Saturday 5th of October 2024

एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

0 Shares

काठमाडौँ — नेकपा (एमाले)का सांसद तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै गिजोल्नु गिजोलेर भए पनि एमसीसी पारित गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।

 

ज्ञवालीले ठूला योजनाहरूलाई राजनीतिक ध्येय साँध्नका लागि नगिजोल्न पनि सरकार र सत्तारुढ दलका नेताहरूलाई सुझाव दिएका छन् । उनले विद्युत् परियोजनाहरूलाई नगिजोल्न सुझाव दिएका हुन् । ’विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ तर तपाईंहरूका क्रियाकलापले विदेशी लगानीकर्तालाई लगातार हतोत्साहित गरिरहेको छ । हिजो गिजोल्नसम्म गिजोलियो एमसीसी, पछि के देख्नुभयो तपाईंहरुले, सत्ता जान्छ भन्ने ठान्नुभयो के ठान्नुभयो, कुरा त जहाँको त्यहीँ छ तर एमसीसी पास गर्नुभयो, धन्यवाद भन्छु मैले,’ उनले भने ।

 

एमसीसी फागुन १५ गते प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएको थियो । त्यतिबेला एमालेले प्रतिनिधिसभा अवरोध गरिरहेको थियो । एमालेले त्यतिबेला एउटा पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर एमसीसी पारित गरेको कुरामा समर्थन गरेको बताएको थियो । एमालेका उपमहासचिवसमेत रहेका ज्ञवालीले संसद्को रोष्ट्रमबाट नै सरकारलाई एमसीसी पारित गरेकोमा धन्यवाद दिएका हुन् ।

 

ज्ञवालीले एमसीसीजस्तै बुढीगण्डकी आयोजना नगिजोल्न पनि सुझाव दिए । उनले भने, ’तर, आज त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यो गिजोल्ने कुरामा किन आनन्द आउँछ ? हामीले त सरकार परिवर्तन होस् तर नीति स्थिर रहनुपर्ने होइन र ? राजनीतिक स्थायित्वको महत्वपूणर् आधार भनेको नीतिको स्थिरता र निरन्तरता हो । नयाँ सरकार आउँदा यी कुराहरूमा परिवर्तन हुँदैन भन्ने अनुमान गर्न सकिने हुनुपर्छ । लगानीकर्ताले नयाँ सरकार आएपछि पनि यी कुरा परवर्तन हुँदैन भनेर ३० वर्षको योजनासहित लगानी गर्न आउने हो ।’

 

चीनलाई दिने भनेर निणर्य भएको बुढीगण्डकी जलविद्युत् परियोजना सरकार आफैले बनाउने योजना ल्याएको छ । कहिले चीनलाई दिने कहिले आफै बनाउने भन्ने कुराले सरकारमा अस्थिरता देखिएको ज्ञवालीको भनाइ थियो । ’हिजो के देखेर चीनलाई दिने भन्यौं ? आज के देखेनौं, के पाएनौं फेरि नदिने भन्यौं । यस्तो खालको अस्थिरता ?,’ उनले भने, ’हिजो आफू सरकारमा रहँदा एमसीसीमा हस्ताक्षर गर्‍यौं । त्यसपछि तीन वर्ष त्यसविरुद्ध आगो बाल्यौं । यसले नीतिको स्थिरता भएन । यसले लगानीकर्ता बाह्य जगतलाई विश्वासको सन्देश दिँदैन । विश्वास भएन भने लगानी हुँदैन।’

 

नेपालमा लगानी गर्न आउनेहरू नाफा कमाउन नै आउने भएकाले वैदेशिक लगानीको नीतिमा अस्थिर बनेर लगानीको वातावरण विथोल्न नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया