कृष्ण गिरी
काठमाडाैं / माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको पञ्चायतकालदेखि प्रभाव क्षेत्रको रूपमा मानिन्थ्यो– महोत्तरी– १ । तत्कालीन जनमोर्चामा आबद्ध हुँदा पोखरेलले पञ्चायतकालको भूमिगत राजनीति महोत्तरीमै गरेका थिए । त्यसको लिगेसीमा २०६४ पछि माओवादी केन्द्रको साथ पाएपछि पोखरेल थप बलियो भएका थिए । त्यस कारण २०६४ यताका सबै चुनावमा जित निकाल्दै आएका थिए ।
महोत्तरीको मधेसी समुदायको बाक्लो बस्ती भएको क्षेत्रमा पहाडी समुदायको नेता निर्वाचित हुनुलाई पनि २०७० को चुनावमा थप आश्चर्यको विषय मानिएको थियो । त्यसमाथि मधेस आन्दोलनका कारण मधेसमा माओवादी थप कमजोर भएको बेला पनि पोखरेलले जित निकालेका लिए । २०७० मा देशभर माओवादीले लज्जास्पद पराजय भोगेको बेला पोखरेलले महोत्तरीमा जित निकालेका थिए । अर्थात्, पोखरेलको महोत्तरीमा बलियो पकड रहेको देखाउँथ्यो । तर, अहिले कांग्रेस र लोसपासँग गठबन्धन गरेको चुनावमै पोखरेलले पराजय भोगेका छन् ।
यसपटक पोखरेललाई चुनाव हराउने लक्ष्मी महतोले २३ हजार ४ सय २ मत ल्याउँदा पोखरेलले २२ हजार ३ सय ७२ मत मात्रै ल्याए । विगतदेखि नै विवादमा रहेका महतोसँग पराजित भएका पोखरेलको हारको समीक्षा पनि भइरहेको छ । कतिसम्म भने मनोनयन दर्ताको अघिल्लो दिन जसपा छोडेर एमाले प्रवेश गरी उम्मेदवार भएका महतोले सहजै पोखरेललाई कसरी पराजित गरे ? माओवादीले अहिले त्यसको लेखाजोखा गर्न थालेको छ ।
यसअघि २०७४ को निर्वाचनमा जसपाबाट महोत्तरी १ मै निर्वाचन लडेका महतोलाई पोखरेलले पराजित गरेका थिए । गठबन्धन हुँदा कांग्रेसले भोट नहाल्दा मात्र पोखरेल हारेका हुन् कि यो हारको अरु पनि कारण छन् ? माओवादी केन्द्रका सचिव तथा मधेस इञ्चार्ज गणेश साहको भनाइमा माओवादीको आन्तरिक कारणले पोखरेल पराजित हुने अवस्था आएको हो ।
साहको भनाइमा संगठन परिचलान, उम्मेदवारी छनोट मात्र होइन, माओवादी मन्त्रीले गतिलो काम गर्न नसक्नु पनि पोखरेलको हारसँग जोडिन्छ । साहले शिलापत्रसँग भने, ‘चुनावमा हार हुनुको कारण पहिले माओवादीभित्र खोज्नुपर्छ । किनकि हामीले संगठन परिचालनमा ध्यान दिएनौँ । महाधिवेशन गर्यौँ तर त्यसलाई तल्लो कमिटीसम्म परिचालन गरेनौँ । उम्मेदवार छनोटमा छलफल भएन । माओवादीका लागि सरकार बनाउँदा गठबन्धन ठीक भयो । चुनाव प्रत्युत्पादक भयो, जसका कारण माओवादीले हार्नुपरेको हो ।’
माओवादीले आफ्नो आन्तरिक कारणले गर्दा नै चुनावमा पराजित हुनुपरेको साह बताउँछन् । तर, आफैँले आधार इलाका घोषणा गरेको र सुरक्षित मानेका क्षेत्रमै हार हुनुमा पोखरेलको संगठनभित्र र पार्टीभित्र गर्ने व्यवहारले गर्दा धेरै नेता कार्यकर्ता रुष्ट बन्नु नै प्रमुख कारण रहेको ठानिन्छ ।
कार्यकर्तामा विभेद
