Saturday 12th of October 2024

प्रदेश २ को नाम र राजधानीको प्रस्ताव आह्वान

0 Shares

जनकपुरधाम – प्रदेश २ सरकार गठन भएको ३ वर्ष भन्दा बढी समय भए पनि नाम र राजधानीको विषयमा निक्र्यौल लगाउन नसकेपछि प्रदेशसभा सचिवालयले दोस्रो पटक प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेश सरकारको कार्यकालको डेढ वर्ष मात्रै बाँकी रहेको समयमा नाम र स्थायी राजधानीको विषयमा प्रदेश सरकारले निक्र्यौल लगाउन नसकेकाले सचिवालयले फेरि प्रस्ताव दर्ताका लागि आह्वान गरेको हो ।

प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउनका लागि आह्वान गरेको हो ।

सचिवालयका अनुसार प्रस्ताव प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दल वा प्रदेशसभा सदस्यले प्रस्ताव दर्ता गराउन सक्नेछन् ।

जारी गरिएको सूचनामा वैशाख ९ गते दिउँसो ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव दर्ता गराउन भनिएको हो।

यसअघि वि.सं. २०७६ साल चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो ।

प्रदेशसभामा नामसम्बन्धी चार वटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो। तर नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावमध्ये कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत आउन सकेको थिएन ।

यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो ।

नेपाली कांग्रेसले मिथिला भोजपूरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए ।

तत्कालीन नेकपाले जानकी नाम प्रस्ताव दर्ता गराएको थियो ।

प्रतिक्रिया