इजिप्‍टमा रेल दुर्घटना: ११ को मृत्यु, ९८ घाइते

कायरो: इजिप्टमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । ९८ जना घाइते भएका छन् ।

अलजजिराका अनुसार आइतबार राजधानी कायरोबाट १८ माइल उत्तरतर्फ क्वालुबेया प्रान्तस्थित बान्हामा रेल दुर्घटना भएको हो । घटनाबारे पूर्ण विवरण आउन बाँकी नै छ । उद्धार कार्य अहिले पनि जारी छ ।

घाइतेको संख्याबारे पनि यकिन भइसकेको छैन । वासिंटन पोस्टसहित केही मिडियाले १०० जना घाइते भएको जनाएका छन् । दुर्घटनामा मृतकको संख्या अझै बढ्नसक्ने बुझिएको छ ।

घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । तर १४ जना भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । राजधानी कायरोबाट अल मन्सुरातर्फ जाँदै गर्दा रेल दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया