
काठमाडौं : निर्वाचनको परिणाम अन्तिम चरणमा रहेको छ। यससँगै संघ र प्रदेशमा सरकार गठनका लागि प्रमुख पार्टीहरुले छलफल तीव्र पारेका छन्। निर्वाचनमा मिश्रित परिणाम आएकाले कुनै पनि पार्टी एक्लै सरकार बनाउनसक्ने हैसियतमा छैन। जसका कारण केन्द्र र प्रदेशहरूको सरकार गठन प्रक्रिया लम्बिने देखिएको छ।
मधेस प्रदेशको परिणाम हेर्दा पनि कुनै पनि पार्टीको एकल सरकार बनाउने हैसियत पाएका छैनन्। पछिल्लो मत परिणामअनुसार नेकपा एमालेले प्रत्यक्षमा १५ सिट जित्ने देखिन्छ। १४ सिट जितेको उसले एक सिटमा अग्रता लिइरहेको छ। समानुपातिकतर्फको मतअनुसार उसले कम्तिमा ८ सिट ल्याउने सम्भावना छ। यसरी गणना गर्दा एमाले २३ सिटसहित प्रमुख दल बन्ने देखिन्छ।
कांग्रेसले प्रत्यक्षमा १३ सिट जितेको छ। समानुपातिकतर्फको मतअनुसार कांग्रेस अग्रस्थानमा छ। पछिल्लो मतपरिणामअनुसार उसले समानुपातिकबाट कम्तिमा ९ सिट पाउनेछ। २२ सिटसहित कांग्रेस मधेसमा दोस्रो ठूलो दल बन्ने निश्चित छ। त्यस्तै पाँच वर्ष मधेस सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी भने यसपटक प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको छ। उसले समानुपातिकतर्फ कम्तिमा ७ सिट थप्नसक्ने सम्भावना छ। १६ सिटसहित ऊ तेस्रो दल बन्ने सम्भावना छ।
एमालेले सीके राउत नेतृत्वको जनमतलाई गठबन्धनमा आबद्ध हुन आह्वान गर्नसक्छ। तर उपेन्द्र यादव सरकारमा गएको खण्डमा सीके राउत कुनै पनि हालतमा सरकारको हिस्सा नबन्ने उनी निकट नेताले बताए।
प्रत्यक्षतर्फ ६ सिट जितेको सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकबाट कम्तिमा ७ सिट थप्ने सम्भावना छ। १३ सिटसहित ऊ मधेसको चौथो पार्टी बन्दैगर्दा ७ सिट जितेको र मधेस सरकारको हिस्सासमेत बनेको लोकतान्त्रिक समाजवादी पार्टीले समानुपातिकतर्फ न्युन मत पाएको छ। उसले समानुपातिकबाट कम्तिमा दुई सिट थप्दा ९ सिट पुग्ने सम्भावना देखिन्छ।
त्यस्तै प्रत्यक्षतर्फ ४ सिट जितेको माओवादीले समानुपातिकबाट कम्तिमा ४ सिट थप्दा ८ सिट हुन्छ भने एकीकृत समाजवादी प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ दुई सिट थप्दा ६ सिट पुर्याउने सम्भावना छ। मधेसमा प्रत्यक्षतर्फ ६ जना विजयी भएका छन् भने समानुपातिकतर्फ पनि केही दलले एक-एक सिट ल्याउने सम्भावना देखिन्छ।
एमालेलाई सीके राउत बाधक
मधेस प्रदेशको अंकगणित विश्लेषण गर्ने हो भने पहिलो पार्टी बनेको एमालेलाई सरकार बनाउन कठिन देखिन्छ। ४३ समानुपातिकसहित १०७ सिट रहेको मधेसमा सरकार बनाउन कम्तिमा ५४ सिट आवश्यक हुन्छ। एमाले-जसपा गठबन्धनमै रहेकाले दुबैको सिट संख्या जोड्दा ३९ सिट पुग्ने देखिन्छ। सरकार बनाउन एमालेसँग थप १५ सिटको आवश्यकता पर्न सक्छ। एमालेले सीके राउत नेतृत्वको जनमतलाई गठबन्धनमा आबद्ध हुन आह्वान गर्नसक्छ। तर उपेन्द्र यादव सरकारमा गएको खण्डमा सीके राउत कुनै पनि हालतमा सरकारको हिस्सा नबन्ने उनी निकट नेताले बताए।
एमालेले सरकार बनाउनका लागि लोसपालाई पनि आह्वान गर्नसक्छ। तर कांग्रेससँग गठबन्धन गरेको महन्थ ठाकुर नेतृत्वको पार्टी एमाले नेतृत्वको सरकारमा जाने सम्भावना न्युन छ। केहीगरी लोसपा मधेस सरकामा गए पनि पनि एमालेले स्वतन्त्र र एक सिट जितेका केही दललाई रिझाउनुपर्ने देखिन्छ।
गठबन्धनलाई सीके राउतकै भर
संघमा सरकार नेतृत्वको पहलकदमी लिइरहेको कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई पनि मधेसमा सरकार बनाउन सजिलो छैन। मधेसमा सत्ता गठबन्धनको सिट जोड्ने हो भने ४५ पुग्ने सम्भावना छ। स्वतन्त्र र एक सिटका केही दललाई जोड्दासमेत गठबन्धनले थप १० सिट पुर्याउनसक्ने अवस्था देखिँदैन। उसले पनि सीके राउतलाई फकाउने प्रयास गर्नसक्छ। गठबन्धनबाट प्रस्ताव आए पार्टीभित्र एकचरण छलफल हुनसक्ने उनी निकट नेताको भनाइ छ। तर सरकारमै जाने सम्भाना नरहेको उनको जिकिर छ।