मुमताज : असाध्यै विपन्न परिवारमा जन्मिइन् तर भइन् हिन्दी सिनेमाकी ‘रानी

एजेन्सी

काठमाडौं / ‘हुन त म ७५ वर्षको भएँ तर मलाई म १८ वर्षको मात्रै भएँ जस्तो लाग्छ । १८ वर्षमा पुगेकाहरुले जस्तो व्यवहार गर्छन् त्यस्तै गर्छु । यही सोच लिएर म दिनहुँ व्यायाम गर्छु । म आफ्नो खानपानमा धेरै सचेत छु । साँच्चै भन्नुपर्दा, म खुसी छु । साँच्चै भन्नुपर्दा मेरो उमेर यति धेरै भइसक्यो भनेर म कहिल्यै पनि सोच्दिनँ ।

यो भनाई हो आफ्नो समयकी निकै चर्चित, चञ्चल र सुन्दर अभिनेत्री मुमताजको, जसले आफ्नो अभिनय र अन्दाजले मानिसहरूलाई यति ‘दीवाना’ बनाएकी थिइन् कि सिंगो फिल्म उद्योग चकित परेको थियो ।

‘दो रास्ते’, ‘सच्चा झूठा, ‘खिलौना’, ‘अपना देश’, ‘तेरे मेरे सपने’, ‘आपकी कसम’, ‘लोफर’, ‘झील के उस पार’, ‘चोर मचाये शोर’ र ‘रोटी’ जस्ता थुप्रै सुपरहिट फिल्मकी असाध्यै रुचाइएकी नायिका मुमताज आइतबार (३१ जुलाई) मा ७५ वर्षको पुगेकी छिन् ।

मुमताज आफ्नो यो विशेष जन्मदिन अफ्रिकाको युगान्डामा मनाइरहेकी छिन् जहाँ राजधानी कम्पाला नजिकै ककिरामा मुमताजको ८० हजार एकडमा फैलिएको आफ्नो विशाल माधवानी नगर छ ।

मुमताज वर्षभरि विभिन्न देशमा घुम्छिन् । हुन त उनीसँग मेरो पहिला पनि कहिले मुम्बई, कहिले लन्डन र कहिले दुबईमा कुरा भइरहन्छ तर यसपटक उनीसँग यो ७५ औँ जन्मदिनमा मैले उनीसँग युगान्डामा विशेष कुराकानी गरेँ ।

कुराकानीको क्रममा उनको उत्साह, उमंग र खुशी प्रस्टै देखिन्थ्यो, जसका लागि मुमताज चर्चित छिन् । केही समयअघि पेटमा संक्रमणका कारण उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा एक हप्तासम्म भर्ना गरिएको थियो ।

फिल्म नगरी

यी शानदार अनिनेत्रीको कौशललाई २५ वर्ष अघि नै देखेका थिए । जब उनी क्यान्सरलाई मात दिएर आफ्नो सुखी जीवनमा फर्किएकी थिइन् ।

मुमताज छिट्टै कसैसँग घुलमिल हुँदिनन् । उनी आत्मसम्मानका साथ आफ्नै छुट्टै संसारमा बस्न रुचाउँछिन् । आफ्नो फिल्मी यात्रामा मुम्बईमा रहँदा मुमताजले एकसे एक नायक, एकसे एक चलचित्र निर्मातासँग काम गरिन् ।  तर आज फिल्म नगरीमा उनका केहि विशेष साथीहरु मात्र छन् ।

सायद त्यही भएर मुमताजले आफ्नो विशेष जन्मदिन मुम्बईबाट ५ हजार किलोमिटर टाढा युगान्डामा मनाउने निर्णय गरिन् । फिल्मी व्यक्तित्वबाट टाढा, परिवारसँग मात्रै ।

जब हामीले मुमताजलाई यो विशेष जन्मदिनको विशेष तयारी के छ भनेर सोध्यौँ, उनले भनिन्, ‘यो सबै मेरा श्रीमान् र बच्चाहरुलाई थाहा छ । यहाँ मेरा परिवारका सबैजना, मेरा दुबै छोरीहरु, उनीहरुका बालबच्चा र मेरी बहिनीसहित हाम्रा केही निकै नजिकका आफन्त र साथीहरु युगान्डा पुगेका छन् ।’

तपाईंका जेठो ज्वाईं फरदिन पनि यो अवसरमा युगान्डामा आइरहेका छन् ?

मुमताज भन्छिन्, ‘अहँ, फरदिन त सञ्जय लिला भंसालीको फिल्मको सुटिङमा व्यस्त भएका कारण आउन पाउने छैनन् तर परिवारका बाँकी सदस्य आइसकेका छन् ।’

‘फिल्ममा फर्किने पक्का छैन’

यहाँ भन्सालीको यसै फिल्मबाट तपाई पनि वर्षौंपछि फिल्ममा कमब्याक गर्न लाग्नुभएको छ भन्ने चर्चा छ, तपाईको सुटिङ कहिले छ ?

यो प्रश्नमा उनले भनिन्, ‘होइन, होइन, म अहिले नै यो फिल्म गर्छु, यो गर्दिनँ भन्ने पक्का छैन । मेरो भंसालीसँग पक्कै भेट भएको छ । उनी एक उत्कृष्ट फिल्म निर्माता हुनुका साथै असल मानिस पनि हुन् ।’

‘उनले आफ्ना फिल्महरूमा महिलाहरूलाई निकै सुन्दर तरिकाले चित्रण गर्छन् । यदि मैले पुनरागमन गरेँ भने म उनीजस्तै कुनै फिल्म निर्मातासँग गर्नेछु, तर म यो फिल्मको बारेमा अहिले नै शतप्रतिशत ढुक्क भने छैन ।’

अब मुम्बई कहिले फर्कनु हुन्छ भने भन्ने प्रश्नमा उनले भनिन्, ‘छिट्टै मुम्बई फर्कने कुनै मनसाय छैन । कुनै अति आवश्यक काम आयो भने अर्कै कुरा भयो । अब म यहाँबाट युगान्डाको छेउमा रहेको नैरोबी जान्छु । त्यसपछि म लन्डन जान्छु ।’

पहिलो हिरो थिए दारा सिंह

मुमताजले १९६० को शुरुवातदेखि नै ‘स्त्री’, ‘सेहरा’, ‘मुझे जीने दो’ र ‘गहरा दाग’ जस्ता फिल्ममा साना भूमिका खेल्न थालेकी थिइन्, तर उनको करियरमा पहिलो टर्निङ प्वाइन्ट त्यतिबेला आयो जब चर्चित रेस्लर दाराले सिंहसँग उनले  ‘फौलाद’ जस्तो फिल्ममा हिरोइन बन्ने मौका पाइन् ।

निकै गरिब परिवारमा जन्मिएकी मुमताजका लागि त्यो निकै खुसीको क्षण थियो, जब १६ वर्षको उमेरमा उनले फिल्म ‘फौलाद’ मा नायिका राजकुमारी पद्माको भूमिका निर्वाह गर्ने मौका पाइन् । यो स्टन्ट फिल्म यस्तो चल्यो कि दारा सिंह र मुमताजको जोडी हिट भयो ।


हेर्दा हेर्दै यी दुईका १५ वटा एक्सन फिल्म आए जसमा ‘वीर भीमसैन’, ‘हरक्युलिस’, सेमसन’, ‘आँधी और तुफान’, ‘टार्जन एन्ड किङ कङ’, ‘टार्जन कम्स टु दिल्ली’, ‘राका’, ‘सिकन्दर ए आजम’, ‘रुस्तम ए हिन्द’ र ‘डाकू मंगल सिंह’ जस्ता फिल्म समावेश छन् ।

मेरो दारा सिंह जीसँग वर्षौँअघि मुमताजको विषयमा कुराकानी भइरहन्थे । उनी भन्थे, ‘मुमताज सुरुवाती दिनदेखि नै मिहिनेती थिइन् । उनलाई जे जति सिकाइन्थ्यो उनले तत्काल बुझिहाल्थिन् । यहाँसम्म कि उनी कमालको डान्स गर्थिन् । उनको भाग्यले उनलाई साथ दियो भने उनी धेरै नै सफल हुन्थिन् जस्तो मलाई लाग्थ्यो  ।’

पछि त साँच्चै नै मुमताज छिट्टै त्यो शिखरमा पुगिन्, त्यो कुनै चमत्कारभन्दा कम थिएन । यद्यपि, यसका लाष् िमुमताजले धेरै नै मेहिनेत गर्नुपर्यो किनभने शशी कपुरजस्ता केही नायकले त मुमताजससँग काम गर्न अस्वीकार गरेका थिए ।

शशि कपुरको अस्वीकारको विषयमा जब मैले मुमताजलाई सोधेँ उनले भनिन्, ‘यो साँचो हो कि शशी कपुरले मसँग काम गर्न अस्वीकार गरेका थिए । एक दिन म जुन स्टुडियोमा फिल्म ‘सच्चा झुटा’ को सुटिङ गरिरहेको थिएँ, त्यसै स्टुडियोमा शशि जी आएका थिए ।’


‘त्यतिबेला मैले उनलाई भनेको थिएँ कि शशि बाबा तपाईंले मसँग काम गर्न किन मान्नुहुन्नँ ? उनले यो कुरा अस्वीकार गर्दै भने, ‘होइन नि मुमू बाबा म किन अस्वीकार गरुँला, मैले त्यस्तो कहिल्यै भनेको छैन । तपाईंसँग काम गर्दिनँ भनेर मैले कसैलाई पनि भनेको छैन ।’

‘त्यतिबेला मैले भनेको थिएँ कि मलाई यसबारे थाहा छ किनभने मेरा निर्माताले मलाई यसबारे बताइसकेका छन् तर एकदिन तपाईंले मसँग पक्कै पनि काम गर्नु हुनेछ । म तपाईंको प्रशंसक हुँ र सधैँ रहनेछु ।’

‘मेरा प्रेमी भगवान’

पछि जब तपाईं हिट हुनुभयो र शशि कपुरले तपाईंसँग ‘चोर मचाये शोर’ र ‘प्रेम कहानी’ जस्ता सफल फिल्ममा अभिनय गर्नुभयो तब शशिले तपाईंसँग काम गर्न अस्वीकार गरेकोमा कहिल्यै अफसोस जताउनुभयो ?

यो प्रश्नमा मुमताज भन्छिन्, ‘होइन होइन । यसबारे उनले न कहिल्यै अफसोस जताए न नै कहिल्यै माफी माग्नुभयो किनभने सायद आफ्नो इगोमा मसँग काम गर्न अस्वीकार गरेको कुरा उनले कहिल्यै स्वीकार नै गरेनन् ।’

‘तर मलाई यसको वास्ता नै छैन । यसको जवाफ भगवानले उनलाई नै दिनुभयो । जब मसँग गरेको दुबै फिल्म हिट भयो । त्यति नै बेला मैले फिल्ममा काम गर्न छोडिदिएँ । त्यसपछि चाहेर पनि उनले मसँग काम गर्न सकेनन् । भगवानले मलाई असाध्यै माया गर्नुहुन्छ, उहाँ मेरो प्रेमी हुनुहुन्छ ।’

भगवान मुमताजप्रति पक्कै पनि निकै उदार रहेका छन् । नजिकबाट हेर्ने हो भने उनको फिल्मी करियर करिब १५ वर्ष मात्रै रह्यो । यी वर्षमा पनि उनी सुरुका ५ वर्षमा खासै ठूलो धमाका गर्न सकिनन् तर त्यसपछि भने मुमताज हिन्दी सिनेमाकी ‘रानी’ बनिन् ।


पहिला शशिबाहेक जितेन्द्रजस्ता केही अन्य ठूला नायक मुमताजसँग यसकारण काम गर्न चाहन्थे किनभने मुमताज स्टन्ट फिल्मकी नायिका थिइन् तर जब मुमताज ‘राम और श्याम’, ‘दो रास्ते’ र बन्धन जस्ता फिल्मका कारण हिट हुँदै गइन् तब यी सुन्दरीसँग काम गर्न सबै नायक लालायित भए ।

हेर्दा हेर्दै स्थिति यस्तो बनिदियो कि स्टन्ट फिल्मकी नायिका रहेकी मुमताजले एकदिन शीर्ष नायिकाको ताज आफ्नो पोल्टोमा पारिन् ।

उनी असाध्यै लोकप्रिय भइन् । वास्तवमा आफ्नो अत्यधिक मिहिनेत, लगन र योग्यताको बलमा मुमताजले यस्तो इतिहास रचिन् जसको उदाहरण आज पनि दिइन्छ र भोलि पनि दिइनेछ । सबैभन्दा ठूलो कुरा के हो भने वर्षौंदेखि फिल्मबाट टाढा रहेकी मुमताजको जादु अहिले पनि कायम छ ।

राजेश खन्नासँग धेरै नै जम्यो जोडी

मुमताजको जोडी हुन त धर्मेन्द्र, देव आनन्द, फिरोज खान र जितेन्द्रजस्ता नायकसँग पनि लोकप्रिय भयो तर राजेश खन्नासँग उनको जोडी सबैभन्दा धेरै चर्चित भयो । राजेश खन्नासँग मुमताजले ८ फिल्ममा काम गरिन् ।

मुमताज आफैँ पनि एक समय राजेश खन्नालाई यति रुचाउँथिन् कि उनले राजेश खन्नाको बंगलाजस्तै आफ्ना लागि बंगला किनिन् । राजेश खन्ना आफ्नो अन्तिम दिनमा क्यान्सरसँग जुधिरहेका बेला मुमताज विशेष तरिकाले उनलाई भेट्नका लागि उनको ‘आशीर्वाद’ बंगलामा जाने गर्थिन् ।

त्यतिबेला मुमताजले राजेशलाई सम्झाउँदै भन्ने गर्थिन्, ‘जसरी मैले क्यान्सरसँगको युद्ध जितेँ त्यसरी नै तपाईंले पनि जित्नुहुनेछ । ’ तर यस्तो हुन सकेन ।

तर अब न राजेश खन्ना छन् न उनको त्यो आशीर्वाद बंगला तर मुमताजको पुरानो बंगला आज पनि त्यहाँ नै छ । जहाँ अब मुमताजकी बहिनी मल्लिका बस्छिन् ।

राजेश खन्नासँग उनको जोडी निकै लोकप्रिय रहेको कुरा मुमताज स्वीकार गर्छिन् । कुनैबेला आफू राजेशसँग निकै नजिक भएको पनि उनी बताउँछिन् ।

तपाईं धेरैजसो मुम्बई आइरहनुहुन्छ, आजकाल तपाईंको सबैभ्न्दा राम्रो सम्बन्ध कोसँग छ ?

यो प्रश्न सुनेपछि मुमताज हाँस्दै भन्छिन्, ‘मेरो सम्बन्ध सबैसँग राम्रो छ तर म आफ्ना पुराना हिरोहरुलाई खासै भेट्दिनँ । म असाध्यै स्वाभिमानी महिला हुँ । म यत्तिकै कसैको घरमा भेट्न जादिनँ ।’

‘कसैले राम्रोसँग बोलाउँछन् भने पक्कै पनि जान्छु । केही समयअघि मलाई शत्रुघ्न सिन्हाले आफ्नी श्रीमती पुनमको जन्मदिनमा बोलाउँदा म गएँ । मेरो छिमेकमा अञ्जु महेन्द्रु पनि मेरो निकै राम्रो साथी हुन् ।’

शिखरमा हुँदा नै लिइन् सन्यास

मुमताजको करियरको विश्लेषण गर्ने हो भने उनले आफ्नो करियरमा लगभग सय फिल्म गरिन् । जसमध्ये लगभग ६० फिल्म हिट वा सुपरहिट भए । जहाँ ‘रुप तेरा मस्ताना’ मा मुमताजले दोहोरो भूमिका पनि निर्वाह गरिन् । यस्तै, खिलौना फिल्मका लागि मुमताजलाई सर्वश्रेष्ठ अभिनेत्रीको फिल्म फेयर पुरस्कार पनि दिइयो ।

मुमताजले जब सन् १९७४ मा मयुर मधवानीसँग विवाह गरेर फिल्मलाई ‘अलविदा’ भनेकी थिइन् तब उनको करियर शीर्ष स्थानमा थियो । ‘चोर मचाये शोर, रोटी, आपकी कसम’ जस्ता उनका तीन सुपरहिट फिल्म त्यसै वर्ष रिलिज भएको थियो ।

जबकी ‘प्रेम कहानी’ र ‘नागिन’ उनको विवाहपछि सन् १९७५–१९७६ मा प्रदर्शित भयो । यस्तै नायिकाको रुपमा मुमताजको अन्तिम फिल्म ‘आइना’ सन् १९७७ मा प्रदर्शनमा आयो ।

बीबीसी / प्रदीप सरदाना

प्रतिक्रिया

सम्बन्धित समाचार