फोहोरले भरियो काठमाण्डौ

काठमाडौं, जेठ ९ गते । पसल नजिकै फोहोरको थुप्रो छ। पानी परेकाले दुर्गन्धले वातावरण प्रदूषित छ। व्यापारीहरू तरकारी बेच्दैछन्। कोही मकै पोल्दैछन्। ग्राहकहरू नाक थुन्दै सामान किनेर हतार–हतार निस्कन्छन्। कलंकी–कालीमाटी सडकमा थुप्रिएको फोहोर नउठेको हप्तौं भयो। फोहोरको दुर्गन्धले व्यापारीदेखि सर्वसाधाणले सास्ती भोगेको हप्तौ भयो।

रवीभवनका प्रकाश क्षत्री फोहोरका कारण घरबाहिर निस्कनै मन नलाग्ने बताउँछन। फोहोरकै कारण साँझपख कलंकी मन्दिरमा हुने भजन किर्तन सुन्न जान छोडेको उनले बताए। ‘सबैलाई राजनीति लागेको छ। सडकको फोहोर कसले उठाउने रु,’ उनले आक्रोश पोखे, ‘बर्खाले फोहोर बगाउँदा हैजा फैलिने हो भन्ने चिन्ता छ।’ कुलेश्वरको हनुमान मन्दिर होस कि कालीमाटी चोक। नागपोखरी परिसर भनौ वा प्रज्ञाप्रतिष्ठानबाट दरबारमार्ग निस्कने गल्ली। जताततै फोहोरका डंगुर छन्। केही दिनयताको बर्खाले तिनै डंगुरबाट फोहोर बगाएर सडक हिलाम्मे र दुर्गन्धित बनाएको छ।

देशकै राजधानी काठमाडौं फोहोरले दुर्गन्धित छ। फोहोर कुहिएर सडक हुँदै घरसम्म पुगे अनेकौ रोग फैलन सक्ने भन्दै चिकित्सकहरू चिन्ता व्यक्त गर्न थालेका छन। तर, सरकारको ध्यान भने फोहोर व्यवस्थापनतिर गएकै छैन।

कहिले ल्यान्डफिल्ड नजिकका स्थानीयको अवरोध त कहिले नुवाकोटस्थित सिसडोलस्थित डम्पिङ साइट भरिएर फोहोर उठन नसकेको काठमाडौं महानगरपालिकाका कर्मचारीहरू बताउँछन्। यसपटक बालाजुदेखि सिसडोलसम्मका स्थानीयको हड्तालका कारण फोहोर उठन नसकेको काठमाडौं महानगरपालिका वाताबरण विभाग प्रमुख सरिता राईले बताइन्। ‘बालाजु–मुर्खुभन्ज्याङ–तीनपिपलेका स्थानीय बासिन्दाले सडक राम्रो नभएको र बाटोमा फोहोर झरेर दुर्गन्ध फैलिने गरेको भन्दै हड्ताल गरेका थिए,’ राईले भनिन् ‘फागुनयता ४०र५० दिन त हड्ताल नै भयो। वैशाख ११–२५ गतेसम्म हड्तालकै कारण फोहोर उठाउन पाइएन।’

वातावरण विभाग प्रमुख राईले फोहोर व्यवस्थापनका लागि स्थायी ल्यान्डफिल्डसाइट नबन्दा व्यवस्थापनमा समस्या भइरहेको बताइन्। उनका अनुसार उपत्यकामा हरेक दिन १ हजार २ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ। ६ सय मेट्रिक टन काठमाडौं महानगरपालिकामा मात्रै उत्पादन हुन्छ भने त्यति नै अरू १८ वटा नगरपालिकाको फोहोर संकलन हुने गर्छ।

काठमाडौं महानगरपालिकाले नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डसाइटमा फोहोर पठाउने गरेको छ। ३ वर्षमा फोहोर फाल्न सिसडोलमा सम्झौता गरिएको थियो। तर, सम्झौता सकिएको १४ वर्षसम्म पनि सिसडोलमै फोहर पठाइने गरिएको छ। फोहरको डङ्गुरले सिसडोल भरिएर पहाड नै बनेको छ। पानी परेको समयमा फोहोर बोकेर गएका गाडीहरू फोहोरको पहाड उक्लनै सक्दैनन्। गाडीको जाम हुन्छ। यसैकारण उपत्यकाको नियमित फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाका कर्मचारी बताउँछन्।

राजधानीको फोहोर व्यवस्थापनका लागि नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरे डाँडामा आधुनिक प्रविधियुक्त ल्यान्डफिल्डसँयट अझै पूर्ण हुन सकेको छैन। शहरी विकास मन्त्रालयले बनाउँदै गरेको सो साइट सञ्चालनमा नआएसम्म उपत्यकाको फोहोरको दीर्घकालीन समाधान नहुने सरोकारवालाहरू बताउँछन्।

शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्मा बन्चरे डाँडा प्रोजेक्ट सञ्चालनको अन्तिम तयारीमा रहेको बताए। असारको अन्तिमसम्म उक्त प्रोजेक्ट काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताए। ‘बन्चरे डाँडामा बनेको पहिलो फेजको सेल १ फोहोर फाल्न तयारी अवस्थामा छ,’ प्रवक्ता शर्माले भने, ‘फोहोर फाल्न तयारी भइसक्यो भनेर महानगरलाई चिठीसमेत लेखिसकेका छौं। तर, महानगरले नै चासो देखाएको छैन।’ ल्यान्डफिल्डसाइटको भौतिक संरचना बनाउने जिम्मा मन्त्रालयको भ्उ पनि त्यहाँसम्म पुग्ने सडक निर्माण भने महानगरपालिकाले गर्नुपर्ने उनले बताए। तर, महानगरपालिकाले भने त्यहाँ पुग्ने सडक निर्माणमा चासो देखाएको छैन।

काठमाडौंको उपत्यकाको फोहोर व्यवस्थित गरेर व्यवस्थापन गर्न सकियो भने बन्चरे डाँडामा अब आउने ५० वर्षसम्म फोहोर व्यवस्थापनलाई समस्या नपर्ने बताउँदै शर्माले बन्चरेमा आधुनिक तरिकाले संरचना निर्माण गरेको बताए। साथै, सहजीकरणका लागि मन्त्रालय सधै तयार रहेको बताए। महानगर वातावरण विभाग प्रमुख राईले हरेक दिन २ सय बढी फोहोरका गाडी सिसडोल पठाउने गरिएको बताइन्। ‘ल्यान्डफिल्डसँयट भरिइसकेको छ,’ उनले भनिन्, ‘पानी परेको बेला गाडी पठाउन सकिन्न।

उकालोमा गाडी चिप्लिएर माथि चढ्नै सक्दैनन्। त्यसै कारण पनि फोहोर व्यवस्थापनमा कठिनाइ हुन्छ।’ टेकुस्थित ट्रान्सफर स्टेसनमा पनि स्थानीयले अवरोध गरेका छन्। सडकबाटै फोहोर उठाएर सिधै ल्यान्डफिल्डसाइट पठाउने गरिएको छ। फोहोरको स्थायी रूपमा व्यवस्थापन गर्नेबारे सरोकारवालाको ध्यान जान आवश्यक रहेको बताउँदै उनले विरोधको माध्यम फोहारलाई बनाउने, हड्तालको विषय फोहोरलाई बनाउने गर्दा समस्या भएको बताइन्। ७० प्रतिशत फोहोर कुहिने र नकुहिने ३० प्रतिशत मात्रै हुन्छ। कुहिने फोहर घरमै सागसब्जीमा मलको रूपमा उपयोग गर्न सकिन्छ। अन्नपूर्णपोस्ट

प्रतिक्रिया

सम्बन्धित समाचार