मैले देखेको विभेदकारी जितिया

 रश्मिश्री सिंह

आठ वर्ष बितिसक्यो । यतिका वर्ष मैले कैयौँ आवाज सुनेँ । धेरैलाई मनन गरेँ । धेरै आवाजको त याद पनि छैन । झस्किन्छु त केवल एउटा आवाजले ‘ए, पर्ख पर्ख ! छोरीहरूले यो प्रसाद खानुहुन्न । अब तिमी ठुली भयौ । बुझ्ने भयौ । यो जितिया र जिमुतवाहनको मुख्य प्रसाद छोराले मात्र खानुपर्छ’ । यो आवाज जितिया व्रतको अन्तिम दिनको बिहानपख सुनेकी थिएँ ।

जितिया अर्थात् जीवितपुत्रीका व्रत । यो हिन्दु धर्मसंस्कृतिअनुसार मनाइने एक लोकप्रिय पर्व हो । नेपाल र भारतमा एकदमै प्रसिद्धि पाएको यो पर्व मुख्यतः नेपालको तराईवासी मधेसी महिला र थारु समुदायमा श्रद्धाभावका साथ मनाइन्छ । भदौको आइतबार अर्थात् ‘भदैया रैब’ पछि तराईका मधेसी र थारु महिलाहरूलाई जितियाको पर्खाइ हुन्छ । पुत्रवती महिलाहरूले यो पर्व अनिवार्य रूपमा मनाउनुपर्ने मूल्यमान्यता रहेकाले तराईका ५० प्रतिशतभन्दा बढी महिलाले जितिया पर्व नियम र निष्ठाका साथ मनाउँछन् ।

आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म मनाइने जितिया पर्वको सुरुआत द्वापर युगमा भएको मानिन्छ । पौराणिक कथाअनुसार महाभारत कालमा भगवान् श्री कृष्णले आफ्नो सम्पूर्ण पुण्य कर्म आर्जित गरेर उत्तराको गर्भमा हुर्किरहेको शिशुलाई जीवनदान दिएका थिए । त्यही शिशु ठुलो भएर राजा परीक्षित भए । यसैबेलादेखि नै आफ्नो पुत्रको दीर्घायु र कल्याणका लागि यो व्रत हरेक पुत्रवती महिलाले सकेसम्म अनिवार्य रूपमा नै गर्छन् ।

सप्तमीलाई नुहाएर खाने दिन भनिन्छ । जितिया पर्वको सुरुआत सप्तमीको दिनदेखि नै हुन्छ । जलाशयमा गएर पिना अर्थात् ‘खरी’ ले नुहाउनुपर्छ । साबुन प्रयोग गर्न नपाइने प्रचलन छ । जलाशयमा नै घिरौँलाको पातमा तोरीको तेल र खरी राखेर भगवान् जिमुतवाहनलाई चढाइन्छ । चढाएको तेल प्रसादस्वरूप आफ्नो पुत्रको टाउकोमा लगाइदिने गर्छन् । जलाशयबाट घर फर्केपछि घिरौँलाकै पातमा धानको च्युरा, दही, सक्खर, काँक्रो, तुलसीको पात आदि राखेर जिमुतवाहन र जितियालाई अर्पण गरिन्छ । त्यसपछि बल्ल खाना खाइन्छ । जितियाको जन्म सागमा भएको मानिन्छ । यसैले यो पर्वमा सागबाहेक हरेक खानेकुरा खान पाइन्छ ।

व्रतालु महिलाहरू यो पर्वसँग सम्बन्धित विभिन्न पौराणिक कथाहरू पनि सुन्ने गर्छन् । यो पर्व दुई किसिमको हुन्छ, एउटा जितिया र अर्को खर जितिया ।

व्रतालु महिलाहरू अष्टमीको दिन व्रत बस्छन् । अष्टमीको अघिल्लो रात नै दर अर्थात् ‘ओगठन’ खाने चलन छ । ओगठनमा मुख्यतः दही, च्युरा र अरू सात्त्विक भोजन गरिन्छ । ओगठन खानुपूर्व बेसारको पातमा दही, च्युरा, काँक्रो, केरा आदि राखेर जिमुतवाहन र जितियालाई चढाइन्छ । आफ्ना सन्तानलाई प्रसाद खुवाएपछि व्रतालु महिलाहरू ओगठन खान्छन् । यसै अवस्थालाई एउटा प्रसिद्ध पङ्क्तिमा अभिव्यक्त गरिएको छ ।

‘जितिया पावन बड भारी
धियापुताके ठोक सुतौलेन
अपने खेलैन भैर थाली’

ओगठन खाएपछि व्रतालु महिलाहरू निर्जला उपवास बस्छन् । ३६ घण्टा थुक निल्न, कीराफट्याङ्ग्राहरू मार्न र तरकारीहरू पनि काट्न मिल्दैन ।

नवमी सुरु भएसँगै व्रतालु महिलाहरू पवित्र भएर फेरि बेसारको पातमा दही, च्युरा, केरा, लड्डु, सक्खर, काँक्रो, तुलसीको पात इत्यादि राखेर जिमुतवाहन र जितियाको नाममा चढाएपछि बल्ल आफ्नो व्रत तोड्छन् । व्रतालु महिलाहरू यो पर्वसँग सम्बन्धित विभिन्न पौराणिक कथाहरू पनि सुन्ने गर्छन् । यो पर्व दुई किसिमको हुन्छ, एउटा जितिया र अर्को खर जितिया ।

खर जितियामा अविवाहित महिलाहरू पनि व्रत बस्छन् । यो पर्वमा २४ घण्टा उपवास बस्नुपर्ने भए पनि कहिलेकाहीँ तिथिको हेरफेर हुँदा ३६ घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ । त्यसैले यस पर्वलाई महान् पर्वको रूपमा लिइएको हो । थारु समुदायमा भने यो पर्व नाचगान र हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

दिवङ्गत महिलालाई तर्पण

पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिए जस्तै जितियामा महिलाले तीन पुस्ताभित्रको नाता पर्ने दिवङ्गत महिलालाई तर्पण दिन्छन् । त्यो तर्पणको पहिलो हकदार आमा हुन्छिन् । आमा जिउँदै भएका व्रतालुले दिवङ्गत अरू महिलालाई तर्पण दिन नमिल्ने नियम छ ।

जितिया र जिमुतवाहनलाई अर्पण गरिएको मुख्य प्रसाद छोराले खानुपर्छ अर्थात छोरालाई मात्रै दिनुपर्छ भन्ने चलन छ । तर दिवङ्गत आफन्तलाई अर्पण गरिएको प्रसाद छोरीहरूले खानुपर्ने चलन छ ।

जसरी जितिया र जिमुतवाहनका लागि एउटा पातमा जितिया र अर्को पातमा जिमुतवाहन गरी दुई ठाउँमा हरेक तिथिका दिन प्रसाद चढाइन्छ, त्यसरी नै दिवङ्गत आफन्त (आमा, हजुरआमा तथा सासु, सासुको सासु आदि) महिलाहरूका लागि पनि पातमा च्युरा, दही, सक्खर, काँक्रो, केरा इत्यादि छुट्ट्याइन्छ । हरेक व्रतालु महिलाले जितिया र जिमुतवाहनका लागि मुख्य प्रसाद छुट्ट्याएका नै हुन्छन् तर दिवङ्गत आफन्त महिलालाई तर्पण दिने नियम अनिवार्य छैन ।

जितिया र जिमुतवाहनलाई अर्पण गरिएको मुख्य प्रसाद छोराले खानुपर्छ अर्थात छोरालाई मात्रै दिनुपर्छ भन्ने चलन छ । तर दिवङ्गत आफन्तलाई अर्पण गरिएको प्रसाद छोरीहरूले खानुपर्ने चलन छ । छोरीसँगै श्रीमान्, जेठाजु आदिले पनि खान मिल्छ । अंश र वंशको सुख, समृद्धि र कल्याणका लागि आशीर्वाद दिन मात्र तर्पण गरिन्छ भन्ने मान्यता रहेको छ ।

वास्तवमा जितिया हिन्दु धर्मसंस्कृति उजागर गर्ने एउटा अभिन्न पर्व हो । विभिन्न ठाउँमा विभिन्न तरिकाले यो पर्व मनाइए पनि छोराको कल्याण, सुख, समृद्घि, दीर्घायु र मानसम्मान नै मुख्य विशेषता रहेको छ । विभिन्न समुदायमा जितिया मनाउने तरिका फरक फरक भए पनि यो पर्व छोरा केन्द्रित छ । यो पर्वले छोरा र छोरीमा विभेदकारी नीति अपनाएको पाइन्छ । प्रसाद ग्रहण गर्ने कुरादेखि लिएर यो पर्वको महत्त्वसम्म नै छोरा र छोरीबिच ठुलै हदसम्म भेदभाव गरेको छ ।

दुई वटा बेसारको पातमा प्रसाद थियो र हामी दुई दिदीभाइ थियौँ । प्रसादको पात उठाउनै लाग्दा एउटा आवाज आयो “ए, पर्ख पर्ख ! छोरीहरूले यो प्रसाद खानुहुन्न । अब तिमी ठुली भयौ । बुझ्ने भयौ । यो जितिया र जिमुतवाहनको मुख्य प्रसाद छोराले मात्र खानुपर्छ ।” म झस्किएँ ।

तर मुख्य प्रसाद नै खाएँ

यो पर्व मेरा लागि पनि अरू सामान्य पर्व जस्तै हुन्थ्यो होला तर केही वर्षअघि जितिया मेरा लागि संस्कृतिको विषय होइन, ‘सोचाइ र विभेद’ को विषय बन्न पुग्यो । ८ वर्ष पहिले नवमीका दिन आमाले जितिया र जिमुतवाहनका लागि प्रसाद चढाउनुभयो र भाइलाई उठाउन पुग्नुभयो । भाइले आशीर्वाद लियो । म पनि आशीर्वाद लिन पुगेँ । अब प्रसाद खाने पालो आयो । मेरो घरमा दिवङ्गत माताहरूलाई तर्पण दिइन्न । त्यही भएर दुई वटा बेसारको पातमा प्रसाद थियो र हामी दुई दिदीभाइ थियौँ । प्रसादको पात उठाउनै लाग्दा एउटा आवाज आयो “ए, पर्ख पर्ख ! छोरीहरूले यो प्रसाद खानुहुन्न । अब तिमी ठुली भयौ । बुझ्ने भयौ । यो जितिया र जिमुतवाहनको मुख्य प्रसाद छोराले मात्र खानुपर्छ ।”

म झस्किएँ । आमालाई पूजाका लागि सबै कुरा ठिक पारिदिने म नै थिएँ । बिहान उठेर भ्याएसम्म आमालाई सहयोग गरेकी थिएँ । आमा पनि एकछिन अक्क न बक्क हुनुभयो । बाबा पनि गहिरो सोचमा पुग्नुभयो । सानैदेखि एउटा घिरौँला/बेसारको पात मेरा लागि र अर्को भाइका लागि छुट्ट्याइएको हुन्थ्यो ।

मनमनै सोच्न थालेँ, अघिदेखि यो पर्वका लागि तयारी गर्ने म अर्थात् छोरी । ममीसँगै बिहान उठ्ने छोरी । व्रत खोल्ने दिन पनि मिठोमसिनो खाना पकाएर खुवाउने छोरी । व्रतको बेला दिनरात चिन्ता गर्ने पनि छोरी । अनि प्रसाद चाहिँ छोराका लागि मात्र ? यो प्रश्न धेरै बेरसम्म मनभित्र लुकाएर राख्न सकिनँ । यता म सोचमा थिएँ उता चाहिँ बाबाआमा र अरू महिलाहरूबिच यही कुरामा बहस भइरहेको थियो ।

आफू जागरूक परिवारको भएर हो कि आमाबाबाको माया संस्कृतिभन्दा माथि पाएकी छु । त्यही भएर होला अरूले जे भने पनि मैले पनि ‘मुख्य प्रसाद’ नै खाएँ ।

त्यसपछि म त्यहीँ सबै जना भएकै ठाउँमा पुगेँ । सबैका कुरा सुनिरहेकी थिएँ । कुरा अन्तिममा कहाँ अड्कियो भने ‘छोरीहरूले दिवङ्गत आमाहरूलाई दिइएको तर्पण मात्र खान पाउँछन् नत्र कुल र वंशमा असर पर्छ’ । यस्तै नानाथरी कुरा गर्न थाले । म निकै डराएँ पनि र त्यतिबेला आफ्नो लागि खडा हुनसक्ने न त बुद्धिको विकास भइसकेको थियो न त सामथ्र्य । किनकी म १२ वर्षकी थिएँ, ८ कक्षामा पढ्दै थिएँ । यस्तो परिस्थितिमा बढीमा बढी आफ्नो चित्त दुखाएर रुन सक्थेँ । मनमा कमजोर शिक्षा र कुसंस्कृतिको ओइरो बढी बलियो देखेँ ।

आफू जागरूक परिवारको भएर हो कि आमाबाबाको माया संस्कृतिभन्दा माथि पाएकी छु । त्यही भएर होला अरूले जे भने पनि मैले पनि ‘मुख्य प्रसाद’ नै खाएँ । ‘जे हुन्छ हेरौँला बरु एउटा पातको प्रसाद तिमी नि खाऊ’ भन्दै अन्त्यमा आमाले एउटा पात मेरो अगाडि राखिदिनुभयो । प्रसाद त खान पाएँ तर त्यतिबेलाको घटनाले मष्तिस्कमा एउटा नराम्रो छाप छोडेर गयो । जितिया भन्नेबित्तिकै अहिले पनि त्यही घटनाले सताउँछ । मेरो त आमाबाबाको दुई सन्तान म र भाइ छौँ । हामी दुवै जना आमाले दिएको ‘मुख्य प्रसाद’ खान्छौँ । आमाले पनि केही हुँदैन भनेर दिनुहुन्छ ।

अहिलेसम्म यसरी मनाइन्छ जितिया पर्व

जितिया पर्वकै बारेमा सोध्दासोध्दै मेरो घर भएको महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ११ का धेरै महिलाहरूको मानसिकता बुझ्ने मौका पनि पाइयो । मैले त्यहाँका १०–१२ जनासँग सामूहिक तथा व्यक्तिगत रूपमा कुरा गर्दा जितियाको बारेमा धेरै कुरा बुझ्न पाएँ । मैले कैयौँ पटक यस पर्वलाई समानताको बाटोतिर मोड्ने कोसिस पनि गरेँ तर पहिलेदेखि चलिआएको मूल्यमान्यताले संस्कृतिको नाममा सन्तानबिच समानता दर्शाएन । अहिलेका आमाहरू पनि अधिकांशले त्यही विभेदकारी संस्कृतिलाई नै अघि बढाइरहेका छन् ।

यसै क्रममा मैले एक जनालाई एउटा प्रश्न सोध्न पुगेँ, “तपाईंको पाँच जना छोराछोरीमध्ये दुई छोरा अनि तीन छोरी छन् भने प्रसाद कसरी बाँड्नुहुन्छ ?” प्रश्न सकिन नपाउँदै जवाफ आयो, “दुई छोरा छ भने दुई छोराहरूलाई नै प्रसाद दिन्छु ।” मैले थप प्रश्न गरेँ, “अनि छोरीहरूले नमानेर खान खोजे भने के गर्नुहुन्छ ?” जवाफ आयो, “बेग्लै पातमा सबै खानेकुरा राखेर दिन्छु ।” छोरीले आग्रह गरे भने कतिपय आमाहरूले यस्तो चतुर्‍याइँ गर्दा रहेछन् । कसैको आफ्नो छोरा छैन भने भतिजा वा दाजुभाइका छोराहरूलाई प्रसाद दिने चलन छ ।

विभेदलाई स्विकार्दै आमाहरू

अझै पनि संस्कृतिको नाममा हरेक महिला, जो आमा पनि हुन्, उनीहरूले जितिया पर्वभित्रको कुसंस्कृतिलाई स्वीकार गरिरहेका छन् । छोरीहरूले चाहिँ दिवङ्गत महिला (आमा) को तर्पण खानुपर्छ, हाम्रो चलन नै यही हो भन्ने पनि सुनिएको छ । यस्ता कतिपय सांस्कृतिक चाडपर्वहरूबाट महिला र पुरुष अथवा छोरी र छोरामा पक्षपातपूर्ण अभ्यास अघि बढिरहेको छ ।

सन्तानप्रति आमाको माया र ममतामाथि संस्कृति हाबी भएको देख्दा आमा शब्दकै शिर निहुरिएको पाउँछु । त्यसैले जितिया पर्वको ‘मुख्य प्रसाद’ छोरालाई मात्र होइन, आफूले जन्म दिएका सबै सन्तानलाई खुवाऔँ ।

नेपाल संस्कृति र परम्परामा निकै धनी देश हो । यस्ता सांस्कृतिक चाडपर्वलाई विशेष गरी आमा तथा दिदीबहिनीहरूले नै विशेष रूपमा मनाउँदै निरन्तरता दिइराख्नुभएको छ । जितिया जस्तै अरूमा पनि आफ्नो परिवारका पुरुष सदस्यहरूको दीर्घायु र कल्याणका लागि महिलाहरूले व्रत बस्ने गरेको देखिन्छ । त्यस्तै एउटा पर्व हो तीज, जुन केही दिनअघि मात्रै मनाइयो । हुन त व्रत आफ्नो स्वेच्छाको कुरा भनिएला र हो पनि तर जितियाकै कुरा गर्दा त आमाले आफ्नै सन्तानबिच विभेद गरेर परम्परालाई निरन्तरता दिइरहेका छन् ।

संस्कृतिले त छोरीलाई बहिष्कार गर्‍यो गर्‍यो तर आमाहरूले चाहिँ आफ्ना सन्तानहरूकै बिचमा भेदभाव गरेर प्राप्त गर्ने धर्म कस्तो होला त ? अथवा आफ्नै सन्तानबिच विभेद गर्नु पनि पाप होइन र ? सन्तानप्रति आमाको माया र ममतामाथि संस्कृति हाबी भएको देख्दा आमा शब्दकै शिर निहुरिएको पाउँछु । यो परम्पराले ‘आमा’ शब्दकै अस्तित्वमाथि ठुलो प्रश्न खडा गरेको छ । त्यसैले जितिया पर्वको ‘मुख्य प्रसाद’ छोरालाई मात्र होइन, आफूले जन्म दिएका सबै सन्तानलाई खुवाऔँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार