
वीरगँज— पर्साको वीरगँजबाट मोटरसाईकल चोर र ब्याट्री चोर पक्राउ परेका छन् । वीरगँज महानगरपालिका वडा नम्बर २४ बस्ने दीप सागर पटेलले चलाएको ना ३ ख ८४८२ नम्बरको ट्रक चलाउँदै पावरहाउस चौकतर्फ जाँदै गर्दा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरिएको जनाएको छ ।
मातहत प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले सो नम्बरको ट्रक माथि शंका लागी जाँच गर्ने क्रममा नम्बर नखुलेको ट्रकको १२ भोल्टको ४ वटा ब्याट्री बरामद गरेको हो । चालक पटेललाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा सो ब्याट्रीहरु नम्बर नखुलेको ट्रकबाट चोरी गरी ल्याएको हुँदा उनलाई चोरी सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाइएको छ । मँगलबार करिब १ः३० बजेको समयमा वीरगँज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको शंकराचार्य गेट स्थितमा जाँच गर्दा एक मोटरसाईकल चोर समेत पक्राउ परेको हो ।
स्थानीय बर्ष २१ को राजकपुर महत्तोले ना .५५ प. ६४६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी गरी भारतीय नम्बर प्लेट लगाई चलाइरहेको अवस्थामा पक्राउ गरिएको हो । महतोलाई पनि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।