सर्लाही – नेपाल पत्रकार महासंघ सर्लाही शाखाको भवन निर्माणको लागि पत्रकार महासंघ सर्लाही शाखाका पुर्व उपाध्यक्ष बख्तियार अलीले १ लाख २१ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
महासंघ सर्लाही शाखाले बुधबार हरिवन नगरपालिका स्थित कैलाशपुरीमा आयोजना गरेको नयाँ वर्ष वि.स. २०७८ सालको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टंक क्षेत्रीलाई सो–रकमको चेक हस्तान्तरण गरेको हो । उक्त रकम जिल्ला समन्वय समिति सर्लाहीले प्रदान गरेको मलंगवा नगरपालिका वडा नं. १० स्थित निर्माणाधीन अवस्थामा रहेको भवनको निर्माणकार्यमा खर्च गरिने अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
संघसँग आफ्नो स्थापना कालदेखिनै कार्यालय संचालन गर्न एउटा छुट्टै भवनको अभाव रहेको अवस्थामा आफु कार्यसमितिमा रहँदा जिल्ला समन्वय समिति सँग निर्माणाधीन अवस्थामा रहेको भवन संघको लागि माग गरेको र अब आफु पदमा नरहे पनि उक्त भवनको निर्माणकार्य पूरा भएर कार्यालय संचालन भएको देख्न चाहेकोले सहयोग स्वरुप सो रकम वर्तमान अध्यक्ष मार्फत महासंघलाई प्रदान गरेको पुर्व उपाध्यक्ष अलीले बताउनुभयो । साथै उहाँले आफ्नो साथ र सहयोग हलपल महासंघको साथमा रहने भन्नुभयो ।
अलीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा संघका सदस्यहरुलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै आ–आफ्नो पदिय जिम्मेवारी राम्रो सँग निर्वाह गर्न सुझाव दिनुभयो ।