३९ दिनदेखि सडक संघर्ष

राजकरण महतो

काठमाडौं / फुलेको कपाल। च्याउरिँदै गएको बुढेसकालको ज्यान। थकित अनुहार। त्यसमाथि मिटरब्याजीले दिएको सहनै नसक्ने पीडाले भरिएको नवलपरासीको सुस्ता–५ रत्नगञ्जका ६३ वर्षीय रामसुभग मुसहरको भारी मन।

मिटरब्याजीबाट अन्यायमा परेर न्याय खोज्दै काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गर्न र धर्ना बस्न आएका उनी अहिले ज्वरोले थलिएका छन्। गोजी रित्तिएको छ। उपचार गर्नेसमेत पैसा छैन। तर, सरकारले न्याय नदिएसम्म घर नफर्किने बताउँछन्। रोगले थलिएला कि भन्नेभन्दा पनि न्याय नपाइएलाकी भन्ने चिन्ता बढी छ। 

मिटरब्याजी विरुद्धको आन्दोलनमा सहभागी बन्दा बन्दै ज्वरो आएर बिरामी परेका नवलपरासी सुस्ता–५ रत्नगञ्जका ६३ वर्षीय रामसुभग मुसहर । तस्बिर : राजकरण महतो

माइतीघर मण्डलाको सडकमा उनीजस्तै पीडितले न्याय खोज्दै धर्ना बसेको ३९ दिनभन्दा बढी भयो। ‘साहूले दिएको पीडा छँदै छ, त्यसमाथि लगातार ज्वरोले हैरान बनायो। रगत र पिसाब जाँच गराएँ। हस्पिटलले उपचारमा ८ हजार लाग्ने बताएको छ’, रामसुभगले भने, ‘गोजीमा पैसा छैन। कहाँबाट ल्याउने ? कसरी उपचार गर्ने ?’

भोकै पर्न थाले पीडित

महिना दिनदेखि पीडितहरू न्याय माग्दै धर्नामा छन्। भदौरे झरीलै दैनिक सताउन थालेको छ। दिन काटे रात काट्न समस्या छ। रामसुभग भन्छन्, ‘दुःख त धेरै छ, के भनौं ? आन्दोलन लम्बिदै गयो। सरकारले सुन्दैन, हामीलाई चिन्दैन। खानबस्न निकै समस्या भयो।’ उनीहरूले असारमा १८ दिन माइतीघरमा धर्ना बसेका थिए। ‘गृह मन्त्रालयबाट जानुस् साहू समातिएको छ भनियो। तर, साहूलाई बोलाएको मात्रै रहेछ। प्रहरीले समातेको थिएन। त्यसपछि हामी फेरि काठमाडौं आएर आन्दोलन थालेका हौं,’ उनले भने। रामसुभगले साहू सन्दीपकुमार जोशी र मनीषा पोखरेलसँग लिएको केही लाख रकमलाई बढाएर उनीहरूले लाखौंको जग्गा जमिन हडपेका थिए।

ऋण लिएर तिर्दा पनि न्याय नपाएपछि काठमाडौं गए न्याय पाइन्छ भन्ने आशा बोकेका उनको अवस्था झनै दयनीय बन्दै गएको छ। ‘मागेर खान्छौं। कुनै–कुनै दिन खान नपाएर त हामी भोक्कै राति सुत्छौं। भोकै बसेर पनि आन्दोलन गरिरहेका छौं’, उनी भन्छन्, ‘पानी पर्दा सडकमा छाता र त्रिपाल ओढेर हामी धर्ना बस्छौं। जोडले पानी पर्न थाल्यो भने छेउछाउको घरमा लुक्छौ। बस्छौं।’

