Tuesday 11th of February 2025

यसवर्ष पनि सल्हेश फूलबारी मेला नलाग्ने

0 Shares

जनकपुरधाम – प्रदेश नम्बर २ सिरहाको ऐतिहासिक सल्हेश फूलबारी मेला यसवर्ष पनि नलाग्ने भएको छ ।

सिरहाको पतारीमा लाग्दै आएको ऐतिहासिक सल्हेश फूलबारी मेला गत वर्ष पनि कोरोनाका कारण प्रशासनले रोक लगाएको थियो । यसपालि पनि कोरोनाको दोस्रो लहर चलेपछि प्रशासनले मेला नलगाउन आग्रह गरेको छ ।

छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमण तीव्र रुपमा बढ्दै गएकाले यता पनि जोखिम बढ्न सक्ने भन्दै मेला आयोजन नगर्न स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । सिराहामा प्रत्येक वर्ष नयाँ सालको अवसरमा सिराहा, लहान, भगवानपुर, लक्ष्मीपुरलगायतका पालिकाका विभिन्न स्थानमा फूलवारी मेला, सल्हेश मेला, मानिकदह पकरिया मेलालगायत बढी भीडभाड हुने मेला, जग, धार्मिक एवं प्रवचन कार्यक्रम, मौतका कुवा, सांस्कृतिक कार्यक्रम, मेला जस्ता बढी भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउनसमेत आग्रह गरिएको छ ।

१ वैशाखमा लाग्ने सल्हेश फूलबारी मेलामा छिमेकी मुलुकबाट समेत श्रद्धालु आउने गर्छन् । कोभिड-१९ को जोखिम कायमै रहेकाले मेला, धार्मिक कार्यक्रम, उत्सव जस्ता बढी भीडभाड हुने स्थानमा नजान पनि जिल्ला प्रशासनको आग्रह छ ।

‘कोभिड–१९ को जोखिम फेरि बढेको छ,’ सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भने, ‘यस्तो अवस्थामा भीडभाड हुने कार्य कसैले गर्नहुन्न ।’ यसपालि पनि मेलाकै समयमा कोरोनाको जोखिम पुनः बढेकाले मेला नलाग्ने सल्हेश सर्किटकी अध्यक्ष रामरति रामले बताइन् ।

पुजारीले सामान्य पूजापाठ भने गर्ने तर भीडभाड हुने कार्य नहुने उनले जानकारी दिइन् । १४औं शताब्दीका राजा सल्हेशको सम्झनामा सल्हेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झना स्वरुप १ वैशाखमा परम्परागत मेला आयोजना हुन्छ ।

लहान बजारदेखि चार किलोमिटर पश्चिम-दक्षिणमा ९ बिघा क्षेत्रफलमा फैलिएको सल्हेश फूलबारीको मध्यभागमा हारमको रुखमा हरेक वर्षको अन्तिम दिन माला आकारमा फूल फुल्छ ।

मेलाको भोलिपल्ट दिन ढल्दै जाँदा विस्तारै फूल पनि ओइलिएर जान्छ । यही अनौठो फूल हेर्न पनि यहाँ टाढा-टाढाबाट श्रद्धालु आउँछन् ।

प्रतिक्रिया