विजयकुमार सिंह
बर्दिबास : महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी भएका हुन्।
महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पराजित गरेका हुन्। प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले-जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका हुन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित महतो खरो रूपमा प्रस्तुत हुने एक परिवर्तनको सम्बाहकका रूपमा परिचित छन्। क्रान्तिकारी स्वभावका उनी यहीँ क्षेत्रबाट दोस्रोपटकको प्रयासमा प्रतिनिधिसभा सदस्यमा जित्न सफल भएका छन्।
तत्कालीन निगौल गाउँ विकास समितीमा ५८ वर्षीय महतो समान्य किसान परिवारमा जन्मिएका थिए। उनका बुवा रामचन्द्र महतो र आमा निर्सी देवी खेतीपाती गरेर गुजारा गर्थे। पाँच दाजुबहिनीमध्ये उनी साइला हुन्। उनलाई धेरैले ग्रामीण भेगमा मुखियाजी भनेर चिन्छन्। २०४८ सालको प्रजातान्त्रिक आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए। नेपाली कांग्रेसमा सक्रिय हुँदाहुँदै २०५४ सालको स्थानीय निर्वाचनमा पनि टिकट पाएनन्। समर्थकले उनैलाई चुनाव लड्न दबाब दिए।
खरो र सत्य बोल्ने हुँदा कांग्रेसले टिकट नदिएको उनी सम्झिन्छन्। यद्यपी स्वतन्त्रबाट चुनाव लड्दा महतोले कांग्रेस, एमाले र राप्रपाका बलिया उम्मेदवारलाई हराए। बहुमत नहुँदा पनि गाविसमा उनले पाँच वर्षे कार्यकालमा ऐतिहासिक काम गरे। २०५६ सालमा जिल्ला विकास समिति महोत्तरीले जिल्लाको ७६ गाविसमध्ये निगौल गाविस उत्कृष्ट गाविस चुनिए। महतोको त्यो बेला न्याय र किसानका लागि गरेको कामको चर्चा अझै हुने गरेको छ।
पछि हुँदाहुँदै उनी दानका लागि पनि चर्चामा आइरहे। जो पढ्न चाहन्थे, उपचारमा समस्या हुन्थ्यो उनीहरूमध्ये कयौँलाई उद्धार गरेर पढाई र उपचार गराइदिएको उदाहरण छ। दान र इमान्दार राजनीतिका कारण उनको आयस्रोत कम हुँदै गयो। २०५८ सालतीर बैंकले उनको जग्गा नै लिलाम गर्यो। पछि उनका छोराले व्यवसाय सम्हाल्न थाले। उनले गरिब विपन्न र समाजलाई परेको बेला आर्थिक सहयोग गर्नबाट कहिल्यै पछि परेनन्।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएपछि लक्ष्मी उम्मेदवारी दिने तरखरमा थिए। महतोको लोकप्रियताकै कारण नेकपा एमालेले उनलाई टिकट दिएर उम्मेदवार बनाउन तयार भयो। मधेस केन्द्रित दलहरू विचारको राजनीति छोडिसकेपछि आफु एमाले प्रवेश गरेर यहाँका उत्पीडित र गरिब जनताका लागि चुनावी मैदानमा आएको उनको भनाई छ।