Tuesday 14th of January 2025

विश्व सम्पदा क्षेत्रमा छैनन् सार्वजनिक शौचालय

0 Shares

वसन्तपुर, स्वयम्भू, पशुपति र चाँगुनारायण क्षेत्रमा शौचालयको समस्या पर्यटक तथा स्थानीयको गुनासोबारे सरोकारवाला निकायको बेवास्ता

काठमाडौँ — झट्ट सुन्दा पत्याउन गाह्रो पर्छ, विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय छैन । बर्सेनि लाखौं पर्यटक घुम्न आउने सम्पदा क्षेत्रमा सार्वजनिक शौचालय नभएको विषयमा भने सरोकारवाला निकायहरू बेखबर देखिन्छन् । न त उनीहरूलाई यसबाट पर्यटकीय गन्तव्यका रूपमा परिचय बनाएको नेपालको छवि धुमिल हुन्छ भन्ने नै चिन्ता छ ।

 

वसन्तपुर दरबार क्षेत्रको एक निजी घरले भर्‍याङमुनि सञ्चालन गरेको शौचालय र वसन्तपुरकै नवआदर्श स्कुलमा ताला लगाइएका शौचालय । तस्बिर ः कान्तिपुर

 

वसन्तपुरस्थित दरबार क्षेत्रको नवआदर्श स्कुलको भुइँतलाको दुई कोठा भाडामा लिएर महानगरले शौचालय सञ्चालन गरेको छ । तर त्यसमा ताला लागिरहेको हुन्छ । शौचालय नहुँदा वसन्तपुर घुम्न आउने पर्यटकलाई समस्या हुने गरेको छ । भवनको भित्रतिर भएकाले यो ठाउँ पर्यटकले सजिलै देख्दैनन् ।

 

वसन्तपुर दरबार क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकसँग काठमाडौं महानगरपालिकाले जनही एक हजार रुपैयाँ शुल्क लिन्छ । ‘शुल्क लिए पनि शौचालयको सुविधासमेत दिएको छैन,’ सफाइ अभियानकर्मी प्रकाश अमात्यले भने, ‘यत्रो सम्पदामा क्षेत्रमा एउटा सार्वजनिक शौचालय नहुनु दुःखको कुरा हो ।’ अमात्यका अनुसार वसन्तपुरमा प्रत्येक दुई सय मिटरको फरकमा शौचालय चाहिन्छ । ‘अहिलेलाई ५ वटा भयो भने राहतको आधार तयार हुन्छ,’ अमात्यले भने ।

 

प्रहरी परिसरको पुरानो भवन क्षेत्र, जुद्ध बारुण यन्त्र, पुरानो भन्सार, नवआदर्श स्कुल र दरबार हेरचाह अड्डा गरी पाँचवटा ठाउँमा शौचालय बनाउन सकिने अमात्यले बताए । यी ठाउँबाहेक अरु ठाउँमा महानगरले शौचालय बनाउन सक्ने अभियानकर्मी अमात्यले बताए । ‘ठाउँ नै नभए पनि व्यवस्थित भने गर्न सकिन्छ,’ अमात्यले भने, ‘महानगरकै स्वामित्वको शुद्ध बारुण यन्त्र भएको ठाउँमा दुई कोठा लिएर सञ्चालन गर्न सकिन्छ ।’

 

वसन्तपुरमा शौचालय बनाउन ठाउँको अभाव भएको काठमाडौं महानगरपालिका मातहतको हनुमानढोका क्षेत्र हेरचाह आयोजनका प्रमुख रोशन शाक्यले बताए । वसन्तपुरमा शौचालय बनाउन बजेटसमेत विनियोजन गरे पनि ठाउँ नभेटिएको शाक्यले बताए । ‘गुरुयोजनासमेत बनेको थियो,’ शाक्यले भने, ‘तर ठाउँ नपाएकाले काम अघि बढ्न सकेन ।’ महानगरले २०७२ सालको भुइँचालोले क्षतिग्रस्त बनाएको हनुमानढोकास्थित तत्कालीन जिल्ला प्रहरी कार्यालयको छेउमा शौचालय बनाउन खोजेको थियो ।

 

भुवनेश्वरी मन्दिरको पश्चिमतिरको यो भागमा नील बाराहीको मौला भएकाले पुजारीले शौचालय बनाउन दिएनन् । ‘त्यही ठाउँमा नील बाराहीको मौला भएकाले बनाउन दिएनौं,’ मन्दिरका पुजारी तेज फुँयालले भने, ‘मन्दिरमा चर्पी बनाउन कसले दिन्छ त ?’ प्रहरी कार्यालयले प्रयोग गरेको पुरानो शौचालय पनि प्रयोग गर्न खोजेको थियो महानगरले । त्यो क्षेत्र पनि प्रहरीको नाममा भएकाले प्रयोग गर्न नदिएको शाक्यले बताए । ‘टेन्डर पनि हालिसकेका थियौं,’ शाक्यले भने, ‘तर प्रहरीले नमानेकाले काम अघि बढेन ।’

 

प्रहरी कार्यालय टेकु सरेपछि यो शौचालय प्रयोगविहीन छ । त्यसैलाई सुधार गरेर राम्रो बनाउने योजना महानगरले बनाएको थियो । ‘जताततै मन्दिरै मन्दिर छ कहाँ बनाउनु ?’ शाक्यले भने, ‘स्मार्ट ट्वाइलेट बनाउने योजना अघि बढेको थियो । त्यो पनि सफल भएन ।’ वास्तुकलाविद् ज्ञानेन्द्र देवकोटा भने ठाउँ पाइएन भनेर महानगर उम्किन नपाउने बताए । ‘कहीं जग्गा पाइएन भने कुनै घर अधिकरण गरेर भए पनि शौचालय बनाउनुपर्छ,’ देवकोटाले भने, ‘अधिकरणसमेत गरेर जग्गा खाली गर्न सक्ने अधिकार सरकारसँग हुन्छ । त्यो अधिकार स्थानीय सरकारसँग पनि छ ।’

 

वसन्तपुरको मात्र नभई विश्व सम्पदाका सबै क्षेत्रमा शौचलय मुख्य समस्याका रूपमा छन् । विश्व सम्पदामा सूचीकृत अर्को क्षेत्र स्वयम्भूमा पनि एउटै सार्वजनिक शौचालय छैन । चैत्यभन्दा तलको बसपार्कमा र बुद्धपार्कमा गरी तीनवटा सार्वजनिक शौचालय छन् । ‘यी कुनै पनि पर्याप्त छैनन्,’ अमात्यले भने, ‘चैत्यमा दर्शन गर्न आउने वृद्ध, अशक्तलाई समस्या पर्ने गरेको छ ।’ स्वयम्भू स्तूपमा दुईवटा, टिकटघर, भुइँखेल, आनन्दकुटी विहारलगायतका ठाउँ सार्वजनिक शौचलय बनाउन सकिने स्थान रहेको अमात्यले बताए ।

 

धार्मिक स्थलहरूमा पनि व्यवस्थित शौचालय छैनन् । पशुपति क्षेत्रको अवस्था पनि त्यस्तै छ । वाग्मती पुलबाट श्लेश्मान्तक वनतिर जाने उकालो र आर्यघाटमा पक्की सार्वजनिक शौचालय छन् । त्यसबाहेक कोषले एभरेस्ट बैंकसँग मिलेर ठाउँ-ठाउँमा अस्थायी शौचालय पनि राखेको छ । तर, ती व्यवस्थित भने छैनन् । ‘अस्थायी शौचालय राखिए पनि सरसफाइ छैन,’ पशुपतिका छत्रानन्द वैद्यले भने ।

 

विश्व सम्पदा सूचीमा रहेको चागुँनारायणमा चारवटा शौचालय पर्यटकलाई लक्षित गरेर बनाइएका छन् । मन्दिर क्षेत्रमा एउटा, बस्तीको बीचमा दुईवटा र बसपार्क छेउमा एउटा छ । सञ्चालनमा रहेका तीनमध्ये पनि पर्यटकले दुईवटा मात्र प्रयोग गर्न पाउँछन् । पर्यटकले प्रयोग गर्ने शौचालय अत्यन्त फोहोर छ । अर्को सशस्त्र प्रहरीको नियन्त्रणमा छ । ‘पहिला नियमति सफाइ हुन्थ्यो,’ स्थानीयवासी प्रजेन भँडेल भन्छन्, ‘अहिले सफाइ नै हुँदैन । एकपटक सफाइ हुन्छ, मान्छे आउने ठाउँमा त दिनभर सफाइ हुनुपर्‍यो भनेर माग राखिराखेका छौं नगरपालिकामा । तर सुनुवाइ भएको छैन ।’

 

बौद्धनाथ क्षेत्रमा पनि एउटै छैनन् । यहाँ दुईवटा भए पुग्ने अमात्यले जानकारी दिए । भक्तपुर विश्व सम्पदा क्षेत्रमा १५ वटा शौचालय छन् तर कुनै पनि व्यवस्थित रूपमा चलेका छैनन् । ‘यहाँ कर्मचारी सरकारी काम कहिले जाला घाम जसरी चलाएका छन्,’ अमात्यले भने ।

 

ललितपुर संग्रहालयभित्र शौचालय छ नियमित सफाइ नहुँदा फोहोर छ । संग्रहालयको बाहिर एउटा सार्वजनिक शौचालय छ । दुईतले यो शौचालयल अमात्यकै अगुवाइमा केही व्यवस्थित भने बनाइएको छ । ‘पुरानाको संरचना परिवर्तन गरेर महिलामैत्री, अपांग मैत्रीसमेत बनाइएको छ,’ अमात्यले भने ।

प्रतिक्रिया