महिलालाई समस्यै समस्या

दैनिकीलाई सहज पार्न र आवश्यकता पूरा गर्न गरिब परिवारले मिटरब्याजीसँग ऋण लिन्छन्। जग्गा धरौटी राखे वा साहूकै नाममा पास गरे पनि मिटरब्याजीले ऋणको मिटर घुमाउन छाड्दैनन्। एक पटक ऋण लिएपछि ऋणी चुक्ता गर्ने अवस्थामा पुग्न यहाँ निक्कै समस्या हुने गरेको छ। ऋणीलाई झुक्याएर फर्जी तमसुक अदालतमा पेस गर्दै घरजग्गा लिलाम गर्ने धेरै मिटरब्याजी तराइमा छन्। यसकै कारण धेरैलाई साहूले जेलमा थुनाएर दुःख दिँदै आएका छन्। 

नवलपरासीको रामग्रामकी पुष्षा उपाध्याय पनि मिटरब्याजी विरुद्धको आन्दोलनमा छिन्। साहूसँग साढे ३ लाख लिएकी थिइन्। त्यसको बदलामा साहूले उनीसँग साढे ७ लाखको तमसुक गराए। १८ महिनामै उनले ९ लाख ८० हजार फर्काइन्। तर, साहूले अझै ९ लाख माग्दै अदालतमा मुद्दा हालेको उनले सुनाइन्। सरकार गुहार्न उनी काठमाडौं आएकी छिन्। तर, न्यायको लडाइँ कठिन बन्दै गएको उनी बताउँछिन्। ‘हामी महिलाहरूलाई निकै समस्या छ। महिनावारी हुन्छ। प्याड किन्न पाइन्छ। तर, नुहाउन कठिन हुँदा आफ्नै शरीर घिन लागेर आउँछ। धेरै ग्राहो भयो। महिलाहरूको बेदना अझै के सुनाउ’, उनले भनिन्, ‘खान खानकै लागि पनि दुःख छ। एकैछिनमा बादल लाग्छ, हरर पानी पर्छ। त्रिपाल ओढेर बसेका छौं। भिजाउँछ। चिसो लुगाले बिरामी पार्छ।’

बेखर्ची हुँदै पीडित

सुस्ताकै अर्का महादेव तेलीलाई न्याय पाउनका लागि गरिरहेको संघर्षको व्यथा सुनाउन नपरे हुन्थ्यो भन्ने लाग्छ। तर, साहूले जीवनको खुसी लुटेर पीडा दिएकाले यो अवस्था आएको उनी सुनाउँछन्। अहिले उनी पनि माइतीघर मण्डलामा धर्नामा छन्। डेंगु फैलिएको छ। त्यसको डर उस्तै छ। राति सुत्दा लगाउने झुल छैन। उनी भन्छन्, ‘धेरै संघतियालोक (साथीहरू) बिमारी भयो। दरदवाई (औषधि) गराउनै प¥यो। पैसा छैन। के गर्ने ? परेसानी बढ्दै गएको छ।’

उनले गाउँकै साहू बनारसी जसवालसँग १२ लाख कर्जा लिएका थिए। उनलाई पाँच वर्षमा ३५ लाख फिर्ता गरे। तर, साहूले खेत पनि हड्पे। उल्टै अदालतमा उनीसँग अझै ६० लाख लिनु छ भन्दै मुद्दा हाले। न्यायको खोजीमा उनी गाउँबाट काठमाडौं आए। बेखर्ची भएर उनी समस्यामा छन्। वर्षा हुँदा दुःख छैन ? प्रश्न गर्दै उनले थपेँ, ‘धेरै दुःख छ।’ अहिले अधिकांश पीडित बिरामी पर्न थालेका छन्।

आन्दोलनमा लाग्दा खेत बाँझै, सरकार दुःख बुझ्दैन नलपरासीको प्रतापपुर–५ की किशोरी देवी चमार साहूले गरेको ठगीविरुद्ध असारदेखि नै आन्दोलनमा छिन्। असारमा धान खेती गर्न छाडेर धर्ना बस्न काठमाडौं आइन्। खेत बाँझै छ। रोपाइँ पनि गर्न पाइनन्। छोरोलाई मलेसिया पठाउन साहू जगदीश र सुनिल बानियाँसँग १ लाख ८० हजार कर्जा लिएकी थिइन्। साहूले उनीसँग ५ लाख ६० तिरायो। अझै १० लाख माग्दै छन्। नत्र तेरो १५ कट्ठा जग्गा लिलाम गराइदिन्छौ भन्दै धम्की दिइरहेको उनी बताउँछिन्।

मिटरब्याजीबाट पीडित बनेकाहरू माइतीघर मण्डलामा झरीमा पनि रुझेर धर्नामा सहभागी हुँदै। देशका विभिन्न स्थानबाट न्याय खोज्दै काठमाडौं आएका उनीहरूले आन्दोलन गरेको ३९ दिन भयो। सरकारले मागको सम्बोधन नगर्दा उनीहरू बिरामी पर्न थालेका छन्। तस्बिर : राजकरण महतो

मिटरब्याजीले दिएको पीडा कम छैन। आर्थिक मात्रै नभई उनीहरूले दिने मानसिक र शारीरिक यातना खप्न नसकेर तराई मधेसका पीडित नागरिक सरकार गुहार्न काठमाडौं आए। माइतीघरमा धर्ना बसेर आन्दोलन गरेको ३९ दिन भयो। झरीमा रुझ्दै, भोकै आन्दोलन गर्दागर्दै पीडितहरू बिरामी पर्न थालेका छन्। उनीहरू सरकारलाई प्रश्न गर्छन्, ‘के हाम्रो सरकार नभएकै हो ?’

‘न्याय माग्न माइतीघरमा बसेको छु। सरकार हाम्रो मागलाई सुन्दैनन्, हामीलाई देख्दैनन्। हाम्रो मन्त्री नेताहरू हामीलाई माइतीघरमा खोज्न आएको छैन। मेरो जनता कहाँ छन् ?’, उनी भन्छिन्, ‘चुनावमा भोटका लागि दैलोदैलो चाहार्छन् नेताजी। मेरो आमा हो, काका हो भन्छन् तर, जनताले खोज्दा नेता भेटिदैनन्।’

आन्दोलन लम्बिदा ऋणको बोझ

मिटरब्याजी विरुद्ध किसान, मजदुर संघर्ष समितिका सचिव उमाशंकर लोनियाँले आन्दोलनको दिन बढ्दै गएपछि पीडितहरू थप मर्कामा परेको बताउँछन्। ‘खानपिउनमा निकै समस्या भयो। पसल–पसलबाट हामी मागेर खान्छौं। सहयोग माग्दा ५, १० रुपैयाँ पाइन्छ। त्यसले हाम्रो खानपान पुग्दैन’, उनले भने, ‘किसान संगठनका साथीहरू कहिले चामल, दाल, तरकारी थोरै थोरै गरेर दिन्छन्। अहिलेसम्म सहयोग मागेर आन्दोलन चलाइरहेका छौं। यस्तो कहिलेसम्म हामी बाँच्ने ?’

पीडितहरू त्रिपाल टाँगेर कीर्तिपुरमा रातिको बास बस्छन्। माइतीघरबाट त्यहाँसम्म आवतजावत् गर्न बसको प्रयोग गर्छन्। ‘ओहोरदोहार गर्न प्रत्येक दिन बसलाई ३५ सय तिर्नु पर्छ। बस भएन भने पैदल हिँडेर ९ किलोमिटर आउने अवस्था छैन। महिला र बूढाबूढी धेरै छन्। हिँड्न सक्दैन’, उनले भने, ‘हामी बसको भाडा तिर्न सकिरहेका छैनौं। तर, सरकार हाम्रो माग किन सुन्दैन ?’

