
नयाँदल्लिी — भारत सरकार नेपाललाई यथाशीघ्र रासायनिक मल उपलब्ध गराउन सहमत भएको छ । प्रक्रियालाई छोट्याउन भारतले आफ्ना मल उद्योगका भण्डारबाटै नेपाललाई मल बिक्री गर्न तयार भएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव सोमबार नयाादिल्लीमा भारतीय समकक्षी मनसुख माण्डविया (दायाँ) सँग भेटवार्ता गर्दै । तस्बिर ः नेपाली राजदूतावास
नयाँदिल्लीमा रहेका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सोमबार भारतका रसायन एवं मलमन्त्री मनसुख माण्डवियासँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री यादवले नेपालमा मनसुन भित्रिसकेको र किसानलाई मल अत्यावश्यक भइसकेकाले तत्काल आपूर्तिको वातावरण बनाइदिन भारतीय समकक्षीसँग आग्रह गरेका छन् । नेपालले भारत सरकारसँग बर्सेनि १ लाख ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्ने सम्झौता गरेको छ । गत फेब्रुअरी २२ मा कृषि सचिव र भारतका रसायन एवं मल मन्त्रालयका सचिवले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
नेपालमा बर्सेनि ५ लाखदेखि ७ लाख टन मलको माग हुने गर्छ । तर, मलको आन्तरिक उत्पादन नभएका कारण बर्सेनि खेती लगाउने सिजनमै अभाव हुने गर्छ । ग्लोबल टेन्डरबाट मल खरिद गर्दा लाग्ने समय र टेन्डर प्रक्रियासमेत विवादमा पर्न थालेपछि कृषि मन्त्रालयले गत वर्षदेखि नै सिधा भारत सरकारबाट मल खरिदको प्रयत्न गर्दै आएको थियो । भारत आफैं मलमा आत्मनिर्भर भइसकेको छैन । तर, उसले बाहिरबाट खरिद गर्ने मूल्यमै नेपाललाई मल उपलब्ध गराउने सहमति जनाएको थियो । नेपालमा हुने कुल खपतको कम्तीमा ३० प्रतिशत हिस्सा भारत सरकारबाट आपूर्ति गर्ने लक्ष्य कृषि मन्त्रालयले राखेको छ ।
भारतसँग सम्झौता भए पनि अझैसम्म नेपाललाई मल आपूर्ति भइसकेको छैन । भारत सरकारले टेन्डरमार्फत खरिद गरेर नेपाललाई मल पठाउने प्रक्रियामा थियो । त्यसो गर्दा समय धेरै लाग्ने भएकाले भारतसँग भएकै मौज्दातबाट सिधा आपूर्तिका लागि नेपाल पक्षले आग्रह गरेको हो ।
नेपालमा छिटो मल आपूर्ति गर्न आफ्नो मौज्दातबाटै मल पठाउन भारतीय पक्ष सहमत भएको दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले कान्तिपुरलाई बताए । ‘हाम्रो आग्रहलाई यहाँका मन्त्रीले स्वीकार गर्दै आफ्नो मातहतलाई त्यसैअनुसारको निर्देशन दिनुभएको छ,’ उनले भने, ‘मल आपूर्तिका सन्दर्भमा सकारात्मक कुराकानी र पहलकदमी भएको छ ।’ नेपाल पक्षले जुनमा १ लाख र जुलाईमा ५० लाख गरी असार मसान्तभित्र सम्झौताअनुसारको डेढ लाख मेट्रिक टन युरिया मल आपूर्तिका लागि आग्रह गरेको छ । भारतले उद्योगको गोदामबाटै मल लैजान नेपाललाई अनुमति दिने सम्भावना छ । तर, त्यसलाई ढुवानी गरेर समयमै नेपाली किसानसमक्ष पुर्याउने जिम्मेवारी भने नेपालकै हुनेछ ।
भारतीय मलमन्त्रीले आगामी २ वर्षपछि मलको उत्पादन चाहिनेभन्दा बढी हुने बताउँदै नेपालको आवश्यकताअनुसार मल आपूर्ति गर्न भारत तयार रहेको बताएका छन् । उनले हालै भारतले युरिया मल उत्पादनका लागि ल्याएको ‘नानो टेक्नोलोजी’ पनि लाभदायक रहेकाले त्यसको हस्तान्तरण गर्न पनि सकारात्मक प्रतिबद्धता जनाएका छन् ।