‘गर्भमा छोरी रहेको थाहा पाएपछि घरपरिवारले पुनमको हत्या गर्यो’

रौतहट / पाँच महिने गर्भवती महिलाको विभिन्न बहानामा कुटपिट गरी घरपरिवारले हत्या गरेको माइत पक्षले आरोप लगाएको छ ।

रौतहटको मौलापुर नगरपालिका ७ संगैया टोलका सियाराम साहको छोरा रविन्द्र साहकी श्रीमती २१ वर्षीया पुनम साहको हत्या घरपरिवारले गरेको माइत पक्षले आरोप लगाएको हो । गत साउन १५ गते बिहान घरमा पासोमा झुण्डेको अवस्थामा पुनको शव फेला परेको थियो ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनमको ५ वर्ष अघि रविन्द्र साहसंग समाजिक परम्परा अनुसार विवाह भएको थियो । माइत पक्षले बिहीबार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखामा पत्रकार सम्मेलन गरी मृतक पुनमकी दाई पन्नालाल साहले आफ्नो बहिनीको घरपरिवार मिलेर हत्या गरेको दावी गरेका हुन् ।

गर्भमा पुनः पाँच महिनाको छोरी रहेको थाहा पाएपछि पुनमको घरपरिवार मिलेर हत्या गरी पासोमा झुण्ड्याएर अत्महत्या गरेको पुष्टि गर्न खोजेको दाई पन्नालालले दावी गरे ।मृत्यु भएको करिब १० घन्टाको अन्तरालमा माइतपक्षलाई जानकारी दिएको र प्रहरी तथा ससुरा पक्षका व्यक्तिहरुले शव समेत हेर्न नदिएको आरोप लगाए ।

उनका अनुसार यसअघि पहिलो पल्ट दुई वर्षअघि छोरी गर्भमा रहेको थाहा पाएपछि घरपरिवारले जवरजस्ती गर्भपतन गराएका थिए । दोश्रो पटक पुनः अल्ट्रासाउण्ड गराएर गर्भमा फेरि छोरी नै रहेको थाहा पाएपछि परिवारजनले गर्भ तुहाउन दबाब दिएका थिए । तर पुनमले इन्कार गरेपछि हत्या गरेर पासोमा झुण्ड्याई आत्महत्या गरेको नाटक गरी घरपरिवार उम्किन खोजेको दाई पन्नालालको आरोप छ ।

‘मेरो बहिनीको हत्या भएको ४ दिन बितिसक्यो । न्यायका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा धाइरहेका छौं । तर प्रहरीले मुद्दा दर्ता गर्न मानिरहेको छैन’ दाई पन्नालालले भने ‘ससुरा पक्षको प्रहरी प्रशासनमा राजनीतिक ठूलो पहुच छ । त्यसैले प्रहरीले कुनै हामीलाई कुनै वास्ता गरेका छैनन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार