
काठमाडौं – नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ ।
शहरी विकास मन्त्री प्रभु साहको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले एकैपटक देशैभरी १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण तथा वातावरणीय अध्ययन प्रक्रिया शुरु गर्न लागिएको हो ।
‘स्मार्ट सिटी विकास आयोजनालाई विशेष आयोजनाको रुपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट नै आयोजना संचालन हुने शहरहरुको छनौट गरी बजेटको सुनिश्चितताका साथ १२ वटा शहरहरुमा पुर्वाधार निर्माणका लागि तत्काल खरिद प्रक्रिया अगाडी बढाउँन मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ’ मन्त्री साहले भने ।
विशेष आयोजनाको रुपमा १२ वटा नगरपालिकाहरु धनकुटा जिल्लाको धनकुटा, झापाको गौरिगंज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रेको काभ्रे उपत्यका, भक्तपुरको भक्तपुर नगरपालिका गुन्डु बालकोट क्षेत्र, स्याङजाको वालिङ्ग, रुपन्देहीको लुम्बिनी, दाङको तुलसीपुर, दैलेखको दुल्लु, कञ्चनपुरको भीमदत र डडेलधुराको अमगढीलाई स्मार्ट सिटीको रुपमा निर्माण तथा वातावरणीय अध्ययन अगाडी बढाउँन लागिएको शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बताए ।
शहरी विकास मन्त्रालयको गत १७ चैतमा प्रस्ताव पेश गरेपछि २५ चैतमा बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । शहरी विकास मन्त्रालयले स्मार्ट सिटी, एक शहर एक पहिचान, मेगा सिटी, औधोगिक शहर, पर्यटकीय शहर जस्ता बिभिन्न अवधारणाहरुका आधारमा शहरी आयोजनाहरु तयार भई कार्यान्वयन भईरहेको जनाएको छ । मन्त्रीपरिषद बैठकबाट भएको निर्णय अनुसार कार्यान्वयन प्रक्रिया अगाडी बढाउन मुख्यसचिव शंकरदास बैरागीले मन्त्रालयका सचिव सिंहलाई निर्देशन समेत दिईसकेका छन् ।
प्रतिक्रिया