धनवीर महतो
महोत्तरी / शुक्रवार सम्पन्न भएको स्थानियतह निर्वाचनमा जिल्ला विभिन्न मतदान केन्द्रमार्फत ४ पूर्वमन्त्री र एक वहालवाला मन्त्रीले मतदान गरेका छन् ।
यसरी मतदान गर्नेमा संघिय सरकारका पूर्वमन्त्रीहरु शरतसिंह भण्डारी, गिरीराजमणि पोखरेल, डा. सुरेन्द्रकुमार यादव र सरोज सिंह कुशवाहा रहेका छन् । त्यस्तै मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले आफनो पायक पर्ने मतदान केन्द्रमार्फत मतदान गरेका हुन ।
शरतसिंह भण्डारी
(पूर्वमन्त्री, संघीय सरकार)
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफनो पैतृक गाँउ औरहीमा मतदान गरेका छन् । शुक्रवार पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले औरही वजारमा रहेको प्राथमिक विद्यालयबाट मतदान गरेका हुन । नेता भण्डारीले यसबर्षको स्थानियतहको निर्वाचनलाई मिश्रित रुपमा उपलब्धि हासिल भएको प्रतिक्रिया दिएका छन् । अन्नपूर्णपोष्टसँग कुराकानीको क्रममा वरिष्ठ नेता भण्डारीले भने, ‘युवाहरु स्थानियतहको निर्वाचनमा होमिनु भनेको देशमा लोकतान्त्रिक शासन प्रक्रिया सफलतातर्फ अग्रसर हुनु हो । पालिकाको काम, कर्तव्य, अधिकार, वजेटलाई ध्यानमा राखेर युवाहरु स्थानियतहको निर्वाचनमा आईरहेका छन् । जुन सकारात्मक सफलताको उपलब्धि हो ।’
गिरीराजमणि पोखरेल
(पूर्व शिक्षा मन्त्री, संघीय सरकार)
आजै विहान नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले वर्दिवास नगरपालिका ३ स्थित दुधेश्वर प्रावि मतदानकेन्द्रमार्फत मतदान गरिएको हो । पूर्वमन्त्री पोखरेलले सो मतदान केन्द्रमा मतदान गर्ने पहिलो व्यक्ति रहेका छन् ।
डा. सुरेन्द्र कुमार यादव
(पूर्व स्वास्थ्य राज्यमन्त्री, संघीय सरकार)
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् संघिय सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले सम्सी गाँउपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका हुन । पूर्वमन्त्री डा. यादवले गैढाभेटपुरको पुरानो गाविस भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन ।
भरतप्रसाद साह
(मन्त्री, प्रदेश सरकार)
मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले महोत्तरीको गौशालास्थित श्रीमावि भेडियाही फुलकाहा मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गरिएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानीको क्रममा मन्त्री साहले भने, ‘प्रदेशभरिमा केही स्थानबाहेकको मतदान केन्द्रमा शान्तमय वातावरणमा मतदान कार्य सम्पन्न भएको छ । आवश्यकमात्रामा सुरक्षाकर्मी परिचालन गरि मतदान केन्द्रलाई भयरहित वातावरणमा, स्वच्छ, निष्पक्ष ढंगले निर्वाचनमा भाग लिन सकिनेछ । मतदातालाई आवश्यक सहयोग प्रदान गर्नका लागि मतदान केन्द्रमा प्रहरी, प्रशासनले सहयोगीको भुमिकामा रहेको छ ।’
सरोज कुमार कुशवाहा
(पूर्वमन्त्री, प्रदेश सरकार)
मधेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री सरोजसिंह कुशवाहाले आफनो पैतृक गाँउमा रहेको मतदान केन्द्रमार्फत मतदान गरेका हुन । मन्त्री कुशवाहाले मनरासिस्वा नगरपालिका ६ स्थित सर्युमुन्निलाल माविमा रहेको मतदान केन्द्रमार्फत मतदान गरेका हुन ।
अभिराम शर्मा
(पूर्वमन्त्री, प्रदेश सरकार)
प्रदेश सरकारका पूर्वमन्त्री रहेका अभिराम शर्माले पनि तोकिएको समयभित्रमा मतदान केन्द्रमा पुगि मतदान गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता रहेका पूर्वमन्त्री शर्माले जलेश्वर नगरपालिकाको वखरी अंकारमा रहेको मतदान केन्द्रमा पुगि मतदान गरिएको खवर प्राप्त भएको छ ।