सप्तरी १(१) मा एमालेका लेखी विजयी

राजविराज : सप्तरीको प्रदेश सभा १ (१) मा नेकपा (एमाले) का राजकुमार लेखीले विजय हासिल गरेका छन् । मतगणनाअनुसार एमालेका लेखी १४ हजार २९१ मतका साथ विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १, कञ्चनरुपका अनुसार प्रदेश सभा सदस्यमा लेखी ५ हजार १९८ मतान्तरले निर्वाचित भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले ९ हजार ९३ मत प्राप्त गरे । पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बेचनप्रसाद चौधरीले ७ हजार ५७२ मतमा चित्त बुझाए । गत प्रदेश सभाको निर्वाचनमा उक्त क्षेत्रबाट एमालेका सत्यनारायण मण्डलले विजयी हासिल गरेका थिए । प्रतिनिधिसभा तर्फ सप्तरी १ मा जसपाका नवलकिशोर साहले १७ हजार ८३४ मतका साथ अग्रता बढाएका छन् । साहलाई जनमत पार्टीका जयकान्त राउतले १४ हजार ८८७ मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसका रामदेव साहले १२ हजार ५९३ मत ल्याएका छन् ।

हालसम्म घोषित परिणाम अनुसार सप्तरीमा जनमत पार्टीले १ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्यमा जित निकालेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)ले १/१ प्रदेश सभा सदस्यमा जित हासिल गरेको छ । बाँकी प्रतिनिधि सभा १ मा जसपाका साह तथा क्षेत्र ३ र ४ मा कांग्रेसका क्रमशः दिनेशकुमार यादव र तेजुलाल चौधरीले अग्रता कायम राखेका छन् ।

त्यस्तै प्रदेश ४ (१) मा नेकपा (एस) का गोबिन्द बहादुर न्यौपाने र ४ (२) मा स्वतन्त्रका अनिरुद्धकुमार यादवले अग्रता कायम राखेका छन् ।

प्रतिक्रिया