घन्टी बजिरहन्छ, आशा जागिरहन्छ…

काठमाडौं / तारा एयरको ट्वीनअटर जहाज। कलसाइन ९एन एईटी। यात्रु १९, चालकदलसहित २२ जना सवार। उडेको केही समयमा सम्पर्कविहीन। आइतबार यो विवरणसहितको समाचारले देश ततायो। स्थानीय निर्वाचनको चर्चापछि सरकारले सार्वजनिक गर्ने बजेटका विषयमा बिहानसम्म चोक–चोकमा चर्चा थियो। तर, करिब ११ बजेबाट चर्चा बेपत्ता जहाजको भयो।

अनुभवि क्याप्लेन प्रभाकर घिमिरेले उडाएको जहाज सम्पर्कविहीन हुँदा घिमिरेको परिवारसँगै प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्य पनि झस्किए। पर्यटन मन्त्रालयमा रहँदा विभिन्न जहाज दुर्घटनाको जाँचबुझ समितिमा संलग्न रहँदा क्याप्टेन घिमिरेको योगदान आचार्यले सम्झिए। ‘अनुभवि छन्, पक्कै सम्पर्कमा आउलान्’ आचार्यले आइतबार दिनभर आस गरे। भन्छन्,  ‘राम्रोसँग चिन्छु। पहिलो सँगसँगै काम पनि गरियो। म्यानुअलहरू बनाउने योग्य व्यक्ति हुनुहुन्छ। जहाज दुर्घटना भएको बेला बनाइएका छानबिन समितिलाई विज्ञका रूपमा सहयोग पनि गर्नुभएको छ।’ दुर्घटनाको विश्लेषण गर्ने, तथ्यहरू पत्ता लगाउने क्रममा क्याप्टेन घिमिरेले सहयोग गरेको सचिव आचार्यले बताए।

नागरिक उड्डयन प्राधिकरणको हवाई विभागबाट उनको करिअर सुरु भएको हो। छात्रवृत्तिमा पाइलट कोर्ष पूरा गरे। निकैपछि मात्र उनी तारा एयरमा सेवा गर्न प्रवेश गरेको सचिव आचार्यले बताए। क्याप्टेन घिमिरेले सातामा अधिकांश समय पोखराको उडान गर्थे। सदा झैं आइतबार पनि घिमिरेले जोमसोमका लागि यात्रु लिएर उडान भरे। घिमिरेले क्यानडामा निर्मित ट्वीनअटर जहाज उडाएका थिए। टावरकै फ्रिक्वेन्सीमा कुराकानी गर्दै जहाज उडाएका घिमिरेले १२ हजार ५ सय फिट हाराहारीमा जहाज उचालेका थिए। पोखराबाट म्याग्दीको घोडेपानी माथिसम्मको उडानमा उनी पोखरा टावरको सम्पर्कमा थिए।

नेपाल टेलिकमले मोबाइल ट्रयाकिङअनुसार समुद्री सतहदेखि ५ हजारदेखि ५५ सय मिटरको उचाइको क्षेत्रमा क्याप्टेन घिमिरेको मोबाइलको सिग्नल भेटिएको छ। घोडेपानीदेखि मुस्ताङको लेतेसम्मको आकाशमा उडान गर्दा कुनै पनि टावरसँग सम्पर्क हुन सक्दैन। लेते नाघेपछि मात्र बल्ल जोमसोमको टावरसँग सम्पर्क हुन सक्छ। उनीभन्दा दुई मिनेटअघि उडान भरेको समिट एयर जोमसोममा अवतरण भयो। तर, पछ्याउँदै गइरहेको तारा एयर जोमसोम विमानस्थलमा अवतरण हुन सकेन। नागरिक उड्डयन प्राधिकरण स्रोतले भन्यो, ‘जोमसोम टावरसँग सम्पर्क गरी त्यहाँको मौसमबारे जानकारीसमेत घिमिरेले लिएका थिए।’

नागरिक उड्डयन कार्यालय, जोमसोमका प्रमुख पुष्कलराज शर्माका अनुसार, मुस्ताङ क्रस गरेको तारा एयरको जहाजसँग पहिलो सम्पर्क भए पनि दोस्रो पटक सम्पर्क हुन सकेन। आइतबार घिमिरेको उडान भर्ने पालो थिएन। यती एयरकै अर्का क्याप्टेन बसन्त लामा उडान गर्ने तरखरमा थिए। बिहानको फ्लाइटमा घिमिरेले उडान गर्दा क्याप्टेन लामा यात्रु बनेका थिए। घिमिरे र लामा मिल्ने साथी भएकाले जोमसोममा बिदा मनाउने योजना बनाएका थिए। चालक दलमा एयर होस्टेज क्रिष्मी थापा पनि थिइन्। प्रधानमन्त्री कार्यालयका सचिव आचार्यले सम्पर्कविहीन भएको खबर सुन्नेबित्तिकै मोबाइलमा फोन गरेका थिए। ‘घन्टी गएको आवाज मात्र आउँछ,’ उनले भने, ‘कोरोना संक्रमण सुरु भएदेखि भेट भएको छैन। आवाज सुनिहालिन्छ कि भन्ने आसले फोन गरेँ।’

कुशल पाइलट घिमिरेले उडाएको जहाज नै सम्पर्कविहीन भएपछि सहकर्मी स्तब्ध छन्। ‘उहाँ अत्यन्त राम्रो प्रशिक्षक पाइलट हो। हामीलाई सिकाउनु हुन्थ्यो। मेरो गुरु पनि हुनुहुन्छ। ३५ वर्ष जहाज उडाउनुभयो। अहिलेसम्म करिब २० हजार घन्टा आकासमै बिताउनुभयो जस्ता लाग्छ,’ यती एयरलाइन्सका एक पाइलट भन्छन्।

सम्पर्कविहीन जहाजलाई दिनभर दिनभरि नेपाली सेनाको हेलिकप्ण्टरले खोज्ने प्रयास गर्‍यो। तर, भेटेन। सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझपख मौसम खराबी र अँध्यारो पनि बढिसकेका कारण उद्धार तथा खोजी कार्य स्थगित गरिएकोे छ। ‘सोमबार सबेरैदेखि हवाई र स्थल दुवैमार्गबाट खोज तथा उद्धारको काम सुरु हुनेछ’, उनले भनेका छन्, ‘हाम्रो हेलिकप्टर जोमसोममै तयारी अवस्थामा राखिएको छ।’

धौलागिरि र मानापाथी हिमालको बीचमा जहाजको आवाज आफूले प्रत्यक्ष सुनेको बताउँछन् जनआदर्श अमरसिंह माविका शिक्षक गिरिसिंह शेरचन। उनले यार्सा टिप्ने र चौरी गोठालासँग फोन सम्पर्क गर्दा जहाज धौलागिरि र मानापाथी हिमालको फेदमा पर्ने लाङ्की खोलाको शिरमा हुनसक्ने अनुमान गरे। त्यस क्षेत्रमा बाक्लो  हुस्सु र कुहिरो लागेकाले जहाज खोजतलास गर्न बाधा पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीयो) नेत्रप्रसाद शर्माले जानकारी दिए। मुस्ताङको आकाशमा सम्पर्कविहीन आशंका गरिएको स्थानमा जहाज खोज्न हवाई मार्गबाट सम्भव नभए पनि स्थालगत रूपमा स्थानीय र सुरक्षाकर्मीबाट पैदल गएको प्रजिअ शर्माले जानकारी दिए।

जहाज खोज्न दुईवटा माउन्टेन हेली नाउरिकोट र १ माउन्टेन हेली जोमसोममा तैयारी अवस्थामा राखिएको छ। स्थानीय प्रशासनका अनुसार सोमबार बिहान ५ बजेदेखि नै जहाजले खोज तलास गर्नेछ।

जहाजमा छन एकै परिवारका ४ जना 

गोरखाको सहिदलखन गाउँपालिका–५ का गणेशनारायण श्रेष्ठसहित उनका चार परिवार सदस्य बेपत्ता जहाजमा सवार रहेको स्थानीय बताउँछन्। श्रेष्ठ परिवारको नाममा टिकट काटिनु, सो जहाज चढ्नुअघि अमेरिकामा रहेका छोरा रोशनसँग सम्पर्क हुनु, त्यसपछि परिवारका सबैको मोबाइल स्वीचअफ हुनुले गाउँलेको होस उडेको छ। सञ्चार माध्यममार्फत विमान बेपत्ताको खबर सुनेपछि तीनमानेभञ्ज्याङका बासिन्दाले आइतबार घर र पसल बन्द गरे। आकस्मिक जमघट तथा विभिन्न स्तरको छलफल गरेर दिन बिताएको स्थानीय राजेश श्रेष्ठ बताउँछन्।

खबर सुन्नासाथ गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेका छन्। टोलीले घटनाका बारेमा जानकारी लिएको श्रेष्ठले बताए।

२० वर्षकी रविना र २३ वर्षकी रोजिना श्रेष्ठ दुवैजना अध्ययनको सिलसिलामा अमेरिकामा थिए। रोजिना स्नातकोत्तर र पीएचडी अध्ययनका लागि पाँच वर्षअघि अमेरिका पुगेकी थिइन्। रविना नेपालमा ए–लेभलको अध्ययन सकेर थप अध्ययनका लागि एक वर्षअघि अमेरिका गएकी थिइन्।  रविना र रोजिना गत वैशाख ३० गते निर्वाचनको दिनमा काठमाडौं आइपुगेका थिए। छोरा रोशन भने अमेरिकामै थिए। छोरीहरू अमेरिकाबाट आएपछि श्रेष्ठ परिवार भ्रमण गर्न केही दिनअघि पोखरा गएका थिए। आइतबार पोखराबाट जोमसोम उडेको स्थानीय राजेश श्रेष्ठ बताउँछन्।

चिन्तामा डुब्यो धनुषाको लोटा गाउँ

तारा एयरको विमान सम्पर्कविहीन भएको खबरले धनुषाको मिथिला नगरपालिका ११ लोटा गाउँका बासिन्दा चिन्तामा डुबेका छन्। यस गाउँका एकै परिवारका ७ जना सोही विमानमा सवार थिए। उनीहरूको अवस्था हालसम्म अज्ञात रहेका कारण सिंगो गाउँ नै चिन्तामा डुबेको हो।

स्थानीय मकरबहादुर तामाङसहित श्रीमती, दिदी–भिनाजु, बहिनी–ज्वाइँ तथा भान्जा मुक्तिनाथ दर्शनका लागि यात्रामा गएका थिए। मकरबहादुरसँगै इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, राममाया तामाङ, सुकुमाया तामाङ र तुलसादेवी तामाङको भौतिक अवस्थाबारे जानकारी नआएकाले परिवारमा आइतबार रुवाबासी चल्यो। गाउँलेहरू घटनाको विवरण तथा आधिकारिक पुष्टि पर्खिरहेका छन्। यसैबीच तारा एयरले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै खोजीकार्य जारी रहेको बताएको छ।

  • जहाजमा सवार चालक दलका सदस्य
  • क्याप्टेन प्रभाकर घिमिरे
  • को–पाइलट उत्सव पोखरेल
  • एयर होस्टेज क्रिष्टी थापा
  • जहाजमा सवार यात्रु बान्देकर वैसवी
  • इन्द्रबहादुर गोले
  • पुरुषोत्ताम गोले
  • राजनकुमार गोले
  • मेइक ग्रिटग्राफ
  • बसन्त लामा
  • गणेश नारायण श्रेष्ठ
  • रविना श्रेष्ठ
  • रश्मी श्रेष्ठ
  • रोजिना श्रेष्ठ
  • प्रकाश सुनुवार
  • मकरबहादुर तामाङ
  • राममाया तामाङ
  • सुकुमाया तामाङ
  • तुलसादेवी तामाङ
  • अशोककुमार त्रिपाठी
  • धनुश त्रिपाठी
  • ऋतिका त्रिपाठी
  • वी विलनर

    रिपोर्ट : दिनेश गौतम/काठमाडौं/ अजवी पौड्याल/काठमाडौं/ सुन्दरकुमार थकाली/जोमसोम / शिव उप्रेती/ गोरखा/ मनिका झा/ जनकपुरधाम

प्रतिक्रिया

सम्बन्धित समाचार