बस्ने ठाउँमा नुहाने व्यवस्था छैन। कतिको त ननुहाएकै १५ दिन भइसकेको सचिव लोनियाँ बताउँछन्। घरमा पीडा हुँदाहुँदै पनि पीडितहरू न्याय माग्न काठमाडौं आएका थिए। ‘हामी सोच बनाएर आयौं कि हाम्रो सरकारले पीडा सुनिदेला भन्ने थियो। तर, अहिलेसम्म सरकारले ठोस केही प्रक्रिया अपनाएको छैन। कानमा तेल हालेर बसिरहेको छ। हाम्रो पीडा यत्रो छ’, उनी आक्रोश पोख्दै सुनाउँछन्। सरकारले पीडितहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने समितिका अध्यक्ष रामसुरत गुप्ता बताउँछन्। मिटरब्याजीबारे अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले भदौ २७ गते सरकारलाई रिपोर्ट बुझाउने सुनेको उनी बताउँछन्। ‘प्रतिवेदन कस्तो आउँछ। त्यसलाई अध्ययन गरेर आन्दोलन बारे थप निर्णय लिन्छौं’, उनी बताउँछन्।

यस्ता छन् पीडितको माग

  • मिटरब्याजीले दृष्टिबन्ध गरेको सबै जग्गा फुकुवा हुनुपर्ने,
  • झुक्याएर पास गराएको जग्गा पीडितको नाममा फर्काउनु पर्ने,
  • जाली तमासुक सबै च्यात्नु पर्ने,
  • हिसाबभन्दा बढी लिएको पैसा फिर्ता गर्नुपर्ने,
  • र मिटरब्याजी पक्रेर जेल हाल्नु पर्ने,

‘न्यायलयमा पनि समस्या’

मिटरब्याजीहरूले अदालतमा हाल्ने मुद्दाको विषयमा न्यायलयमा पनि समस्या देखिएको पूर्वमन्त्री गिरिराजमणि पोखरेल बताउँछन्। ‘न्यायाधीशहरूले कागजहरूलाई हेरेर फैसला गर्नुहुन्छ। तर, मिटरब्याजीहरूले गरिबहरूलाई झुक्याएर थोरै दिएको ऋणको धेरै कागज गराएका हुन्छन्’, उनी भन्छन्, ‘त्यसैलाई आधार मानेर फैसला हुँदा पीडितहरू झन् पीडामा परेका छन्। जग्गाजमिन लिलामी भएर पनि जेलै परेका छन्।’ 

मिटरब्याजीहरूले दिएको पीडाबाट पीडितहरू भाग्नुपर्ने स्थिति आएको उनी बताउँछन्। ‘साहूहरूबाट डराएर पीडितहरूले उनीहरूको कतिपय सुन्नै नसक्ने खालमा शर्तहरू स्वीकारेका छन्। अहिले सहनै नसकेर बिस्फोट भएका छन्,’ पोखरेल भन्छन्, ‘गरिबहरूको सर्वस्व गुमिसकेको छ। सरकारले पीडितहरूलाई न्याय दिलाउनु पर्छ।’

नयाँ कानुन चाहियो

समय बदलियो। तर, कानुन पुरानै छ। मिटरब्याजीलाई जेल हाल्न नयाँ कानुन नै बनाउनुपर्ने आवश्यकता रहेको मिटरब्याजीविरुद्ध पीडितको पक्षमा लड्दै आएका महोत्तरीका शंकर महतो बताउँछन्। कागजी रूपमा मिटरब्याजी बलियो हुने गरेको उल्लेख गर्दै उनले त्यसको अन्त्यका लागि कानुन नै कडा बनाउनुपर्ने बताए। भन्छन्, ‘यस्ता सुदखोरबाट पीडित भएका गरिब, किसान र मजदुरहरूलाई न्याय दिलाउनका लागि कडा कानुनको जरुरी छ।’

