महोत्तरीमा आर्केष्ट्रामा अश्लील प्रदर्शन गरेर पक्राउ परेका १२ जना रिहा

महोत्तरी / गौशालामा आर्केस्टा नाचको नाममा अश्लील नृत्य गरेको आरोपमा पक्राउ परेकाहरू रिहा भएका छन् । मेला आयोजक र स्थानीय नेताले दबाब दिएपछि उनीहरूलाई छोडिएको हो ।

कृष्ण जन्माष्टमीको अवसरमा आयोजित मेलामा अर्केस्ट्राको नाममा अश्लील नृत्य गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय गौशालाले गौशाला नगरपालिका–११ र निगौलबाट शनिबार ९ महिला र ३ पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई छुटाउन प्रहरी कार्यालयमा २ दिनदेखि नेताहरूको दौडधुप चलेको थियो । फेरि अर्केस्ट्रामा नआउने सर्तमा प्रहरीले नर्तकीहरूलाई छोडेको हो । उनीहरूलाई सांस्कृतिक कार्यक्रमको लागि भनेर भारतबाट बोलाइएको थियो ।

राति अर्केस्ट्रामा महिला नचाउन नपाउने सूचना अटेर गरेपछि मेलामा नाच्दै गरेका कलाकारलाई नियन्त्रणमा लिँदा प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरिएको थियो । ढुंगामुढा गर्ने दुई जनालाई भने नियन्त्रणमा लिएर सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको इलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए । जिल्ला प्रशासन कार्यालयले पहिले नै आर्केस्ट्रा कार्यक्रम नगर्न सुचना जारी गरेको थियो । सूचना अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिनुपरेको मिश्रले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले सभ्य र मर्यादित कार्यक्रम चलाउन कतै बाधा–अवरोध नहुने बताए । तर, अश्लील खालका कार्यक्रम सञ्चालन भइरहेको सूचना आएपछि प्रहरीले सक्रियता बढाएर बन्द गराएको उनको भनाइ छ । चाडपर्व, मेला महोत्सवमा अश्लीलता झल्कने कार्यक्रममा पूर्ण बन्देज लगाइएको उनले बताए ।

महोत्तरीमा शुक्रबार र शनिबार अर्केस्ट्रा बन्द गराउन प्रहरी परिचालन गरिएको थियो । महोत्तरीको सुन्दरपुरमा गतवर्ष आर्केस्ट्राको क्रममा झडप हुँदा एक जना स्थानीयको मृत्यु भएको थियो । त्यसपछि रातिको समयमा महिला कलाकार ल्याएर आर्केस्ट्रा गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार