काठमाडौँ — अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पुरानो सेनाहरुमध्ये एक रहेको उल्लेख गरेका छन् ।
आफ्नो चारदिने नेपालको औपचारिक भ्रमणको अन्तिम दिन आइतबार नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा तालिमरत शिक्षार्थी अधिकृतहरु र प्रशिक्षकहरुसँग अन्तरक्रिया गर्दै फ्लिनले यस्तो बताएका हुन् ।
उनले शनिबार नेपालका सुरक्षा मामिला जानकारहरु र पूर्व जर्नेलहरुसँगको अन्तरक्रियामा पनि नेपाली सेनाको प्रसंशा गर्दै नेपाल ल्यान्डपावर भएको बताएका थिए । प्रमुख फ्लिनले कलेज परिसरमा वृक्षारोपण पनि गरेको नेपाली सेनाले जनाएको छ ।
उनी आइतबार बिहान पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण पनि गरेका थिए । पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमणका दौरान उनले त्यहाँको वस्तुस्थिति लगायत विविध पक्षको बारेमा जानकारी दिएका थिए । उक्त भ्रमणदलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकन समेत गरिएको थियो ।
अन्तरक्रियाको क्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र उक्त भ्रमणदलका सदस्यहरुबीच अमेरिकाबाट शान्ति स्थापना कार्यको लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजाने लगायत विविध विषयमा छलफल भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
बिहीबार नेपाल आएका प्रमुख फ्लिनले शुक्रबार उच्चस्तरीय भेटवार्ता गरेका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए ।
प्रधासेनापति शर्मा नेपालको शान्ति स्थापनार्थ भइरहेको कामलाई अवलोकन गर्दै असार १३ मा अमेरिकाको ५ दिने भ्रमणको लागि जाने छन् । नेपाल-अमेरिका कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य पनि भइरहेको छ ।