Thursday 14th of November 2024

मधेशमा कसरी बलियो बन्यो एमाले?

0 Shares

वीरेन्द्र रमण

जनकपुरधाम / मधेश केन्द्रित दलहरूले प्रायः चुनावी सभामा मात्रै होइन, अन्य कार्यक्रममा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै आएका थिए। उनलाई मधेश विरोधीको संज्ञा दिने गरेका थिए।

एमालेको मेची-महाकाली अभियान, २०७३ का क्रममा पनि त्यो देखिएको थियो। मेचीबाट शुरू भएको अभियान सप्तरीको मलेठ पुग्दा विरोध भयो। मलेठमा भएको झडपका क्रममा तीन जनाको ज्यान गएको थियो। त्यसपछि एमालेले तीन दिनका लागि अभियान नै स्थगन गरेको थियो।

त्यसको पाँच वर्षपछि मधेशमा एमालेको स्थिति फरक देखिएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले मधेशमा दोस्रो ठूलो शक्तिका रूपमा उभिएको छ। मधेश केन्द्रित दलहरू एमालेभन्दा कमजोर देखिएका छन्।

प्रायः मधेशका जिल्लामा कमजोर रहेको एमालेले यस पटक भने राम्रो उपस्थिति जनाएको छ। मधेश केन्द्रित दलहरूको बलियो पकड रहेका जिल्लामा पनि स्थानीय तहको निर्वाचनमा जित हासिल गरेको छ।

२०७४ सालको तुलनामा एमालेले देशका अन्य प्रदेशमा स्थानीय सरकार गुमाएको छ। मधेशमा भने सीट बढाएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा मधेशमा एमालेले १८ स्थानीय तहमा जितेको थियो। यस पटक यो सङ्ख्या बढेर ३० पुगेको छ। मधेशमा एक उपमहानगरसँगै १९ मेयर, २० उपमेयर, ११ गाउँपालिका अध्यक्ष र सात उपाध्यक्ष जितेको छ।

त्यस्तै, २७४ वडाध्यक्ष, २८६ महिला सदस्य, २८१ दलित महिला सदस्य र ५७० सदस्य जितेको छ। सबै गरेर मधेशमा एमालेका एक हजार ४६७ उम्मेदवार निर्वाचित भएका छन्। मधेशमा पहिलो नम्बरमा रहेको नेपाली कांग्रेसका दुई हजार १८३ र तेस्रो नम्बरमा रहेको जनता समाजवादी पार्टी (जसपा) का एक हजार २०२ उम्मेदवार निर्वाचित भएका छन्।

कलैया उपमहानगरमा विनोदप्रसाद साह मेयर निर्वाचित भएका छन्। एमालेले जितेका नगरपालिका; सप्तरीको डाक्‍नेश्वरीमा रामलखन मलाह, कल्याणपुरमा रामकुमार साह तेली, गोलबजारमा श्यामकुमार श्रेष्ठ, धनगढीमाईमा शिवशंकर महतो, सिरहामा नवीनकुमार यादव, सुखीपुरमा रामऔतार यादव, कर्जन्हामा भोलाप्रसाद पोखरेल, क्षीरेश्वरनाथमा सुखदेव यादव, विदेहमा वेचन दास तत्मा, रामगोपालपुरमा रामदुलार साह, बरहथवामा कल्पनाकुमारी कटुवाल, गरुडामा कन्थमनीप्रसाद कलवार, देवाही गोनाहीमा प्रेमलाल साह कानू, मौलापुरमा रीनाकुमारी साह, निजगढमा सुरथ पुरी, पचरौतामा जलन्धरसिंह जैसवार, पर्सागढीमा गोकर्ण पाठक र पोखरियामा प्रदुमनप्रसाद चौहान मेयर बनेका छन्।

दुई वटा उपमहानगर कलैयामा रौशन परविन र जितपुर सिमरामा भोलाप्रसाद अधिकारी उपमेयर निर्वाचित भएका छन्। त्यस्तै, डाक्नेश्वरीमा मीराकुमारी यादव, कल्याणपुरमा रेखाकुमारी यादव, गोलबजारमा मन्ती साह, सिरहामा बबिताकुमारी साह, सुखीपुरमा रेणुदेवी साह, नगराईनमा राधादेवी यादव, मिथिलामा सुनीता सिंह बुढाथोकी, विदेहमा आशादेवी झा, रामगोपालपुरमा रिनादेवी यादव, बरहथवामा रामबाबुप्रसाद साह, हरिवनमा हरिमाया घलान, देवाही गोनाहीमा परनिया देवी, मौलापुरमा नागेन्द्रप्रसाद यादव, निजगढमा सोममाया थिङ, पचरौतामा नसिमा खातुन, पर्सागढीमा पूजा चौधरी, पोखरियामा रुबीकुमारी ठाकुर र बहुदरमाईमा सुष्माकुमारी कुशवाहा उपमेयर बनेका छन्।

