भक्तपुर-२ दुर्लभ निर्वाचित, महेश पराजित

गौशाला, मंसिर ८ गते ।

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापाले नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका छन् ।

बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् ।

यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भएको छ ।

भक्तपुर–२ मा वि.सं .२०४६ मा बहुदल पुनःस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् ।

वि.सं. २०४८ मा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा यसपछि क्रमश वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, ०५६ को निर्वाचनमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, ०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।

प्रतिक्रिया