रौतहटमा आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

सञ्जय कुमार मिश्र
गौर, मङ्सिर ८ गते ।
 रौतहटको गौरमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुने बालबालीकै एकै परिवारको रहेको प्रहरीले जनाएको छ ।

बुधबार राति गौर नपा १ मेनरोडस्थित इस्लाम अन्सारीको सिरक डसना पसलमा आगलागी हुँदा तीन जना बालबालिकाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यस्तै आगलागीबाट लगभग ४० लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको जनाइएको छ ।

अन्सारीको पसलसँगै घरमा अचानक आगलागी हुँदा घरमा सुतिरहेको अवस्थामा ९ वर्षीया छोरी रोक्साना खातुन, ७ वर्षीय छोरा ईमरान मन्सुरी र ५ वर्षीया छोरी सबाना खातुनको मृत्यु भएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताउनुभयो ।

आगलागीमा परेर रसुल मियाको २४ वर्षीया छोरी नसिम खातुन, २५ वर्षीय मोहम्मद इसराइल र ८ वर्षीय मोहम्मद ईमरान घाइते भएको तथा उनीहरुको प्रादेशिक अस्पताल गौरमा उपचार भइइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

आगलागीबाट घर टहरा, पसलका सिरक, डसना, कपडालता गरी २० लाखको क्षति भएको तथा जाकिर आलमको मोटरसाइकल ग्यारेजमा २० वटा मोटरसाइकल जलेर लगभग ४०लाखको क्षति भएको पिडितहरुले जनाएको छ ।

गौर नपाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानियवासीहरुको सहयोगमा २ घण्टापछि आगलागी नियन्त्रणमा आएको र आगलागीको कारण खुल्न नसकेको घटनाबारे छानविन भइरहेको प्रहरी उपरीक्षक बुढामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया