जितिया पर्व

महोत्तरी / पुत्रको दीर्घायुको कामनाका साथ तराईका महिलाहरुले मनाउने जितिया पर्व शुक्रबारदेखि सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको जितिया पर्व आइतबार बेलुका समापन हुने छ ।

एकदमै गार्‍हो पर्वको रुपमा मानिने जितिया पर्वमा महिलाहरु निराधार व्रतमा बस्ने गरिन्छ । आश्विन कृष्णपक्ष अष्टमीको तिथिमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात ब्रतलाई विधिवत् समापन गरिन्छ ।

मिथिलाञ्चलमा यो ब्रत गर्नेहरु एकदिन अघिदेखि ‘सधवा’अर्थात (श्रीमान जिवितै रहेको महिला) ले ‘माछ–मडुवा’(माछा र कोदो) खाने चलन छ भने विधवाले ‘अर्बा–अर्वाईन’ खाने चलन छ । जितिया ब्रतको शुरुवात हुनु अघि र अष्टमी तिथिको सुरुवातभन्दा पहिले चुडा दही खाने चलन छ जसलाई मैथिलीमा ‘ओठगन’भनिन्छ ।यस वर्ष ओठगन शुक्रबार राती बिहान पखको साढे तीन बजे पछि गरिएको  थियो  ।

पानीसम्म नखाई निराहार ब्रत बस्नुपर्ने भएकोले जितिया पर्व गर्न गार्‍हो छ र दुई दिनसम्म उपवास बस्नु पर्ने भएकोले अष्टमी तिथिको शुरुवात हुनु अघि दही चुरा टन्न खानुलाई मैथिली कथनले जोडेको छ । प्रायः अष्टमी तिथिको शुरुवात बिहान ३–४ बजे पछि हुने गर्दछ र त्यति बेला बाल बच्चाहरु सुतिरहेका हुन्छन् । त्यसैले मैथिलीमा भनिएको हो “जितिया पावनि बड भारी, धियापुता केँ ठोकि सुतेलनि अपने खएलनि भरि थारी”

निराहार बस्ने यो ब्रतमा अष्टमी तिथिको सुरुवात सँगै ब्रतालुहरु पोखरी, नदी तथा जलाशयमा स्नान गरि पुर्वतिर फर्केर तामाको अर्घामा अर्घ लिएर भगवान सुर्यलाई अर्घ दिन्छन् र तेल तथा पिना पनि चढाउँछन् । सँगै त्यो तेल र पिना आफ्नो पुत्रको टाउमा लगाई दिने प्रचलन छ ।

पुत्रको दीर्घायुको कामनाका साथ महिलाहरुले गाईको गोबरले आँगन लिपेर पवित्र पारी शालिबाहन राजाका पुत्र जिमुतवाहन कुशको प्रतिमा बनाएर कलशको जलमा स्थापना गरी कलशको चारैतिर सुसज्ज्ति पारेर पोखरीको निर्माण गर्छन् ।

त्यसपछि ‘पाकैर’अर्थात पाकरी रुखको हाँगा ल्याई त्यसलाई रुखको रुपमा रोपेर सो माथि माटोको ‘चिल्होरि’अर्थात बाझको आकृती बनाएर राखि अनि तल ‘गिदरनि’को आकृति बनाएर राखेर दुवैको टाउकोमा सिन्दुर लगाई फूलमाला, अक्षत, धुपदीप, नैवेद्य जसमा ‘केराउ र खिरा अनिवार्य राखिन्छ’सहित बाँसको पात राखि पुजा गर्नाले बंशको बृद्धि हुन्छ र पुत्रको जे जति ग्रह, चक्र भएपनि त्यसबाट मुक्ति मिल्ने साथै सबै प्रकारको मनोरथ पुराहुने जन विश्वास छ ।

यसैगरी जितिया ब्रतको पहिलो दिन ब्रतालु महिलाहरुले जिमुतबाहनको कथा सुन्ने र कथा बाचन गर्नेलाई दक्षिणा दिने चलन रहि आएको छ । असोज २ गते आइतबार बेलुकाको ५ बजे पर्वको समापन हुने छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार