८ हजार उचाइका १४ हिमाल दोहोर्‍याउने सानु शेर्पा पहिलो नेपाली

काठमाडौँ — नेपाली आरोही सानु शेर्पाले नेपाल, पाकिस्तान र चीनमा पर्ने ८ हजार मिटर अग्ला १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गर्ने विश्वको एकमात्र आरोहीको रेकर्ड बनाएका छन् ।

 

पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा पर्ने ८ हजार ३५ मिटर उचाइको गाशरब्रुम-दुई (जी-टू) हिमाल स्थानीय समयअनुसार बिहीबार बिहान ८ः१७ मा आरोहण गरेसँगै उनी विश्वका १४ वटा ८ हजार मिटर अग्ला १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गर्ने एकमात्र आरोही बनेका हुन् ।

 

काठमाडौंमा रहेको पायोनियर एडभेन्चर्स प्रालिमा आरोहण दलको नेताका रुपमा कार्यरत संखुवासभाको मकालुका ४७ वर्षीय शेर्पा एक महिनाअघि एक जापानी आरोहीलाई गाशरब्रुम-दुई हिमाल आरोहण गराउन काठमाडौंबाट पाकिस्तान गएको पायोनियरका कार्यकारी निर्देशक निभेष कार्कीले बताए । उनका अनुसार यस सिजनका लागि बाटो बनाउँदै सानु बिहीबार उक्त हिमालको चुचुरोमा पुगेका थिए ।

 

कार्कीले बिहीबारको आरोहण सकिएसँगै सानु शेर्पा नेपालका ८, पाकिस्तानका ५ र चीनको एउटा गरी १४ वटा हिमाल दोस्रोपटक आरोहण गर्न सफल विश्वकै एकमात्र आरोही भएको कान्तिपुरलाई बताए । १८ वर्षदेखि हिमाल आरोहणमा आबद्ध शेर्पाले ८ हजारभन्दा अग्ला यी सबै हिमाल ३२ पटक आरोहण गरिसकेका छन् । जसमा सगरमाथामात्रै ६ पटक आरोहण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार