प्रधानमन्त्रीको निर्देशनपछि बर्दिबासको सर्पदंश उपचार केन्द्रले पायो आईसीयू र भेन्टिलेटर

महोत्तरी / बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईसीयू र भेन्टिलेटर उपलब्ध गराएको छ।  केन्द्रमा आईसीयू र भेन्टिलेटर नहुँदा सर्पदंशका गम्भीर अवस्थाका बिरामीले अकालमा ज्यान गुमाइरहेका छन्।

स्थानीयले लामो समयदेखि केन्द्रमा भेन्टिलेटरसहित उपचारको व्यवस्था गर्न माग गरिरहेका थिए। पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले दुई दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर केन्द्रको लागि भेन्टिलेटर माग गरेको थियो।

बर्दिवास नगरपालिकाले गत वर्ष नै भेन्टिलेटर माग गर्दै स्वास्थ्य विभागलाई पत्रचार गरेको थियो। प्रधानमन्त्री देउवाको निर्देशनमा स्वास्थ्य विभागले करिब २६ लाख रुपैयाँ मूल्य बराबरको भेन्टिलेटर सोमबार बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीलाई हस्तान्तरण गरेको हो।

बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रको उपचार कक्ष। तस्बिर सौजन्य ः राजु ढुंगानाबर्दिबासस्थित सर्पदंश उपचार केन्द्रको उपचार कक्ष। 

विषालु सर्पको टोकाइबाट गत शनिबार मात्रै बर्दिबास नगरपालिका–४ मा अवस्थित पब्लिक स्कुलका प्रिन्सिपल युवराज श्रेष्ठको मृत्यु भएको थियो।  सर्पले टोक्नेबित्तिकै बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि भेन्टिलेटर अभावमा श्रेष्ठलाई बचाउन नसकिएको स्वास्थ्यकर्मीले बताएका छन्।

गम्भीर अवस्थामा जनकपुर पठाइएका श्रेष्ठको बाटोमै मृत्यु भएपछि मेयर क्षेत्री नेतृत्वको टोली सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर माग गर्न काठमाडौं गएको थियो।

आईसीयू र भेन्टिलेटर माग गर्न प्रधानमन्त्रीकहाँ पुगेको टोली। आईसीयू र भेन्टिलेटर माग गर्न प्रधानमन्त्रीकहाँ पुगेको टोली।

सर्पको टोकाइबाट महोत्तरीसहित तराईका जिल्लामा बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन्।  विषालु सर्पले टोकेका गम्भीर अवस्थाका बिरामी बचाउन एन्टीस्नेक भेनमसँगै आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने भए पनि तराई मधेशका धेरै सर्पदंश उपचार केन्द्रमा यी उपकरणको अभाव छ।

सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा भने आईसीयू र भेन्टिलेटर भए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आएको छैन। ती उपकरण अहिले कोठामा थन्क्याएर राखिएको छ।

 

सर्लाहीमा सर्पदंश : आईसीयू र भेन्टिलेटर थन्किँदा अकालमा जान्छ ज्यान

सर्पको टोकाइबाट नेपालमा बर्सेनि धेरैको अकालमै ज्यान जाने गरेको छ। विशेषगरी बर्खाका बेला तराई–मधेसका जिल्लामा विषालु सर्पको डर बढी हुन्छ। विषालु सर्पले टोकेका गम्भीर बिरामी बचाउन एन्टी स्नेक भेनमसँगै आईसीयू र भेन्टिलेटर आवश्यक पर्छ।

सर्पको टोकाइमा प्रयोग हुने औषधि एन्टी स्नेक भेनम सरकारले निःशुल्क उपलब्ध गराइरहेको भए पनि सर्पदंशको उपचार हुने अधिकतर स्वास्थ्य संस्थामा आईसीयू र भेन्टिलेटरको अभाव छ। तर सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर भएर पनि बिरामीको उपचारमा प्रयोग गरिएको छैन। ती उपकरण कोठामा थन्क्याएर राखिएको छ। जसका कारण सर्पले टोकेर केन्द्रमा पुग्ने कतिपय बिरामीले अकालमै ज्यान गुमाइरहेका छन्। दक्ष जनशक्तिको अभावले आईसीयू र भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलले बताए।

‘केन्द्रमा एक–एक थान आईसीयू र भेन्टिलेटर छन्। तर, विगत ३ वर्षदेखि ती उपकरण प्रयोगमा छैनन्’, अध्यक्ष पौडेलले भने, ‘हामीसँग आईसीयू र भेन्टिलेटर चलाउन जान्ने दक्ष चिकित्सक नहुँदा गम्भीर अवस्थाका सर्पदंशका बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता छ।’

गत वैशाखयता केन्द्रमा उपचारका लागि पुगेका दुईजना सर्पदंशका बिरामीको मृत्यु भइसकेको छ। ‘केन्द्रको आईसीयू र भेन्टिलेटर चालु अवस्थामा हुन्थ्यो भने ती बिरामीको ज्यान जाने थिएन’, केन्द्रमा कार्यरत डा. हर्षनारायण झाले नेपालखबरसँग भने।  डा झा केन्द्रका प्रमुख चिकित्सक हुन्। तर, आफूलाई आईसीयू र भेन्टिलेटर सञ्चालनसम्बन्धी ज्ञान नभएको उनले बताए। तत्कालीन प्रदेश २ (हाल मधेस) सरकारको सामाजिक विकास मन्त्रालयले अनुदान दिएको ३० लाख रुपैयाँमा केन्द्रले चार वर्षअघि एक–एक थान आईसीयू र भेन्टिलेटर खरिद गरेको थियो। केही समय ती उपकरण सञ्चालनमा पनि आए। तर, तीन वर्षअघि उपचारका क्रममा एकजना सर्पदंशका बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ती उपकरण तोडफोड गरे। तोडफोड भएका उपकरण मर्मत त गरियो, तर फेरि त्यसलाई सञ्चालनमा ल्याइएन। कोठामा थन्क्याएर राखियो।

‘त्यतिबेला हामीलाई आफ्नो ज्यान जोगाउनै हम्मेहम्मे पर्यो, त्यसपछि हामीले ती उपकरण सञ्चालनको प्रयास गरेका छैनौँ’, डा. झाले भने। त्यतिबेला केन्द्रमा सर्पदंशका गम्भीर बिरामी आउँदा प्राथमिक स्वास्थ्य केन्द्र (लालबन्दी) बाट एकजना डाक्टर बोलाइन्थ्यो। ‘उहाँ आएर बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राखिदिनुहुन्थ्यो’, अध्यक्ष पौडेलले भने, ‘तर उपचारका क्रममा एकजना बिरामीको मृत्यु भएपछि हामीले आईसीयू र भेन्टिलेटर नै जोगाउन सकेनौँ, त्यसपछि ती उपकरण कोठामा थन्क्याएर राख्नुको विकल्प हामीसँग रहेन।’

त्यसरी रेफर हुने धेरै बिरामीको अस्पताल नपुग्दै मृत्यु हुने गरेको छ। नवलपुरबाट प्रायः वीरगन्ज, भरतपुरका जस्ता सुविधासम्पन्न अस्पतालमा बिरामी रेफर हुने गरेका छन्।

ढिलागरी अस्पताल पुगेका गोमन, करेतजस्ता विषालु सर्पले टोकेका गम्भीर अवस्थाका बिरामीलाई बचाउन आईसीयू र भेन्टिलेटर जरुरी पर्ने डा. झाले बताए। ‘विषालु सर्पले टोकेका भए पनि तुरुन्तै उपचारमा आउने बिरामीलाई एन्टी स्नेक भेनमले मात्रै पनि ठीक हुन्छ। तर शरीरभरि विष फैलिएका गम्भीर अवस्थाका बिरामीलाई एन्टी स्नेक भेनमले मात्रै पुग्दैन, उनीहरूलाई आईसीयू र भेन्टिलेटरमै राख्नुपर्ने हुन्छ’, उनले भने, ‘गोमन र कालो करेत (कमन करेत) ले टोकेका र गम्भीर अवस्थाका बिरामीलाई हामी सिधै बाहिर रेफर गर्छौं। उहाँहरूको ज्यान तलमाथि भयो भने हामीमाथि नै जोखिम हुन्छ।’

सर्पदंशका सय जना बिरामी बचाउँदा कसैले वास्ता नगर्ने तर, उपचार गर्दागर्दै एक जना बिरामीको मृत्यु भए आफूहरुविरुद्ध आक्रमण हुने गरेको गुनासो उनले गरे। ‘हामीले रातभर जागा बसेर सयौँ बिरामीको ज्यान जोगाएका छौँ’, डा. झाले भने, ‘तर उपचारका क्रममा कतिपय बिरामीको मृत्यु हुन्छ। त्यतिबेला बिरामीका आफन्त ‘हामीले सद्दे मान्छे ल्याएका थियौँ, डाक्टरले मारिदियो’ भन्दै हामीमाथि नै जाइलाग्छन्। त्यतिबेला भने दुःख लाग्छ।’

विषालु सर्प धेरै पाइने सर्लाहीमा नवलपुरसँगै जिल्ला अस्पताल (मलंगवा) र प्राथमिक स्वास्थ्य केन्द्र –बरहथवा) मा पनि सर्पदंशको उपचार हुन्छ। तर जिल्लाभरका सर्पदंशका झन्डै ७० प्रतिशत बिरामी नवलपुरमै उपचारका लागि आउने गरेका झाले बताए। केन्द्रमा एन्टी स्नेक भेनमसहित सर्पदंशका बिरामीलाई दिइने औषधिको भने अभाव नरहेको झा बताउँछन्।

‘अहिले पनि दुई सयभन्दा धेरै भाइल एन्टी स्नेक भेनम हाम्रो स्टोरमा छ। गोमन, करेतजस्ता विषालु सर्पले टोकेका एकजना बिरामीलाई बढीमा १५ भाइलसम्म औषधि दिनुपर्छ’, उनले भने।

विषालु खालका जुनसुकै सर्पले टोकेका बिरामीलाई पनि केन्द्रमा एकै प्रकारको एन्टी स्नेक भेनम दिने गरिएको छ। तर विकसित देशमा सर्पको प्रजातिअनुसार फरक–फरक औषधि उपलब्ध हुने गरेको झा बताउँछन्। केन्द्रमा हाल दुई जना एमबीबीएस डाक्टर, दुईजना एचए, दुईजना सीएमए, नेपाल आर्मीका दुई जना कर्मचारी छन्। केन्द्रलाई नेपाल आर्मीले नै एन्टी स्नेक भेनम उपलब्ध गराइरहेको छ।

कमन करेतले टोकेका बिरामी सीधै रेफर

सर्पले टोक्यो भन्दै उपचारका लागि केन्द्रमा पुग्ने ९५ प्रतिशत बिरामी सामान्य उपचारपछि ठीक भएर फर्किने गरेका छन्। ‘सर्पले टोकेका ५ प्रतिशत बिरामीलाई मात्रै एन्टी स्नेक भेनम जरुरी हुन्छ। यहाँ उपचारका लागि आउने बिरामीमध्ये ९५ प्रतिशत विषरहित सर्पले टोकेका हुन्छन्’, डा. झाले भने, ‘५ प्रतिशत बिरामी मात्रै विषालु सर्पदंशका हुन्छन्। तीमध्ये पनि केही बिरामीलाई मात्रै आईसीयू र भेन्टिलेटर आवश्यक पर्छ।’

यस वर्ष चैतमा मात्रै ६२ जना बिरामी उपचारका लागि केन्द्रमा पुगेका छन्। हिजोआज दैनिक ७/८ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको केन्द्रका स्वास्थ्यकर्मीहरु बताउँछन्। विषालु सर्पमा बढीजसो गोमन, करेत र हरियो सर्पले टोकेका बिरामी आउने गरेको डा. झाले बताए।

‘समयमै आए गोमन, करेतले टोकेका बिरामी पनि ठीक हुन्छन्। विष फैलिएर आए गाह्रो हुन्छ’, डा. झाले नेपालखबरसँग भने, ‘यस क्षेत्रमा पाइने कमन करेट (कालो करेत) सबैभन्दा विषालु देखिएको छ। त्यो गोमनभन्दा पनि विषालु हुन्छ। त्यसले प्रायः रातको समयमा मात्रै टोकेका केस हामीकहाँ आएका छन्।’

उनले करेतकै अन्य प्रजातिका सर्पले टोकेका बिरामीलाई भने समयमै उपचार गर्न सके बचाउन सकिने बताए। ‘तर कालो करेतले टोक्यो भने हामीकहाँ उपचार हुन सक्दैन। त्यस्ता बिरामीलाई आईसीयू र भेन्टिलेटरकै जरुरी हुन्छ। हामी बाहिर रेफर गरिहाल्छौँ।’

कतिपय मानिसलाई राति सर्पले टोक्छ। बिरामीले सर्प चिन्दैनन्। त्यस्तो अवस्थामा आएका बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्ने गरिएको छ। ‘उनीहरूमा विषको लक्षण देखिए तुरुन्तै एन्टी स्नेक भेनम चलाउँछौँ। नत्र १२ देखि २४ घण्टासम्म स्वास्थ्यकर्मीको निगरानीमा राखेर घर पठाउने गरेका छौँ’, डा. झाले भने।

कतिपयले अझै पनि सर्पले टोकेका बिरामीलाई घरमै झारफुक गरेर ढिलागरी मात्र अस्पताल ल्याउने गरेको झाले बताए। ‘गोमन, करेत, हरेउजस्ता विषालु सर्पले टोकेको बिरामीलाई एन्टी स्नेकबाहेक केहीले बचाउन सक्दैन। यो यथार्थ ग्रामीण भेगमा अझै धेरैले बुझेका छैनन्’, उनले भने।

गोमनले टोकेका बिरामीमा तुरुन्तै विष प्रवाह हुन्छ। उनीहरूलाई तत्कालै अस्पताल पुर्याए २४ देखि ७२ घण्टासम्ममा ठीक हुन्छन्। तर, कमन करेतले खाएका बिरामी ठीक हुन ४/५ दिनसम्म लाग्ने गरेको उनले बताए। ‘कतिपय करेतले टोकेका बिरामीमा विषको लक्षण ४/५ घण्टापछि मात्रै सुरु हुन्छ। विष उत्रन पनि निकै सयम लाग्छ’, झाले भने।

उनका अनुसार सर्पले टोकेका बिरामी आत्तिन हुँदैन। कहिलेकाहीँ विष नभएका सर्पले टोकेका बिरामी पनि आत्तिएकै कारण मर्ने गरेको उनले बताए। ‘उनीहरूको शरीरमा विष फैलिएको भने हुँदैन, तर मृत्यु हुन्छ’, डा. झाले भने, ‘त्यो भनेको डरका कारणले भएको मृत्यु हो।’ केन्द्रमा वर्षमा ५ देखि ६ सय जनासम्म सर्पदंशका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। त्यसरी पुग्नेमध्ये करिब ५० जना जतिलाई मात्रै विषालु सर्पले टोकेको पाइएको डा. झा बताउँछन्।  समुदाय स्तरबाट सञ्चालित केन्द्रमा सरकारले एन्टी स्नेक भेनम मात्रै उपलब्ध गराइरहेको छ। स्वास्थ्यकर्मीको तलब, भत्तादेखि बाँकी औषधि केन्द्र आफैँले बेहोर्नुपर्ने बाध्यता रहेको अध्यक्ष पौडेलले बताए।

केन्द्र सञ्चालनका लागि सर्लाहीका स्थानीय तहले वार्षिक रूपमा केही अनुदान दिने गरेका छन्। यस वर्ष लालबन्दी नगरपालिकाले केन्द्रलाई साढे १४ लाख रुपैयाँ अनुदान दिएको छ। त्यसैगरी बागमती नगरपालिकाले १० लाख, हरिवन नगरपालिकाले २ लाख, हरिपुरले १ लाख र ईश्वरपुरले ५० हजार सहयोग केन्द्रलाई गरेका छन्। केन्द्रमा मासिक २ लाख २५ हजार रुपैयाँ स्वास्थ्यकर्मीको तलबमा खर्च हुन्छ। बाँकी रकम एन्टी स्नेक बाहेकका औषधि र अन्य व्यवस्थापनका काममा खर्च हुने गरेको अध्यक्ष पौडेलले जानकारी दिए। -नेपालखबर

प्रतिक्रिया

सम्बन्धित समाचार