महोत्तरी – गर्मी बढेसँगै महोत्तरीको गौशाला सहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि गौशाला नगरपालिकाले समयमा औषधि नछर्किदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो ।
नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढदै गएको गौशालाका स्थानीयवासी विष्णु कुमार महतोले बताए ।
सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा गौशाला नगरपालिका अन्तर्गतका १२ वटै वडा एकजुट भएर लाग्नुपर्ने अर्का स्थानीयवासी अजय कुमार साहले बताए ।
उचित सरसफाइ हुन नसक्दा गौशाला बजार क्षेत्र तथा टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ ।
गौशालाको बजार क्षेत्र र टोल बस्तीमा नियमित सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानीयवासीको अनुमान छ ।