको कार्यहरुप्रति नागरिकहरु सन्तुष्ट रहेका छन् । उनीहरु मेरो कार्यप्रति कतैपनि गुनासो छैन । म निस्वार्थ रुपमा यस पालिकाको चौतर्फी विकासका लागि तत्पर रहेको छु । म नगर विकासको सवालमा हरेक क्षेत्रमा काम गरेकोले मेरो कामको मुल्यांकन अहिले जनताले गर्दै आएको छ । मेरो कामको मुल्यांकन गर्दै जनताले मलाई अवश्य नै मत दिनेछ । म विश्वस्त छु ।

यसपटक तपाईको मुख्य मुख्य चुनावी एजेण्डाहरु के के रहेका छन् ? 

– म सर्वप्रथम आफ्नो पहिलो कार्यकालमा अधुरा रहेको कामकाजलाई पुरा गर्नेछु । त्यस्तै कृषिमा आमुल्य परिवर्तन, मटिहानीको शिक्षालाई अन्र्तराष्ट्रिय मोडेलेको रुपमा प्रारुप गरिने, पालिकाभरिका हरेक स्थानलाई सौन्दर्यीकरण गर्नुको साथै ढल नाला निकासको व्यवस्थापन गर्नेछु् । अझ एक स्थानमा एउटा अस्पताल बनाउनेछु । हरेक सडकलाई प्रदेश र संघिय सरकारको सहयोगमा दुई लेन, चारलेनको बनाउनेछु । सडकमा अमोमेटिक वती जडान गर्नुको साथै जनकपुर अंचलकै पुरानो वजार मटिहानी वजारलाई आधुनिकतासँग जोडेर विकसित गरिनेछु । म सँग भिजन छ, सोच छ अनि मनमा आँट छ । म गन्तव्यमा पुग्नेछु् मसँग आत्मविश्वास छ । म आफनो भिजनभन्दा जनताको भिजन, आवश्यक्ता अनुसारको विकासको कामलाई पहिलो प्राथमिकतामा राखि मटिहानीमा विकास लहर ल्याउनेछु । यसभन्दा अगाडिको कार्यकालमा पनि जनअपेक्षा अनुसार विवादरहित ढंगले कार्यसम्पादन गर्दै आएको थियो । जसअन्र्तगत हरेकबर्ष असार १० गतेभित्र वजेट निर्माण गरि योजना बनाई नगरविकास निर्माणको कामकाज गर्दै आएको थियो ।

यहाँले पहिलो कार्यकाल विताउनुभएको छ । अर्को कार्यकालमा यहाँले मटिहानीको पहिचानलाई कुन रुपले दिन चाहनुहुन्छ ?

-मेरो पालिकामा रहेको हरेक गाँउको आ आफनै पहिचान रहेको छ । ऐतिहासिक, धार्मिक, पौराणिक धरोहरहरु यहाँ अनेकौ स्थापित रहेको छ । यहाँ नेपालकै सवैभन्दा पुरानो संस्कृत विद्यालय, प्रसिद्ध लक्ष्मीनारायण मठ, अंचलकै पुरानो मटिहानी वजार, मजार रहेको छ । म अव यस पालिकालाई धार्मिक एवम् पौराणिक तथा शैक्षिक हवको दृष्टिकोणले पहिचान गराउनेछु । यहाँँ देशका राष्ट्रप्रमुख लगायतका अन्य उच्च तहतप्कामा रहेका प्रतिनिधी एवम् पदाधिकारीहरु मधेश प्रदेशमा आउँदा एकपटक यहाँ अवश्य भ्रमणमा आएको हुन्छ । जुन मटिहानी लगायत महोत्तरीवासीको लागि गौरवको विषय बन्दै गएको छ । म चाहन्छु यसलाई अझ देशव्यापी नभई विश्वस्तरमा मटिहानी चर्चाको विषय बनोस् ।

अन्त्यमा के भन्नचाहनुहुन्छ ?

-अहिले चुनावको समयमा सवैले आ आफ्नो तरिकाले मत मागिरहेका छन् । उनीहरु चुनावी एजेण्डा सहितको विकासको रणनिती सहितको अवधारणा प्रस्तुत गर्दैछन् । सवैले मतदातालाई आकर्षित पार्ने किसिमले मत मागिरहेका छन् । म मटिहानीवासीलाई पुनः आग्रह गर्न चाहन्छु अधुरा काम गर्न र मटिहानीलाई अझ विकसित गर्नका लागि मलाई अवसर प्रदान गरियोस् । मेरो प्यानललाई विजयी गराई मटिहानी विकासको लागि मौका प्रदान गरिदिनका लागि मटिहानीवासीमा पुनः आग्रह गर्न चाहन्छु । म यहाँहरुको आशालाई पुरा गर्नका लागि अझ मेहनेत गरि विकासपथमा आफुलाई उभाउन चाहन्छु । विश्वास गर्नुस् अनि मलाई मत दिएर एक पटक पुनः मटिहानी विकासको लागि मलाई अवसर प्रदान गर्नुस ।

{अन्नपूर्णाकर्मी पत्रकार राजकरण महतोको विशेष सहयोगमा }

 

प्रतिक्रिया

सम्बन्धित समाचार