परराष्ट्र मन्त्रालयले भन्यो- ताइवान क्षेत्रमा उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको छ

काठमाण्डौ – परराष्ट्र मन्त्रालयले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ ।

 

आज शुक्रवार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सासले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सधैँ ‘एक चीन नीति’ को समर्थनमा रहेको पनि स्मरण गराउनुभयो । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो देशको सार्वभौमसत्ता र स्वाधीनतामाथिको आक्रमण भनेको छ ।

 

उहाँले भन्नुभयो, ‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपालले सधैँ एक चीन नीति समर्थन गर्दै आएको छ । एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सधैँ अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’

 

परराष्ट्र मन्त्रालयले नेपाल-चीन दुवै देशले सधैँ एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार