प्रदेश २ : कोरोनाबाट दुई जनाको मृत्यु

वीरगञ्ज – कोरोना संक्रमणको दोस्रो लहर आएसँगै पर्साको वीरगन्ज स्थित नारायणी अस्पतालमा चार घण्टाको अन्तरालमा २ जनाको मृत्यु भएको छ। उपचार गराइरहेका मध्ये बाराको छापा पिपराका ९ का ३७ वर्षीय युवक र वीरगन्ज ३ का ६२ पुरुषको आज बिहान मृत्यु भएको हो। 

बाराका युवकको बिहान साढे ३ बजे मृत्यु भएको थियो। त्यसको ४ घण्टा बित्न नपाउँदै अहिले बिहान ८ बजेर २० मिनेटमा अर्का ६२ बर्षीय पुरुषको पनि मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. सरोज रोशन दासले बताए।   

मृतक मध्ये बाराका युवक गएको २६ गते वीरगन्जकै एड्भान्स अस्पतालमा उपचारार्थ भर्ना भएका थिए। त्यहाँ अवस्था असामान्य बन्न थालेपछि सोमबार नारायणी अस्पतालमा थप उपचारका लागि भर्ना भएका थिए। मृतक युवक होलीभन्दा दुई दिन अघि मात्र भारतको हैदराबादबाट नेपाल आएको हिस्ट्री भेटिएको नारायणी अस्पतालका डा दासले बताए। 

अर्का ६२ बर्षीय मृतक भने यहि आइतबार बिहान ६ बजे नारायणी अस्पतालमा नै भर्ना भएका थिए। उनको पिसिआर रिपोर्ट सोमबार मात्र पोजेटिभ आएको डा दासले बताए। 

यता हरेक दिन कोरोनाका नयाँ संक्रमित बढ्ने क्रममा पछिल्लो २४ घण्टामा ४० जना थपिएको नारायणी अस्पतालले जनाएको छ। नारायणी अस्पतालको प्रयोगशालामा ९५ जनाको स्वास्थ्य परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये पर्साका ३७ जना र बाराका ३ जना रहेको नारायणी अस्पतालका डा.सरोज रोशन दासको भनाइ छ।  

संक्रमितहरु मध्ये गम्भिर प्रकृतिका वाहेक अरु सबै होम आइसोलेशनमा नै रहेका छन्। स्थानीय पालिकाको स्वास्थ्य शाखाका जिम्मेवार स्वास्थ्यकर्मीको निगरानीमा राख्ने गरी सामान्य अवस्थाका संक्रमितलाई भने होम आइसोलेसनमा छोडिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए। 

प्रतिक्रिया