Sunday 3rd of November 2024

कोरोनाले महोत्तरीमा पनि गति समात्न थाल्यो,नाकामा छैन स्वास्थ्य जाँचको व्यवस्था

0 Shares

रञ्जन भण्डारी, जलेश्वर / दोस्रो चरणमा देखिन थालेको कोभिड संक्रमणको मारबाट महोत्तरी समेत अछुतो रह्न सकेको छैन । खुल्ला सिमा र जिल्ला भित्र समेत कोरोना सतर्कता नअपनाउदा महोत्तरीमा चैत्र र वैशाखको पहिलो साता भित्र कोरोना संक्रमितको संख्या २० पुगेको छ । २० मध्ये ७ जना गत वर्ष चैत्र महिनाकै भएको र उनीहरु निको भैसकेको र हाल सकृय कोरोना संक्रमितको संख्या १३ रहेको जिल्ला कोभिड रोकथाम तथा नियन्त्रणका स्रोत व्यक्ति प्रतिभा सिंहले वताईन । उनले सवै संक्रमितको अवस्था सामान्य रहेको बताएकि छिन ।

यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटटराईले संक्रमितहरु होम आईसोलेसनमा रहेकोमा दोस्रो चरणको कोरोना सुरु भैसकेको र यसले पुनः विकराल रुप लिन सक्ने भन्दै सवैलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन । प्रजिअ भटटराईले सोमवार नै सवै पालिका प्रमुखहरुसंग छलफल रहेको र सिमानाकाका पालिकाहरुमा उच्च सतर्कता अपनाउन विभिन्न गृहकार्य सुरु भैसकेको वताएका छन । उनले अव पनि गम्भिर नभए महोत्तरी कोरोनाको चपेटामा पर्दै जाने भएकोले सिमामा समेत कडाईको तयारी भैरहेको वताए ।

उनले जिल्ला स्वास्थ्य कार्यालयसंग गत साता नै विभिन्न सुचना र जानकारी मांगेपनि हालसम्म उपलब्ध नभएको बताउदै सुचना र जानकारीको लागि ताकेदा गरिरहेको वताउदै कोरोनासंग लड्ने मुख्य कार्यालय नै सुस्त भएको वताउदै उक्त कार्यालयलाई एक्टिभेट गर्न लागि परेको वताए । जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख नगेन्द्र प्रसाद चौधरीको यसै महिनाको दोस्रो साता जागिर अवधी समाप्त हुन लागेकोले समेत कोरोना नियन्त्रण तथा रोकथामको कार्यक्रमहरुले गति लिन सकेको छैन ।

सिमामा छैन स्वास्थ्य जाँच ः

यता महोत्तरी र भारतको विचमा रहेको सिमानाकाहरुमा कुनै स्वास्थ्य जाँचको व्यवस्था रहेको छैन । मुख्य नाकाहरु नामकै लागि बन्द रहेपनि छेउबाट निर्वाधरुपमा आवत जावत भैरहेपनि आउने जाने यात्रीहरुको स्वास्थ्य परिक्षण हुन नसक्दा महोत्तरी कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । त्यसतै भन्सारमै भारतबाट आउने विभिन्न मालवस्तु वाहक सवारी साधन र चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षणको कागजात समेत भारतले नै दिने गरेको र उक्त कागजकै आधारमा उनीहरुको नेपालमा निर्वाध आगमन हुने गरेको छ ।

कोरोना लक्षित राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजना गरिएको छलफल कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुरेश प्रसाद सिंहले समेत महोत्तरी कोरोनाको चपेटामा पर्दै गएकोमा भए भरको उपलब्ध साधन स्रोत र जनशक्तिकै प्रयोग गरेर भएपनि नियन्त्रणको प्रयास थालिसक्न आग्रह गरे । उनले अझै सचेत नभए गत वर्षकै हाल हुने बताउदै स्थानिय,प्रदेश र केन्द्र सरकार समेतले कोरोनालाई कम आकलन गर्न नहुने वताए ।

महोत्तरीमा गत वर्ष नै कोरोना उपचारको लागि पाच वेडको आईसियु व्यवस्थापन भएपनि जनशक्ति अभावमा उक्त आईसियु हालसम्म संचालन हुनै सकेको छैन भने गत वर्ष नै सुरु भएको सय वेडको आईसोलेसन सहितको कोरोना विशेष अस्पताल समेत तत्काल जलेश्वरमा संचालनमा छैन । कोभिड प्यानडेमिकको समय उक्त अस्पतालमै खटेका कर्मचारीहरुको चार महिनाको तलव अझै सरकारले तिर्न नसक्दा उनीहरु समेत विभिन्न चरणवद्ध आन्दोलनहरु गर्दै आएका छन । कोरोना अस्पतालको सवै संरचनाहरु हटाएर हाल जलेश्वर अस्पताल सोहि भवनमा संचालनमा रहेको छ । यता कुनै स्थानिय तहमा क्वारेन्टाईन तथा आईसोलेशन संचालनमा रहेको छैन ।

प्रतिक्रिया