श्याम परदेश जस्ता सर्लाहीका ठूला साहूविरुद्ध अभियान चलाएका मिश्रका पति डाचाराज वाग्लेको ढेड वर्षअघि रहस्यमय मृत्यु भयो। उनको सुनियोजित हत्या भएको पीडित मिश्र बताउँछिन्। पतिको मृत्युपछि सरस्वतीले महोत्तरीको बर्दिबासस्थित पञ्चधुरा आधारभूत विद्यालयको प्रधानाध्यापकबाट राजीनामा दिएर निरन्त पीडितहरूको पक्षमा अभियान चलाइरहेकी छिन्।

‘साहूले धनसँगै इज्जत पनि लुटे’

महोत्तरीको भंगहाका मिटरब्याजी अनुरुद साहले एक महिलालाई ऋण लिन घरमा बोलाई बन्दुक देखाएर पटक–पटक योन शोषण गरेको खुलेको छ। पीडित महिलाले उनीसंँग श्रीमान्लाई विदेश पठाउन ऋण लिएकी थिइन्। नक्कली तमसुक बनाएर एक कट्ठा जग्गा पनि हड्पेको र आफूलाई बन्दुक देखाएर यौन शोषण गरेको ती महिलाले बताएकी छिन्। पीडक साह अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। पीडित महिलाले भनिन्, ‘साहूले मेरो धन पनि लियो। बन्दुक देखाएर धर्म पनि लियो।’

मधेस प्रदेशमा गरिबीको उच्च समस्या भएकै कारण यस्तो अवस्था आएको पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल बताउँछन्। ‘जीवन सहज, खुसी बनाउन गरिब मजदुर किसानहरू साहूसँग ऋण लिन्छन्। उनीहरूमा चेतना पनि कम छ। यसको फाइदा साहूले उठाउने गरेका छन्,’ उनले भने।

‘सुरुमा साहूहरू सामाजिक, मानवीय संवेदना भएको, गरिबलाई सेवा गरिदिएको जस्तो व्यहार देखाउँछन्। तर, कालान्तरमा उनीहरू गरिबसँग गराएको फर्जी तमसुक देखाउँदै निर्मम, क्रुरुर, अमानवीय ढंगले प्रस्तुत हुन्छन्’, निरन्तर संसद्मा पीडितहरूको पक्षमा बोल्दै आएको उनले अन्नपूर्णसँग भने। २१ औं शताब्दीमा अमानवीय, कुरुर प्रथा कायम रहनु दुःख रहेको बताउँदै उनी थप्छन्, ‘यसपालिको नीति तथा कार्यक्रममा मिटरब्याजीबाट जनतालाई मुक्ति दिलाउने भनिएको छ। गृह मन्त्रालय मिटरब्याजीलाई अपराधको सूचीमा राखेको छ।’

सहयोग माग्दा ५, १० रुपैयाँ पाइन्छ। किसान संगठनका साथीहरू कहिले चामल, दाल, तरकारी थोरैथोरै गरेर दिन्छन्। यस्तो कहिलेसम्म हामी बाँच्ने ?
– उमाशंकर लोनियाँ, सचिव, मिटरब्याजी किसान, मजदुर संघर्ष समिति

आन्दोलनमा बस्दा हामिलाई निकै समस्या छ। महिनावारी हुन्छ। प्याड किन्न पाइन्छ। तर, नुहाउन कठिन हुँदा धेरै ग्राहो भयो। 
– पुष्षा उपाध्याय, पीडित, रामग्राम, नवलपरासी

सरकार हाम्रो मागलाई सुन्दैनन्, हामीलाई देख्दैनन्। हाम्रो मन्त्री नेताहरू हामीलाई माइतीघरमा खोज्न आएको छैन। मेरो नेता कहाँ छन् ?
– किशोरी देवी चमार,पीडित, प्रतापपुर, नवलपरासी

प्रतिक्रिया

सम्बन्धित समाचार