नेकपा प्रचण्ड-माधव समूहका ७ कार्यकर्ता सप्तरी प्रहरीको नियन्त्रणमा

सप्तरी : प्रचण्ड–माधव समूहका सात जना कार्यकर्ताहरुलाई बिहिबार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकपा ओली समूहले सप्तरीमा गर्न लागेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रम हुँदैछ ।

सो कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले बिहीबार बिहान प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडाअध्यक्षसमेत रहेका प्रेम यादव लगायतलाई पक्राउ गरेको हो ।

सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रचण्ड–माधव समूहका नेता उमेश यादवले संसद विघटनको असंवैधानिक कदम विरुद्ध नारा लगाएकै कारण पक्राउ गर्नु तानाशाही प्रवृत्ति भएको बताए । पक्राउ गरिएकाहरुलाई तत्काल रिहा गर्न उनले माग पनि गरेका छन् ।

प्रतिक्रिया