Thursday 18th of April 2024

गिरिराजमणि पोखरेलले भने- जमिन्दारले रकम लिएको ५० वर्ष बितिसक्दा पनि किसानको जग्गा पास भएन

0 Shares

काठमाडौं : सांसद गिरिराजमणि पोखरेलले  मिटरब्याजीको नयाँ प्रवृत्तिबारे उजागर गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेले महोत्तरीको मनरासिस्वाको मनराकट्टीका जमिन्दारले रकम लिएको ५० वर्ष बित्दा पनि गरिबहरुको नाममा जग्गा पास नगरेको तथ्य बाहिर ल्याएका हुन् ।

‘मनराकट्टी बस्नेत तत्कालीन जमिन्दार भुपनारायण, नरनारायण र चन्द्रिका सिहंबाट ५० वर्षअघि गौशाला नगरपालिका–१२ पडरिया कान्तिबजार (साविक भरतपुरखोर गाविस–९)का ९५ जना गरिब, दलित, किसानले खरिद गरेकाथिए । तर, साहुले रकम लिएर पनि जग्गा पास नगरेको पीडितहरुले बताएका छन्,’ संसद्मा बोल्दै नेता पोखरेलले भने, ‘किनेको जमिन भोग चलन गर्दै आएकोमा अझैं पनि उनीहरुको नाममा नामसारी नगरेको पाइएको छ । ती व्यक्तिहरुको नाममा लालपुर्जा बनेको नै छैन । विभिन्न बाहना बनाएर अहिलेसम्म पास नगरेको तथ्य खुलेको छ ।’

गौशाला नगरपालिका- १२ का पीडित रामनाथ महतोले आफूले दु:खले कमाएर किनेको जमिनको मालिक नै नबनी मरिएला की भन्ने चिन्ताले पिरोल्ले गरेको बताउँछन्।  जमिन्दारले भोलिभोलि भन्दै ५० वर्ष बित्दा पनि रकम लिएर जग्गा पास नगरेको उनीहरुले बताएका छन् । गाउँमै पीडितको समस्या बुझेर फर्किएका नेता पोखरेलले पीडकमाथि कारवाही गर्न माग गरेका छन् । ‘कतिपय पीडितहरु जग्गा आफ्नो नाममा नामसारी गर्न नपाई वितिसकेका रहेछन्,’ उनले भने ।

आफ्नो पसिना र श्रमले किनेको जमिनमा विगत ५० वर्षदेखि भोग चलन र श्रम गर्दै आएपनि जति दु:ख कष्ट गरे पनि जग्गा आफ्नो नाममा नामसारी गरी जग्गा धनी बन्न नपाउँदा पीडित मनोज राउत बरैले तत्त्कालीन जमिन्दारको छलछामप्रति आक्रोश व्यक्त गरेकोबारे उनले बताए ।

‘पीडितहरुले हालसम्म न्याय नपाएकोमा दु:ख व्यक्त गरेका छन् र सरकारप्रति न्यायको अपेक्षा राखेका छन् । जनताको सम्पतिको सुरक्षा गर्ने काम सरकारको होइन र ? उनीहरुको हकलाई रक्षा गर्न सरकारले तुरुन्तै कानुनी कदम चाल्न ध्यानाकर्षण गर्न चाहन्छु ,’ उनले भने, ‘दोषीलाई कानुनको दायरामा ल्याइ जनतालाई न्याय प्रदान गर्न जोडदार माग गर्दछु । ’

मधेश तराईमा मिटर ब्याजीविरुद्धमा धमाधम मुद्दाहरु दर्ता भइरहेकोमा उनले खुशी व्यक्त गरे । तर, मुद्दा कमजोर नमाउन सरकारका निकायलाई उनले सचेत गराए। उनले भने,’केही सुदखोरहरु जाली फटाहाहरु पक्राउ परिरहेको समाचारहरु सुनिरहेका छौं । महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन् । यस कार्यका लागि सरकारलाई धन्यवाद व्यक्त गर्न चाहान्छु । मुद्दालाई कमजोर नबनाउन पनि आग्रह गर्दछु,’ उनले भने ।

प्रतिक्रिया