Friday 14th of June 2024

धनुषा -४ मा एमाले सचिव रघुवीर महासेठ विजयी

0 Shares

विजय कुमार सिंह

ढल्केवर(धनुषा) : धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन् ।

 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका महासेठले ३२ हजार २३६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका यादवले ३२ हजार ११२ मत ल्याएका छन् ।

फरक दलका दुवैजना हेभिवेट नेताद्वय महासेठ र यादव २०७४ सालको निर्वाचनमा पनि मैदानमा उत्रिएका थिए । त्यसबेला महासेठले महेन्द्रलाई पराजित गरेका थिए । महासेठले २२ हजार ५३२ मत र महेन्द्रले १९ हजार ९९१ मत ल्याएका थिए ।

यसपटक भने यो निर्वाचन क्षेत्रको राजनीतिक समीकरण भिन्न थियो । कांग्रेसका महेन्द्रलाई लोसपा र माओवादी केन्द्रको साथ थियो भने महासेठ एमालेका मात्रै उम्मेदवार थिए । यस क्षेत्रमा जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको थियो । यो क्षेत्रमा जसपा र एमालेबीच मित्रवत प्रतिस्पर्धा गर्ने समझदारी भएको छ ।

को हुन् महासेठ?

रघुवीर महासेठ २०३३ बाट कम्युनिष्ट आन्दोलनमा लागेका हुन् । उनी २०६४ को उपनिर्वाचनमा धनुषा–५ बाट विजयी बनेका थिए । धनुषा- ५ बाट चुनाव जितेका नेपाली कांग्रेसका डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रको उपनिर्वाचनमा भने महासेठ चुनाव जित्न सफल भएका थिए । चुनाव जितेर पहिलोपटक प्रतिनिधिसभामा पुगेका महासेठले त्यतिबेला सिञ्चाइ मन्त्री बन्ने अवसर समेत पाएका थिए ।

२०७० सालको निर्वाचनमा उनी पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा धनुषा- ४ मा वाम गठबन्धनको उम्मेदवार भएर चुनाव जिते ।

नेकपा एमाले र माओवादी एकीकृत भएर बनेको नेकपामा पार्टीको विधानविपरीत महासेठलाई स्थायी कमिटी सदस्य बनाएपछि विरोध पनि भएको थियो । पोलिटब्युरो सदस्य नै नभएको व्यक्तिलाई विधानविपरीत स्थायी कमिटी सदस्य बनाएको भन्दै मधेशका केन्द्रीय सदस्यहरूले विरोध गरे पनि उनी स्थायी कमिटी सदस्य रहिरहे । पछिल्लो हेटौंडा महाधिवेशनबाट उनी सचिव बने ।

रघुवीर महासेठ एमालेमा मधेशी समुदायबाट अहिले सबैभन्दा शीर्ष नेताका रूपमा स्थापित छन् । सिभिल इन्जिनियरिङमा स्नातक गरेका महासेठ एमालेभित्र मधेसी समुदायका सिनियर नेता मानिन्छन् ।

राजनीतिक जीवनमा झण्डै १८ महिना जेल बसेका महासेठ सिञ्चाइ मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, उपप्रधान तथा परराष्ट्र मन्त्री भइसकेका छन् ।

एमालेका हरिनारायण निर्वाचित, मधेस प्रदेशका मन्त्री पराजित

धनुषा क्षेत्र नम्बर ४ ख बाट नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधन महतोलाई १ हजार ३४२ मतान्तरले पराजित गर्दै एमालेका महतो विजयी भएका हुन्।

धनुषा ४(ख)मा एमालेका हरिनारायण निर्वाचित, मधेस प्रदेशका मन्त्री पराजित

मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्रीसमेत रहेका शत्रुधनलाई मिथिला नगरपालिकाका पूर्वमेयर समेत रहेका एमालेका उम्मेदवार हरिनारायणले पराजित गरेका छन् । प्रदेशसभामा निर्वाचित हरिनारायणले  १७ हजार ३०२ मत प्राप्त गरेका छन् भने सतारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधनले १५ हजार ९६० मत ल्याएका छन् ।

 

प्रतिक्रिया