काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रोकिनुको पछाडि गलत मनसाय हुनसक्ने बताएका छन्।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन दिने निर्णय कार्यान्वयन नगर्ने कुरा अत्यन्तै दुःख रहेको बताए। ‘धेरै हिसाबले निजगढमा विमानस्थल उपयुक्त थियो। म अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य पनि हो। पटक-पटक भ्रमण निरीक्षण गर्ने मौका पाएको थिएँ। अहिले जंगल नै छैन त्यहाँ। जंगल नभएको ठाउँमा विमानस्थल रोक्ने कुरा के हो?,’ उनले प्रश्न गरे।
उनले अरु चिजबाट प्रभावित भएर विमानस्थल निर्माणमा हस्तक्षेप भएको बताए। ‘यो निर्णयका बारेमा सम्बन्धित निकायले पनि गहन अध्ययन गरोस्। यो विषयमा सरकार र राजनीतिक दल गम्भीर हुनुपर्छ। निर्णयको बारेमा गहन चिन्तन होस,’ उनले आग्रह गरे। उनले लामो समयपछिको छलफलबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने मास्टर प्लान बनेको स्मरण गरे। उनले विमानस्थलको विकल्प दिनसमेत आग्रह गरे।