स्कटल्यान्डसँगको दुई खेलको टी-२० क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

काठमाण्डौ – स्कटल्यान्डसँगको दुई खेलको टी-२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ । गएराति भएको दोस्रो तथा अन्तिम खेलमा स्कटल्यान्डलाई १ सय २ रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला २-० ले जितेको हो ।

 

न्युजिल्यान्डले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि क्रिस ग्रिभ्सले सर्वाधिक ३७ रन बनाए ।

 

न्युजिल्यान्डका जेम्स निशम र मिचेल रिपोनले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । उसका मार्क चाम्पमानले ८३ रनको अर्धशतकीय पारी खेले । मिचेल ब्रेसवेल ६१ रनमा अविजित रहे ।

 

स्कटल्यान्डका गाभिन मेनले २ विकेट लिए । न्युजिल्यान्डको यो टी-२० इतिहासकै सर्वाधिक उच्च योगफल समेत हो । पहिलो खेलमा न्युजिल्यान्ड ६८ रनले विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार