भरतपुरको मेयरमा रेणु दाहाल पुनः विजयी

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहालको विजयी लगभग निश्चित भएको छ ।

वडा नम्वर २२ को मतगणना चलिरहँदा करिब एक लाख मत गनेर सकिएको छ । २९ वटा वडा रहेको भरतपुरमा अब सातवटा वडाको मत गन्न बाँकी छ । तर‚ मेयर पदमा दाहालको मतान्तर निकै फराकिलो भएका कारण नतिजा दाहालकै पक्षमा आउने देखिएको छ ।

आइतबार साँझ भरतपुरको वडा नम्बर २१ र २२ को मतगणना हुँदा ९९ हजार ६ सय ४४ मत गनेर सकिएको छ । जसमा दाहालले ३९ हजार ४ सय १६, एमालेका विजय सुवेदीले ३० हजार ६ सय ६० र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललले १२ हजार ८ सय १० मत ल्याएका छन् ।

भरतपुरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको हो । अब २७र२८ हजार मत गन्न बाँकी रहँदा दाहाल सुवेदीभन्दा ८ हजार ७ सय ५६ मतले अगाडि छिन् । सुवेदीलाई यो मतान्तरको खाडल पुर्न अब असम्भवजस्तै भएको छ ।

यसअघि एमालेको निकै नै राम्रो प्रभाव रहेको भरतपुर महानगरपालिकाका धेरै मतदाता रहेका वडाहरू २, १०, ११ र १२ मा पनि राम्रो अग्रता लिन नसकेका सुवेदीले अब बाँकी वडामा अग्रता लिने सम्भावना देखिएको छैन ।

अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा नं। २२ मा यो पटक नेकपा एकीकृत समाजवादीका उम्मेदवार अगाडि छन् । अघिल्लो निर्वाचनमा २३, २४, २८ र २९ मा पनि एमालेले जितेको थियो ।

एमालेले जितेका यी वडाहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि मत छ । एमालेले उपमेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई र राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरमा एमालेका उम्मेदवारलाई समर्थन गरेको छ ।

मेयर र उपमेयर पदमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल भए पनि सुवेदीलाई चित्तबुझ्दो मत आइरहेको छैन । त्यसैले एमालेमा उम्मेदवार सुवेदीले बाँकी वडाबाट नतिजा नै फरक पार्ने गरेर मत ल्याउने सम्भावना छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार