नारायणगोपाल इतिहासको विशाल पर्दामा

गीत गायनमा नारायणगोपाल गुरुवाचार्यको उचाइ दक्षिण एसियामा पाकिस्तानका गायक मेंहदी हसन र भारतका मोहम्मद रफीसित तुलना गरिन्छ। कुल मिलाएर ३० वर्ष लामो गायन यात्रामा उनले १ सय ३७ ओटा गीत गाए, ती सबै एकसेएक चर्चित भए।

नारायणगोपाल इतिहासको विशाल पर्दामा

 

इतिहासको सही मूल्यांकन गरेर हेर्ने हो भने भर्खर संगीत सिक्दै गरेका र सांगीतिक प्रतिस्पर्धामा गाउने कलाकारले समेत अहिले पनि उनकै गीत गाइरहेको पाइन्छ। आधुनिक गीत, फिल्मी गीत, राष्ट्रिय गीत गरी उनले सबै गीत नेपाली भाषामै गाए। तर आफ्नो रुचिअनुसार जीवनका उत्तराद्र्धमा नारायणगोपालले कवि गिरिजाप्रसाद जोशी र दुर्गालाल श्रेष्ठका चार नेवारभाषाका गीत पनि गाए। उनलाई गायकका रूपमा रेडियो नेपालले २०१८ देखि चिनाएको हो तर इतिहास त्योभन्दा अलि पुरानो देखिन्छ।

अभिनेताका रूपमा मञ्चमा प्रवेश

नारायणगोपाल गायक हुनुभन्दा अगाडि अभिनेताका रूपमा दुर्गालाल श्रेष्ठको ‘त्याग’नामक नाटकमा २०१३ सालमा एक दृष्टिविहीन पात्रका रूपमा मञ्चमा आएका थिए। यसमा उनले आफ्नो अभिनयको प्रभाव छोडेपछि दाजु नन्दगोपालले लेखेको नाटक ‘किसान’मा पनि उनले अभिनय गरेर वाहवाही पाए। उनको अभिनयको क्रम त्यतिबेला तोडियो जब उनले त्यतिबेलाका चर्चित संगीतकार गणेशप्रसाद श्रेष्ठलाई भेटे।

श्रेष्ठले नारायणगोपाललाई मञ्चमा गायकका रूपमा प्रस्तुत गरे। आफ्ना केही सांगीतिक प्रस्तुतिलाई उनले नेपाली र नेवार दुवै भाषामा गाए। यही सिलसिलामा उनको आफ्नो टोले साथी माणिकरत्न स्थापित, हुतराज शर्मासित भेट भएपछि झन् व्यापकता पायो। संगीतकार हुतराज शर्मा पनि तबलावादक र गायक नारायणगोपाल पनि तबलामा पोख्त भएकाले जोडी झन् जम्यो। शास्त्रीय संगीतका उस्ताद पिता आशागोपाल गुरुवाचार्य र बुबाका साथी संगीतज्ञ कोमलनाथ अधिकारीका प्रेरणाले वाद्यवादन अनि शास्त्रीय गायनमा उनको रुचि यथावत् रह्यो।

ईश्वरवल्लभसितको भेट नारायणगोपालको चमत्कारपूर्ण खेल थियो जसलाई अंग्रेजीमा करिश्माटिक चेन्ज भनिन्छ। त्यही समय ईश्वरवल्लभले संगीतका दुई सूत्रधार नारायणगोपाल र गोपाल योञ्जनलाई मीत लगाइदिए। यसपछि मितेरी संगीतको युग सुरु भयो।

पिता आशागोपालका कारण घरमा उस्ताद साइँला (अष्टमान श्रेष्ठ), त्यतिबेलाका चर्चित संगीतकार भगतकृष्ण मानन्धर (प्रथम नेपाली गायिका मेलवादेवीका पति) भेला भइरहने यसैको प्रभावमा उनमा शास्त्रीय संगीतको बीजारोपण भयो। टोलका साथीहरू माणिकरत्न स्थापित, हुतराज शर्मा, गीतकार राममान तृषित, लक्ष्मण श्रेष्ठ, दुर्गालाल श्रेष्ठका कारण उनलाई आधुनिक संगीतमा रुचि बढ्दै गयो।

घरभित्र र घर बाहिरको द्वन्द्वमा उनी फँस्दै गइरहेको बेला उनलाई एकदिन लक्ष्मण श्रेष्ठले गायक प्रेमध्वज प्रधानसित परिचय गराइदिएपछि उनी झन् आधुनिक संगीतसित प्रभावित भए। प्रेमध्वजले त्यतिबेला रेडियो नेपालमा गीत गाएर स्थापित भइसकेका थिए, प्रेमध्वज र माणिकरत्नको प्रेरणाले यी दुईको संयुक्ति (प्रेम माणिकको) मा राममान तृषितको शब्दमा ‘धरतीको याद दिलायो’ गाए।

रेडियो नेपालमा स्वर परीक्षामा गाएको यो पहिलो गीतले नै नारायणगोपाललाई प्रतिभाशाली गायकका रूपमा सुस्पष्ट परिचय दियो। उनको स्वरपरीक्षामा निर्णायकका रूपमा बसेका उस्ताद गणेशलाल श्रेष्ठ, नातिकाजी श्रेष्ठ, जनार्दन सम अनि उस्ताद गोविन्दलालले एकै स्वरमा उनलाई वाहवाह गरे। रेडियो नेपालमा प्रेम माणिकको संगीतमा राममान तृषितको शब्दमा टेकेपछि उनका पिता उस्ताद आशागोपालका निम्ति चिन्ताको विषय भयो। पिता उनलाई शास्त्रीय गायनका खलिफा बनाउन चाहन्थे। पिता पुत्रको द्वन्द्व यही सुरु भयो।

नारायणगोपालको दार्जिलिङको दौड

रेडियो नेपालमा स्वरपरीक्षा दिएपछि आफ्नै संगीतमा नारायणगोपालले आठ गीतसंगीत गरे। ती सबै गीत उनकै कलेजका सहपाठी रत्नशमशेर थापाका थिए। ती आठओटा गीत रेकर्ड गर्न उनी काठमाडौंमा रहेको एचएमभीको डिलर देवनारायण मानन्धर एन्ड सन्स्को सिफारिसमा कोलकत्तामा रेकर्ड गराउन पुगे। आठमध्ये छओटा गीत उनका सर्वाधिक लोकप्रिय भए। यसपछि नारायणगोपाललाई एक चुनौतीका रूपमा हेरियो, घरभित्र उनी पिताका निम्ति अर्को चुनौतीको विषय थियो।

कोलकत्तामा रेकर्ड गरेका छओटा गीतको ख्यातिपछि नारायणगोपालले आफ्नो संगीतमा राष्ट्रिय गीत, युगल गीत (विशेषतः तारादेवी र दिलमाया खाती) सित गाएका गीतले उनलाई झन् धेरै ख्याति दियो। यी गीतहरू लिएर उनी त्रिचन्द्र कलेजको मञ्चमा र अन्य विभिन्न सभा समारोहमा गाउन थालेपछि उनका पिता आशागोपालले भारतीय राजदूतावासमार्फत भारतमा संगीत सिक्न छात्रवृत्तिको निम्ति पहल गरे।

नृत्यका गुरु भैरववहादुर थापा लिखित नाटकको मञ्चनका क्रममा नाचघरमा तत्कालीन राजा महेन्द्रका अगाडि नारायणगोपालले गीत गाएपछि उनी तत्कालीन भारतीय राजदूतका नजरमा परे। भैरववहादुर थापाको यो भनाइमा थप पुष्टि गर्दै उनका कान्छा भाइ लक्ष्मणगोपाल गुरुवाचार्य भन्छन्, पछि बुवाले पनि बल गर्नु भयो। यही क्रममा उनले पिताको सिफारिस र प्रभावमा भारतको बरौदास्थित महाराज सयाजी राव युनिभर्सिटीमा शास्त्रीय संगीतको छात्रवृत्तिको निम्ति निवेदन दिए र पहिलो सूचीमै चयन भए।

See the source image

संगीत पढ्न उनको यो भारतको दोस्रो यात्रा थियो। भारतको बरौडामा शास्त्रीय संगीत अध्ययन गर्दै गर्दा उनको जीवनमा एउटा उथलपुथल आयो। उनको पहिलो प्रेम असफल साबित भयो। किशोरावस्थादेखि आफूले मन पराउँदै आएकी प्रेयसी जसलाई उनी बेबी भनेर बोलाउँथे, उनमा आएको परिवर्तन र पृथक् व्यवहारले नारायणगोपाल चिन्तित भए। मामाघर दार्जिलिङ गएकी बेबीलाई पछ्याउँदै उनी त्यही पुगे ।

दार्जिलिङको अपूर्व भेटमै नारायणगोपाल र बेबीको प्रेमको अन्त्य भयो। त्यसको केही वर्षपछि बेबीले परिवारको सिफारिसमा नेपालको पश्चिम जिल्लाको युवकसित बिहे गरे। गीतकार विश्ववल्लभको सम्झनाअनुसार त्यतिबेला नारायणगोपाल ईश्वरवल्लभसँग भेटेर गीत माग्नु पर्‍यो भनेर ईश्वरवल्लभको दार्जिलिङको ठेगाना माग्न उनको घर पुगेका थिए। काठमाडौंबाट विरक्तिएर मलंगवा हुँदै भारतको गोरखपुर, कटिहार हुँदै दार्जिलिङ पुगेका ईश्वरवल्लभ त्यतिबेला दार्जिलिङमै मास्टरी गर्दै थिए।  उनी त्यतिबेला दार्जिलिङमा ईश्वरवल्लभ बसेकै म्युनिसिपल्टिी विल्डिङमा बसेका थिए।

गीतकार ईश्वरवल्लभमार्फत नै नारायणोपालले दार्जिलिङस्थित हिमालय कला मन्दिरमा आबद्ध नगेन्द्र थापा, गोपाल योञ्जन, दिलमाया खाती, चन्द्रमित लक्सम अनि संगम समूहका शरण प्रधान, रञ्जित गजमेर, अरुणा लामा, जितेन्द्र वर्देवा आदि भेटे। ईश्वरवल्लभसितको भेटपछि नै नारायणगोपालको जीवनको सांगीतिक यात्रा सम्पूर्ण रूपमा बदलियो। यसपछि नै उनले ईश्वरवल्लभका गीतहरू जीवन्त भएर गाए। यतिबेलासम्म ईश्वरवल्लभका गीत तारादेवी र अम्बर गुरुङले मात्र गाएका थिए।

पहिलो पटक ईश्वरवल्लभलाई भेट्न नारायणगोपाल दार्जिलिङ जाँदा उनले अम्बर गुरुङलाई पनि भेटे, उनी शंकर लामिछानेको पत्र लिएर अम्बरकहाँ पुगेका थिए। नारायणगोपालको दार्जिलिङको यो दौड एक भयानक परिवर्तनको समय थियो। उनी आफैं प्रेमको पराकाष्ठामा थिए जुन त्यहीबेला विसर्जन भयो।

नारायणगोपाल दार्जिलिङको संगीतसित नेपाली संगीतलाई एकीकरण गर्न चाहिरहेका थिए। अम्बर गुरुङलाई नेपाल ल्याउने तैयारी भइरहेको थियो। नेपालका गीतकार कवि नगेन्द्र थापा, ईश्वरवल्लभ, बैरागी काइँला आदि दार्जिलिङमा संघर्ष गरिरहेका थिए। ईश्वरवल्लभसितको भेट नारायणगोपालको चमत्कारपूर्ण खेल थियो जसलाई अंग्रेजीमा करिश्माटिक चेन्ज भनिन्छ। त्यही समय ईश्वरवल्लभले संगीतका दुई सूत्रधार नारायणगोपाल र गोपाल योञ्जनलाई मीत लगाइदिए। यसपछि मितेरी संगीतको युग सुरु भयो। नारायणगोपालको जीवनमा प्रेम माणिक पछि संगीतकारका रूपमा मितज्यू गोपाल योञ्जनले प्रवेश गरे। गीतकारका रूपमा रत्नशमशेर थापाको ठाउँमा ईश्वरवल्लभ, गोपाल योञ्जन, नगेन्द्र थापा आए। त्यो दोस्रो सांगीतिक यात्रा सुरु भयो।

मितेरी संगीतको युग 

नारायण र गोपालको दार्जिलिङको महांकालडाँडा २०२१ चैत्र ७ गते मित लगाइदिएपछि यी दुवै धुरन्धर संगीतकर्मीले नेपाली संगीतको युग परिवर्तन गरे। दुवैको जीवनमा चुनौती र बाधा त्यतिकै थिए तर अघि बढे। नारायणगोपालले त्यसपछि कान्छा र कान्छीका गीत गाएनन्। यद्यपि उनलाई एक कान्छा ठट्टैमा यो बैंस जान लाग्यो गीतबाट नै ‘कान्छा’ को उपनाम मिलेको थियो। गायक अष्टमान श्रेष्ठलाई साइँलाजी चन्दनीको उकालोमा गाएपछि उस्ताद साइँला भनिए जस्तै।

नारायणगोपालको यसपछिका गीतहरू ईश्वरवल्लभको सारा दिन अरूलाई बाँडे। बिहान नभई सारा शीत…, मलाई जिन्दगी यो लाग्दछ…, यो कस्तो व्यथा…, झकिझकाऊ भएर गुञ्जिए, नगेन्द्र थापाको शब्दमा बिर्सेर फेरि मलाई नहेर…, मेरो गीत म उभेको धुलोले सुनोस्…, अनि गोपाल योञ्जनका एकसेक एक गीत गाए। नारायणगोपालको दार्जिलिङ दौडको ऐतिहासिक टिप्पणी गर्दै वरिष्ठ संगीतकार कर्म योञ्जन भन्छन्, नारान आउँदा यस्तो लाग्थ्यो आफ्नै भाइ घर आएजस्तो लाग्थ्यो। गीत संगीत, साहित्यको खुब चर्चा हुन्छ तर उसले मलाई मितदाजु भन्ने हुनाले मसित चैं अलि दूरी राख्थ्यो। योञ्जनसित मित लगाइसकेपछि नारायणगोपालले गोपाल योञ्जनसित केही गीतमा संयुक्त संगीत पनि गरे भने कर्म योञ्जनसित पनि केही गीतमा सहकार्य गरे।

कर्म योञ्जनको संगीतमा नगेन्द्र थापाको शब्दमा गाएको चिनारी हाम्रो धेरै पुरानो रहे झैं लाग्छ। उनले आफ्ना पत्रमित्रताका साथी पेमला लामाका निम्ति गाएको भनी स्वीकारेका पनि छन्। नारायणगोपालको पहिलो प्रेमको अन्त्य दार्जिलिङमै भयो र अर्को प्रेमको सुरुवात पनि दार्जिलिङकै सिमानामा भयो।

पेमाला लामा उनको पेनपलका मित्र थिइन्। पछि उनको गीतको प्रशंसक भइन् र दुईवीचमा विस्तारै प्रेम झ्याँगिदै गयो। यो त्यही समय थियो जति बेला उनी बरौदामा शास्त्रीय संगीत पढ्दै थिए। आफ्ना आमाबुबा मणिपुरको कोहिमामा दार्जिलिङ स्टोर्स खोलेर बसेका बेला एक्ली पेमला दार्जिलिङस्थित सुखिया पोखरीमा मामाघरमा बसेर पढ्दै काम गर्दै थिइन्।

स्कुलमा पढाउने पेमलासित नारायणगोपाललाई मितदाजु कर्म, मितज्यू अनि गीतकार नगेन्द्र थापाले गराइदिए। पछि विवाह गर्दा पनि मितदाज्यू कर्म योञ्जन नै दार्जिलिङबाट आबा (टेलिग्राम) गरेर उनलाई बोलाएका थिए। अहिले त्यो आबाको सन्देश सम्झेर ८५ वर्षीय कर्म योञ्जन मुुसुमुस हाँस्दै भन्छन्, प्रोग्राम इज कन्फर्मड्। कम सुन।

नारायणगोपालले यो आबा पितालाई देखाएर कार्यक्रम जाने स्वीकृति लिए र विवाहको बाटो बनाए। कुनै साथीलाई गोप्य रूपमा भेटेर करिब पाँच हजार सापट लिएर उनी दार्जिलिङ पुगे। घर छोडेर हिँडेको दिनबाट उनको पितासितको बाटो अलग्ग्यिो। उनले बरौदा सांगीतिक अध्ययन पनि छोडिदिए। आफ्नो पुख्र्यौली घर पनि छोडी दिए। उनलाई थाहै भएन त्यही दिनबाट उनको पितासित दूरी बढ्दै गयो।

नारायणगोपाल बिहे गरेर सिधै पोखरा गए, कवि भूपि शेरचनको घरमा। उनका बाँकी साथीसंगी त्यहीँ दार्जिलिङमा छुटे। केही साथीभाइ काठमाडौंमा छुटे। बेबी र उनको सम्बन्धले नयाँ अध्याय शुरु गरिसकेको थियो। त्यसपछि गोपाल योञ्जन पनि नगेन्द्र थापाको सहयोगले नेपाल आए र नगेन्द्रकै सहयोगमा उनले पनि काठमाडौंमै विवाह गरेर घरजम गरेर बसे। साथी माणिकरत्नको सहयोगले नारायणगोपाल काठमाडौंमा आएर नाचघरमा तबलावादकमा जागिर खान थाले।

विवाहपछिको युग 

नारायणगोपालको विवाह उनको परिवारमा पहिलो अन्तरजातीय विवाह थियो, यो विवाह गराइदिएबापत कर्म योञ्जनले झन्डैझन्डै गुरुवाचार्य परिवारबाट अपमानित हुनु परेको थियो। विवाहको केही समयपछि यी दुई (पति—पत्नी) ले पोखरामा सोल्जर्स स्कुलमा पढाउन पर्‍यो। संगीतमै रुचि भएको कारण पछि नारायणगोपाल सपत्नी काठमाडौं आए। माणिकको बलमा जनार्दन समको सिफारिसमा राष्ट्रिय नाचघरमा जागिर खाए अनि नाचघरकै पछिल्तिर भण्डारी चोकमा रविन भण्डारीको घरमा डेर बसे। डेराको जिन्दगी सुरु भएपछि नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापा मिलेर लालीगुराँस सांगीतिक साँझ चलाउन थाले। समस्या भएपछि नारायणगोपालले यो काम पनि छोडिदिए। वैवाहिक जीवनपश्चात् घरमा प्रवेश नपाए पनि नारायणगोपालले केही वर्ष भण्डारीचोक, त्यसपछि ठमेलस्थित नरसिंहचोक अनि अन्तिम समय महाराजगन्जको मिलीजुली टोलमै बिताए।

विवाहपछिको उनको समय झन् सक्रिय र सम्बल देखियो। उनले यही समय पुनः आफ्नो संगीतकारको छवि दह्रो बनाउँदै ल्याए र काम विशेष (नाचघरको जागिरको कारण)ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक मुनामदनमा चन्द्रराज शर्माको संगीतमा आफ्ना साथीहरू इन्द्रनारायण मानन्धर, गणेश रसिक, नवीनकिशोर राई, तारादेवीसित गीत गाए।

विवाहको लगत्तै उनी नेपाली चलचित्र परिवर्तनमा गीत गाउन कोलकाता पुगे, भारतका प्रसिद्ध वाद्यवादक एवं संगीत संयोजक भी बल्साराको संगीतमा उनले तीन गीत गाए। गोरखापत्रका स्तम्भकार रामचन्द्र न्यौपानेलाई दिएको अन्तर्वार्तामा उनले यही समय ठमेलको डेरामा केही गजल शैलीका गीतहरू पनि गरे। विवाहपश्चात् उनको जीवनमा आएको ठूलो परिवर्तन गायन र संगीत मात्र नभई गीत छान्नमा पनि उनलाई पत्नी पेमलाबाट ठूलो सहयोग मिल्यो। कवि हरिभक्त कटुवालको मलाई नसोध कहाँ दुख्छ घाउ…। त्यसमध्येको यो एक प्रमुख उदाहरण हो जसको संगीत स्वयं नारायणगोपालले नै गरेका थिए। त्यतिबेला नेपालमा आसामका गीतकार हरिभक्त कटुवाललाई संगीतकारमध्ये उनी अम्बर गुरुङ पछि दोस्रा थिए।

विवाहको केही समयपछि उनले अर्को नेपाली चलचित्र मनको बाँधमा गीत गाए। परिवारको असहयोग, डेराको जिन्दगी, गायनमा एक्लोपन, रेडियो नेपालबाट बहिष्कृत हुनुपरेको यो कठिन समयको दौरमा नारायणगोपाललाई आफू काम गर्दै गरेको अफिसको हाकिम हुने मौका मिल्यो, २०३७ सालमा। तत्कालीन शिक्षा संस्कृतिमन्त्री केबी शाहीले घ श्रेणीको संस्थानको महाप्रबन्धकको पद नगेन्द्र थापालाई अफर गरेपछि थापा अर्कै अफिसको हाकिम भएर पूर्वतर्फ लागे, त्यो पद उनले नारायणगोपाललाई सिफारिस गरे।

हाकिम नारायणगोपाल 

केबी शाहीले महाप्रबन्धकका रूपमा नियुक्ति दिएकै साँझ नारायणगोपालले आफ्ना प्रतिबद्धता जाहेर गरे। महाप्रबन्धकको भूमिका निभाउनु उनका निम्ति नाचघरको जागिर धेरै किसिमले चुनौती पूर्ण रह्यो। उनकै समयमा दसैंको मुखामा करिब डेढ दर्जन कलाकारको अस्थायी जागिर खोसियो। जसको नारायणगोपालले जीवनभर खेपिरहनु पर्‍यो।

रेडियो नेपालबाट करारमा ल्याएका कलाकारले असहयोग गर्दा राजीनामा दिनुपर्ने कैयन् कठिन परिस्थिति आए। यसै समय उनले मनबहादुर मुखिया लिखित नाटक क्रसमा टाँगिएको जिन्दगी मञ्चन गरेर आर्थिक लाभबाट पहिलो पटक हाकिम चढ्ने स्टारलेट कार किने। यस नाटकका निर्देशक हरिप्रसाद रिमाल थिए। उनले पहिले निकालिएका कलाकार हरिवंश आचार्य, सुषमा शाहीलाई पुनः नाटकमा ल्याए।

सांस्कृतिक संस्थानको सक्रियता बढाउन उनले गीति नाटक मुनामदन, गोपालप्रसाद रिमालको मसान, महेश थापाको कुहिरो भित्र अल्मलिँदा, वासु शशीको सबथोक गर्नुपर्छ, पी अर्जुनको हाँस्दै जल्नु पर्छ मञ्चन गरे। र, यही समय उनले दार्जिलिङका नयाँ पुराना कलाकार बोलाएर नाचघरको मञ्चमा स्मृतिका कोसेली हाम्रा गीतहरू मञ्चस्थ गरे।

त्यहाँ काम गरिरहेका कलाकारको स्थायित्व र भवन निर्माणका निम्ति उनी बारम्बार लडिरहे तर एकदिन एउटा मन्त्रीसित भनाभनमा उनलाई त्यो पदबाट हटाइयो। र, उनले साप्ताहिक विमर्शमा त्यो कुरा खुलेरै विरोध गरे। यसपछि नारायणगोपालले ललितकला क्याम्पसमा असोसियट प्रोफेसर भएर प्रवेश गरे तर तत्कालीन क्याम्पस प्रमुख वीणा श्रेष्ठका अनुसार उहाँले ललितकलामा कुनै पनि कक्षा लिनु भएन।

ललितकलाबाट अवकाश पाएपछि केही समय उनले सञ्चार मन्त्रालयअन्तर्गत प्रवद्र्धन शाखामा परामर्शदाताका रूपमा आबद्ध रहनु भयो। पञ्चायती शासनकालको यो अन्तिम समय उनी तत्कालीन व्यवस्थाको समर्थनमा अन्तर्वार्ता नदिइएबापत केही समय रेड लिस्टमा पनि परेका थिए। त्यतिबेला नेपाल टेलिभिजनबाट पञ्चायती व्यवस्थाको पक्षमा अन्तर्वार्ता लिन गएका पत्रकार राजु सिलवाल सम्झना गर्छन्।

चलचित्र गायनमा नारायणगोपाल

२०२२ सालमा नारायणगोपाल माइतीघरमा गीत गाउन आफ्ना साथी गीतकार प्रदीप रिमालसित मुम्बई पुगे तर उनी त्यस फिल्ममा रिजेक्ट भए। यसपछि उनले २०२७ सालमा परिवर्तन फिल्मको निम्ति भी बल्सारको संगीतमा चेतन कार्की र तीर्थ शेरचनको शब्दमा तीन गीत गाए। यो चलचित्र गायनमा उनको पहिलो प्रवेश थियो।

२०३२ मा उनले चलचित्र मनको बाँधमा संगीतकारको निम्ति निवेदन दिए तर उनी त्यसमा संगीतकारका रूपमा रिजेक्ट भए उनको ठाउँमा नातिकाजी शिवशंकर आए। नाजिकाजी शिवशंकरको संगीतमा उनले त्यो फिल्ममा दुई गीत गाए, माधव घिमिरेको रचना र प्रदीप रिमालको संगीतको। यस फिल्ममा पहिलो पटक बच्चु कैलाशले पनि गाएका थिए। यसपछि २०३६ सालमा नातिकाजी गोपाल योञ्जनको संगीतमा सिन्दूरमा गाए, किरण खरेल र लक्ष्मण लोहनीको शब्दमा। गोपाल योञ्जनको संगीतकारको रूपमा यो प्रविष्टि थियो। सिन्दूरपछि उनले नेपाली चलचित्र बदलिँदो आकाश, कान्छी, चोट, चिनो, लाहुरे, कोसेली, दक्षिणा, माया आदिमा उनका गीत रेकर्ड भए।

संगीतकारसितको लामो सहकार्यमा उनले अम्बर गुरुङ, गोपाल योञ्जन, चन्द्रराज शर्मा, नातिकाजी, शिवशंकर, सीके रसाइली, शान्ति ठटाल, कर्म योञ्जन, धर्मराज थापासित एक समय एक सहकार्य गरे भनें अर्को समय उनले नयाँ पुस्ताको निम्ति ढोका खोलिदिए, त्यसको पहिलो शृंखला आफूभन्दा दस वर्षपछि संगीतमा आएका दिव्य खालिङबाट सुरु हुन्छ।

रेडियो नेपालले आफूलाई बहिष्कार गरेको बेला नारायणगोपालले दिव्यसित मिलेर रत्न रेकर्डिङबाट एलपी निकाले, त्यसपछि रत्न रेकर्डस्बाटै ब्ल्यु नोट निकाले। दिव्यपछि उनले दीपक जंगम, शुभ शम्भुजित, भूपेन्द्र रायमाझी, चन्दन लम्जेल, रनजित गजमेरसित सहकार्य गरे तर आफूसित भएको संगीतकारको व्यक्तित्वलाई कायमै राखे। जीवनको अन्तिमकालमा आफ्नो मातृभाषामा गीत गाउन रहर गरेर उनले इनाप साप्ताहिकमा गीत चाहियो भनेर विज्ञापन दिए तर भनेजस्तो गीत नआएपछि उनको यो प्रोजेक्ट रोकियो। रेडियो नेपालबाट गायन सुरु गरेका नारायणगोपालको लगभग ९ वर्ष रेडियो नेपालसित दूरी कायम रह्यो। यो सम्बन्ध रेडियो नेपालसित २०४७ साल मंसिर १९ गते राति ९ बजेको समाचारमा गएर टुंगियो जब समाचारवाचक कमल प्रधानले ब्रेकिङ न्युज दिए, नारायणगोपालको देहावसान भनेर।

किलागल काठमाडौंमा जन्मेका नारायणगोपालको महाबौद्धनेरको वीर अस्पतालमा निधन भयो। तर उनको महायात्रा सुरु हुँदा प्रज्ञा प्रतिष्ठानको प्रांगणदेखि पशुपति आर्यघाटसम्मको लामो यात्रा कायमै थियो। नारायणगोपाल गायक मात्र नभएर इतिहासको एउटा महŒवपूर्ण घटक पनि हुन्, जसले आफ्नो गीतले सत्ता, शक्ति र शासकलाई हल्लाइदिएका थिए,

मेरो गीत म उभेको धूलोले सुनोस् …
कसैले सुन्दैन भने धरती आकाशले सुनोस्।

नारायणगोपाल बिहे गरेर सिधै पोखरा गए, कवि भूपि शेरचनको घरमा। बेबी र उनको सम्बन्धले नयाँ अध्याय शुरु गरिसकेको थियो। त्यसपछि गोपाल योञ्जन पनि नगेन्द्र थापाको सहयोगले नेपाल आए र नगेन्द्रकै सहयोगमा उनले पनि काठमाडौंमै विवाह गरेर घरजम
गरेर बसे।

प्रतिक्रिया

सम्बन्धित समाचार