
घनश्याम बलम्पाकी, बागमती । सर्लाहीको बागमती नगरपालिका–८, गाजली चोकमा आज (मंगलबार) दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दिउँसो २ बजेतिर गाजली चोकस्थित नव जनजागरण मावि अगाडी भएको दुर्घटनामा बीआर ३० एम ३४५२ नम्वरको मोटरसाइकलका चालक बरहथवा नगरपालिका–१५, पिप्राभित्ता निवासी ५० वर्षीय भिखारी साह तथा पछाडी सवार भारतीय नागरिक ४० वर्षीय प्रकाश सहनीको मृत्यु भएको हो । विद्यालय छेउमा रहेको चौबाटोमा उत्तरबाट दक्षिणतर्फ गईरहेको भारतीय नम्वर प्लेटको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको ज. १ त १५७४ नम्वरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाईकलमा सबार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले जानकारी दिए ।
मुख्य चौकमा दुईतर्फबाट आएका ट्याक्टर र मोटरसाइकलले एकले अर्कालाई नदेखिएर ठोक्किदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । बागमती खोलाबाट बालुवा लिएर आउँदै गरेको ट्याक्टर मोटरसाइकललाई ठक्कर दिएर विद्यालयको भवनमा ठक्कर दिन पुगेको बागमती नगरपालिका–८, का वडाध्यक्ष मानबहादुर तामाङले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्याक्टर नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।