नयाँ दिल्ली – बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर भएको छ ।
चन्ढीगढबाट भारतीय जनता पार्टीकी सांसद समेत रहेकी खेरलाई ब्लड क्यान्सर भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अभिनेत्री एवम् सांसद खेर मल्टिपल माइलोमाबाट पीडित भएकी छन् । जुन एक प्रकारको ब्लड क्यान्सर हो । उनी अहिले मुम्बईमा उपचारारत छिन् ।
किरण खेरका साथी तथा बीजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै किरणको रोगको बारेमा जानकारी गराएका हुन् ।
सूदका अनुसार किरण अघिल्लो वर्षदेखि उपचारारत थिइन् । उनको अवस्थामा सुधार आएको समेत उनले जानकारी दिए ।
सूदले भने, ‘गत वर्ष ११ नोभेम्बरमा किरणको उनकै घरमा हात भाँचिएको थियो । हातको उपचारको क्रममा उनमा मल्टीपल माइलोमाको शुरुवाती लक्षण देखिएको थियो । उनको रोग बाँया हातबाट दाँयातर्फ फैलिएको थियो । त्यससमयदेखि उनको लगातार उपचार भइरहेको छ ।’