मधेशका अग्निसाइर कृष्णासवरनमा दिनानाथ चौधरी, राजगढमा ओमप्रकाश मण्डल, नरहामा रामप्रमोद यादव, भगवानपुरमा उग्रनारायण यादव, विष्णुपुरमा सत्यनारायण यादव, औरहीमा उमाशंकरप्रसाद साह, परवानीपुरमा रामक्षत्रीप्रसाद कुर्मी, प्रसौनीमा विनोदप्रसाद जैसवाल, छिपहरमाईमा मनोज कुमार, सखुवा प्रसौनीमा जसवन्त यादव, ठोरीमा लालबहादुर श्रेष्ठ अध्यक्ष निर्वाचित भएका छन्। यस्तै, नरहामा गुलाबदेवी चौधरी, भगवानपुरमा रेखाकुमारी यादव, औरहीमा पुनमकुमारी साह, परवानीपुरमा सुगान्धीदेवी कनुइन, प्रसौनीमा किरण देवी, विन्दवासिनीमा ज्योति देवी र ठोरीमा गोकुलीकुमारी रेग्मी उपाध्यक्ष निर्वाचित भएका छन्।

स्थानीय तहमा पाएको जितले मधेशमा एमाले नेता तथा कार्यकर्ता उत्साहित बनेका छन्। एमाले सचिव रघुवीर महासेठ अध्यक्ष ओली नेतृत्वको सरकारले गरेका विकासका कामले नै जनताले मधेशमा पत्याएको बताउँछन्। “हाम्रो पार्टीले मधेशमा देखिएको नागरिकता समस्या, मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लगायत काम गरेकाले जनताले विश्वास गरेका हुन्,” महासेठ भन्छन्।

एमाले मधेश प्रदेश इन्चार्ज ज्वाला साह मधेश केन्द्रित दलले एमालेका विषयमा फैलाएको भ्रम चिर्न सफल भएको बताउँछन्। “मधेशका मसिहा भन्ने पार्टीहरूले एमालेका विषयमा भ्रम फैलाएका थिए। जनताबीच गएर हामीले गरेका काम राख्यौं, जनताले विश्वास गरे,” इन्चार्ज साह भन्छन्, “पहिलेभन्दा बढी अभिमत दिएका छन्, यो हाम्रो लागि उपलब्धि नै हो।”

एमाले पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठ एमालेले मधेशमा गरेको विकासका कामले नै यस क्षेत्रका जनताले पत्याएको दाबी गर्छन्। अन्य दलहरूले सधैं आश्वासन मात्र दिएकाले अब जनता त्यो भ्रमबाट मुक्त भएको उनको भनाइ छ।

“बहुदलीय व्यवस्था आएपछि नेपालको राजनीतिमा मधेशबाट धेरै मन्त्री बने तर विकास खासै भएन‚ सबैले आश्वासन मात्रै बाँडे‚” श्रेष्ठले भने‚ “हामीले काम गरेर देखायौं। राणा सरकारले शिलान्यास गरेको हुलाकी राजमार्ग हरेक पटक निर्वाचनमा मुद्दा मात्रै बने। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि १३ अर्ब रुपैयाँ लगायौं। तराईका २१ जिल्लामा सघन शहरी विकास कार्यक्रमलाई ५० करोड बजेट दियौं। तराई-मधेश समृद्धि कार्यक्रम ल्याएर एक खर्ब ५५ करोड रुपैयाँ दियौं।”

श्रेष्ठका अनुसार‚ एमाले सरकारले मधेशमा गरेका विकासका कामले प्रभावित भएर यस क्षेत्रका धेरै नेता एमाले प्रवेश गरेको र जसका कारण स्थानीय चुनावमा अघिल्ला निर्वाचनभन्दा यस पटक धेरै सीट जित्न सफल भएको हो। यद्यपि‚ केही ठाउँमा उम्मेदवार चयनमा भएको कमजोरीले ‍हार बेहोर्नुपरेको उनको बुझाइ छ।

एमालेका स्थानीय नेता तथा कार्यकर्ताका अनुसार, प्रभु साहको प्रवेशले पनि मधेशमा फरक परेको छ। साह माओवादी छोडेर एमालेमा लागेका छन्। उनको प्रवेशले एमालेलाई मधेशमा बलियो बनाउन सघाएको उनीहरूको भनाइ छ।

त्यसको प्रभाव रौतहटमै पनि देखिएको छ। २०७४ सालको निर्वाचनमा एमालेले रौतहटमा कुनै पनि सीट जित्न सकेको थिएन। यस पटक तीन वटा स्थानीय तहमा जित हासिल गरेको छ। साहकै गृहनगर गरुडासँगै देवाही गौनाही र मौलापुर नगरपालिकामा जित हासिल गरेको हो।

                    source : himalkhabar.com

प्रतिक्रिया