अगामी वैशाख ३० गते हुन लागेको स्थानियतहको निर्वाचनमा स्वतन्त्रकोतर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवार दिएका पात्र हुन ललित कुमार सिंह । गौशालाको पश्चिमी भागमा रहेको यस वडाको विकासको निम्ति हरपहल गरि वडाको मुहार परिवर्तन गर्ने सिंहले आँट देखाएका छन् । प्रस्तुत छ , यसै सन्दर्भमा पत्रकार धनवीर महतोले गरेको कुराकानीको सम्पादित अंश……..
अहिले देशमा अनेकौ पार्टीहरु चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । तपाई गौशाला नगरपालिकाको वडाअध्यक्षमा किन स्वतन्त्रतर्फबाट उम्मेदवारी दिनुभयो ?
– निश्चित रुपमा स्थानियतहको निर्वाचनमा देशका अनेकौ पार्टीहरु चुनावी मैदानमा होमिएको छ । त्यसैक्रममा मैले गौशाला नगरपालिकाको वडा नं. १२ मा स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएको हुँ । मैले लामो समयदेखि नेकपा माओबादीका कार्यकर्ता भएर पार्टी स्थापनाको लागि संघर्ष गरेको छु । मेरो त्याग, पार्टीको गरिएको योगदानको यहाँका नेता कार्यकर्ताहरु कहिल्यै कदर गरेनन् । उनीहरु जहिले पनि काम मात्रै गराउन खोज्यो तर पदमा आउने समयमा अनेकौ वहानावाजी गरेर मलाई वन्चित गरिएको अवस्था रहेको छ ।
यस पटकको निर्वाचनमा पार्टीकोतर्फबाट म आधिकारीक उम्मेदवारी पाउनुपर्छ भनेर मैले वारम्वार आवाज उठाएका थिए । आश्वासन पाईयो तर उधारो । अनन्तः मैले यसपटक पनि आधिकारीक टिकटबाट बन्चित भईयो । मैले उठाएको आवाज म मै सिमित भयो । अनि म स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको हुँ । मैले मनोनयन दर्ता गराउने दिनसम्म अन्य पार्टीले मलाई टिकट दिनका लागि तयार भएको थियो तर म आफुलाई स्वतन्त्रमै राख्न चाहेर यसपटकको निर्वाचनमा भाग लिएको हुँ ।
अनेकौपटकको निर्वाचनमा यहाँले ठोस भुमिका निर्वाह गरेको अवस्थामा भन्नु्पर्दा अहिले स्वतन्त्रबाट उम्मेदवारी दिदा के कति महसुस भईरहेको छ ?
– मैले अनेकौ निर्वाचनमा पार्टीको तर्फबाट नेतृत्वदायी भुमिका निर्वाह गरेको छु । मैले पार्टीलाई जिताउनका लागि अनेकौ कसरत गरेको छु । ती दिनलाई स्मरण गर्दा मलाई स्वतन्त्रमै उम्मेदवारी दिदा फाईदाजस्तो लागेको छ । यसमा न पार्टीको निर्देशन हुन्छ न त उच्च तहका पदाधिकारीको दवाव । नाम नै स्वतन्त्र भएपछि ईच्छाअनुसारको कार्यसम्पादनअन्र्तगत चुनावी एजेण्डा र चुनावी रणनिती अपनाउन सकिन्छ । मलाई पार्टीकोतर्फबाट चुनावमा भाग लिनुभन्दा स्वतन्त्रमै फाईदाजस्तो लागेको छ ।
यहाँको चुनावी एजेण्डाहरु के के रहेका छन् ?
