Monday 13th of January 2025

जिम्बाबेका पूर्वक्रिकेट कप्तानमाथि ८ वर्षको प्रतिबन्ध

0 Shares

काठमाडौं / जिम्बाबेका पूर्वकप्तान तथा फास्ट बलर हीथ स्ट्रिकमाथि इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले आठ वर्षको प्रतिबन्ध लगाएको छ । उनीविरुद्ध आईसीसीको एन्टी करप्शन कोड पाँचपटक तोडेको आरोप थियो । स्ट्रिकले यो आरोप स्विकारेका छन् ।

२००५ मा खेलाडी जीवनबाट सन्यास लिएपछि उनी प्रशिक्षक बनेका थिए । २०१७ र २०१८ को अवधिमा भएका प्रतिस्पर्धामा स्ट्रिकको भूमिका शंकास्पद देखिएपछि छानविन चलिरहेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट तथा आईपिएल, बीपीएल, अफगानिस्तान प्रिमियर लिगलगायतका टी–२० प्रतिस्पर्धामा उनको भूमिका शंकास्पद देखिएको थियो । आफु प्रशिक्षक रहेका टोलीका खेलाडीहरुलाई म्याच फिक्सरहरुसँग मिलाइदिने गरेको आरोप पनि उनीविरुद्ध लागेको थियो ।

खेलाडीहरुलाई भ्रस्टाचारीसँग गराउँथे भेट
स्ट्रिकमाथि आफ्नो टिमका खेलाडीहरुलाई भ्रस्टाचारीहरुसँग मिलाउने गरेको आरोप थियो । सुरुमा यो आरोप अस्विकार गरेपनि अन्तत उनले गल्ती स्विकारेका थिए । आईसीसीका जनरल म्यानेजर एलेक्स मार्शलले भने, ‘हीथ स्ट्रिक धेरैवटा भ्रस्टाचारका घटनामा संलग्न रहेको पाइएको छ । पद तथा नियमको गरिमा विपरीत छ भन्ने थाहा हुँदाहुँदै उनले यस्तो गरेका थिए ।’

सूचना लिक गरेको आरोप
स्ट्रीकविरुद्ध खेलका सुचना लिक गर्ने गरेको आरोप पनि छ । उनीविरुद्ध २०१८ मा आईपिएल, ट्राई सिरिज (श्रीलंका, जिम्बाबे र अफगानिस्तान सहभाग) र अफगानिस्तान प्रिमियर लिगसँग जोडिएका सुचना लिक गरेको आरोप छ ।्
आईसिसीका अनुसार उनले चार खेलाडीहरुलाई म्याच फिक्सरहरुसँग मिलाएका थिए । त्यसमध्ये एक खेलाडी कुनै देशका कप्तान समेत हुन् । यसबापत उनलाई महँगा उपहार मिलेको थियो । यस उपहारमा दुुईवटा बिटक्वाईन पनि समावेश छ । उनले ३५ हजार डलरमा यो बिटक्वाईन साटेका थिए । त्यस्तै, स्ट्रीककी पत्नीलाई फिक्सरहरुले आईफोन पनि गिफ्ट गरेका थिए ।

 

प्रतिक्रिया