महोत्तरी- गौशला नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ । नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी कुमरकन्त झाले बताए ।
उनले नगरपालिकाले सरसफाइकै नाममा वर्षेनी लाखौं रकम छुट्याउने र जनताबाट समेत लाखौ रकम कर लिएर पनि नगरको उचित सरसफाइ नगरेरकोे आरोप लगाए । तराई–मधेशकै सबभन्दा पुरानो मुख्य ब्यापारी केन्द्र मध्येका एक रहेको गौशाला अझैपनि चौतर्फी समुचित विकासको पर्खाइमा रहेको एक स्थानिय ब्यापारी इन्दल राउतको भनाइ छ । उनका अनुसार गौशालाकै विकासको नाममा वर्षेनी करोडौं रकम विनियोजन हुँदै आए पनि यहाँ विकासको अनुभूति हुनसकेको छैन ।
जिल्लामा १५ स्थानीय तह कायम भए पनि जिल्लास्तरीय एक प्रमुख सरकारी कार्यालय,दर्जनै बैंक संघ सस्था र दर्जनै पसल गौशालामै छन् । ती सरकारी कार्यालय र बैंक संघ सस्था र दर्जनै पसलकै आसपासमा फोहरको डङ्गुर देखिएको स्थानीयवासी संजिव कुमार चौधरीले बताए । उनले गौशालाबासी २४ सै घण्टा फोहरमा बस्न बाध्य भएको र नाकमुख थुनेर हिँड्नु परेको गुनासो गरे । इलाका प्रहरी कार्यालय, हुलाक, जिल्ला प्रशासन, नगरपालिकाको कार्यालय ,बैंक संघ सस्था र पसलकै आसपास अगाडी फोहरको डङ्गुर छ ।
नगरपालिकाले अहिलेसम्म नगरको फोहर समेत उचित व्यवस्थापन गर्न सकेको छैन । अन्य विकासको गति त झनै पछाडि रहेको स्थानीयवासीको आरोप छ । नगरपालिकालाई पटकपटक फोहर हटाउन आग्रह गर्दै आउँदा पनि सुनुवाई नभएको स्थानीयवासी गुनासो छ । बजार क्षेत्रका ढल बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेका छ । ढलमा खानेपानीका बोतल, प्लास्टिक लगायतका फोहरका डङ्गुरले ढल पूर्णरूपमा बन्द भएका छन् ।
नगरपालिकाले दैनिक फोहर सङ्कलन गरेर बजारलाई सफा बनाउने काम गर्दै आएको वडा नं ५ का वडाध्यक्ष धर्मेन्द्र साहले बताए ।