– मैले स्थानियस्तरमा रहेको समस्यालाई समाधान हुने किसिमले चुनावी एजेण्डाहरु तयार गरेको छु । वडा नं. १२ पूर्वपश्चिम महेन्द्रराजमार्गदेखि दक्षिण पश्चिममा सर्लाहीको सिमा परेेेेकाे छ । मेरो उम्मेदवारी नै यसक्षेत्रको चौतर्फी विकासको लागि रहेको छ । खासगरि स्वास्थ्य, शिक्षा, सडक, सिँचाई, विद्युतीकरण, कृषि र वजारीकरणलाई मैले प्राथामिकतामा राखेको छु । त्यस्तै अन्य एजेण्डाहरुमा महिला सशक्तिकरण, नदी नियन्त्रण, वन्यजन्तु नियन्त्रण लगायत रहेका छन् । मैले झुठा एजेण्डा यसमा समावेश गरेका छैनौ । मैले गर्न सकिने एजेण्डालाई नै यहाँ स्थान दिएको छु । वडाभरिमा रहेका तीनवटा सामुदायिक विद्यालयलाई व्यवस्थित गर्दै पठनपाठनको व्यवस्थापन गरिनेछु । स्वास्थ्यसंस्थालाई अझ व्यवस्थित गरि दक्ष जनशक्तिको व्यवस्थापन गरि चौविसौ घण्टा सेवा उपलब्ध हुने किसिमको यसले प्रत्यक्ष रुपमा गौशाला वडा नं. १२ का आमजनतालाई सहयोगीको भुमिकामा ल्याउन सकिनेछ ।
यहाँले उम्मेदवारी दिएका क्षेत्र कृषिमा आधारित क्षेत्र रहेको छ । तर किसानहरु विभिन्न समयमा दुःख भोगेको अवस्था रहेको छ । यसलाई कसरी समाधान गर्न सक्नुहुनेछ ?
-मैले यसभन्दा अगाडि राखिएको चुनावी एजेण्डामा कृषिलाई प्राथामिकतामा राखेको छु । वास्तवमा भन्नुपर्दा यहाँका किसानहरुको समस्या अनेकौ रहेका छन् । उत्पादनदेखि लिएर कटानी, वजार देखि उपभोक्तासम्मको समस्यामा किसानहरु रहदै आएका छन् । मैले किसानहरुको हकमा किसान कार्ड लागु गरि उनीहरुको समस्या समाधान गरिनेछु । सोही कार्डको आधारमा उनीहरुलाई आवश्यकमात्रामा विउविजन, मलखाद्य, सिँचाईको प्रवन्ध गरिनेछु । वन्यजन्तुले समय समयमा यहाँको किसानलाई हैरानी पार्दै आएको छ । त्यसलाई नियन्त्रण गर्नका लागि वनछेउमा तारजाली लगाएर किसानको वाली वचाउनेछु । त्यस्तै कान्तिवजारलाई कृषि वजारको रुपमा परिणत गरिनेछु । सो वजारलाई व्यवस्थित कृषिमैत्री बनाएर व्यवस्थापन गर्नेछ्ु । खेतखेतमा सिँचाईलाई पुर्याउनका लागि विद्युतीकरण गर्नेछु । सिँचाईमिटरको महसुल वडा कार्यालय नै तिर्ने व्यवस्था गर्नेछु । मैले आफनो घोषणापत्रमा उल्लेख गरिएको हरेक वुँदालाई अनिवार्यरुपमा लागु गरिनेछु ।
अन्त्यमा के भन्नचाहनुहुन्छ ?
– स्थानियतहको निर्वाचन अगामी वैशाख ३० गते हुन गईरहेको छ । म सम्पूर्ण आममतदाताहरुमा आग्रह गर्न चाहन्छु, यस निर्वाचनमा यहाँहरुले व्यक्तिलाई रोज्नुस अनि गाँउमा विकासको लहर ल्याउनुस । विकास भनेको कुनै दलले नभई व्यक्ति विशेषको सोच र आत्मनिर्णयमा निहित हुने विषयवस्तु रहेको छ । तसर्थ यसपटक म गौशाला वडा नं. १२ को विकासको लागि तयार छु मलाई एकपटक मौका दिनहुनका लागि सवैमा अनुरोध गर्दछु ।