कार्यकर्ताको व्यवस्थापनमा पोखरेलको समस्या देखिन्छ । २०६४ मा तत्कालीन जनमोर्चाबाट उम्मेदवार भएका पोखरेलले माओवादी केन्द्रका उम्मेदवारलाई टिकट फिर्ता लिन लगाएर जितेका थिए । २०६५ मा जनमोर्चा पार्टी एकता गरी माअोवादी केन्द्रमा आएपछि पोखरेल झन् बलियो भएका थिए । त्यसपछि उनले माओवादी कार्यकर्तामाथि विभेद सुरु गरेको महोत्तरीका एक जिल्लास्तरका नेता बताउँछन् । ती नेताले भने, ‘२०६४ सालमा हाम्रो पार्टीले तेजप्रकाश अधिकारीलाई टिकट दिएको थियो । तर, पोखरेल पनि लड्ने भएपछि अधिकारीलाई टिकट फिर्ता लिन लगाएर उहाँलाई नै चुनाव जितायौँ । तर, त्यही समयबाट पोखरेलले माओवादी कार्यकर्तालाई पाखा लगाउने र पूर्वएकता केन्द्रलाई मात्र काखी च्याप्ने काम गर्नुभयो । जसको परिणाम अहिले चुनावमा देखियो ।’
मन्त्री भएर काम गर्न नसक्नु
२०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका पोखरेलले जनताले आस गरेजस्तो काम गर्न सकेनन् । पटक-पटक मन्त्री भएका पोखरेलले स्थानीय कार्यकर्ता र जनताले अपेक्षा गरेअनुसारको काम गर्न नसक्दा उनीप्रतिको मोहभंग भएको स्थानीय माओवादीका नेता-कार्यकर्ता बताउँछन् । पोखरेलले पटकपटक स्वास्थ्य तथा जनसंख्या र शिक्षा मन्त्रालयको कार्यभार सम्हालेका छन् ।
तर, महोत्तरीमा उनले न स्वास्थ्य सेवा सुधारमा पहल गरे, न त शिक्षाक्षेत्रमै गतिलो कलेज वा स्कुल बनाउन जोड दिए । बर्दिबासमा पर्यटनसम्बन्धी तालिम दिनका लागि काठमाडौं विश्वविद्यालयसँग मिलेर नाथम स्थापना त गरे, तर त्यसको प्रभावकारितामाथि नै प्रश्न उठेको छ । पर्यटकको सेवाको क्षेत्रका जनशक्ति उत्पादन गर्ने यो संस्था पर्यटकीय क्षेत्रभन्दा बाहिर हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ नै ।
स्थानीय चुनावमा अन्तर्घात
महोत्तरी माओवादीको राम्रो जनमत भएको जिल्लामा पर्छ । तर, पोखरेलका कारण माओवादी छोडेर अन्य पार्टीमा जानेको संख्या बढेको बढ्यै भयो । यसको प्रमुख कारण पोखरेल भएको त्यहाँका स्थानीय माओवादी बताउँछन् । २०६४ मा आफूले पाएको उम्मेदवारको टिकट फिर्ता लिएर पोखरेललाई जिताउन हिँडेका अधिकारी अहिले एमालेमा छन् । उनीजस्तै धेरै नेता-कार्यकर्ताले माओवादी छोडेका छन् । जसका कारण आधारभूमि भनेको क्षेत्रमा चुनाव हार्ने अवस्था आएको हो ।
स्थानीय चुनावमा गिरिराजमणि पोखरेल र उनको टिमले अन्तर्घात गरेर महोत्तरीको बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा हार्नुपरेको माओवादी नेताहरूको दाबी छ । मातृका यादव र पोखरेलबीच पानी बाराबारको स्थिति छ । स्थानीय चुनावको बेलामा एक पक्षले अर्को पक्षलाई हराउने भूमिका खेलेको उनीहरूमाथि आरोप छ । अन्तर्घातको विषयमा सबैलाई थाहा हुँदा पनि त्यसबारेमा केही सुनुवाइ नहुँदा पनि माआवादीमा विवाद रहेको र अहिले पोखरेलको हारको कारण भएको माओवादीका नेता रामकुमार शर्मा बताउँछन् ।
शर्माले भने, ‘स्थानीय तहमा अन्तर्घात भएको भनेर पार्टीमा निवेदन परेपछि अनुशासन आयोगका प्रमुखको नेतृत्वमा छानबिन कमिटी बन्यो । त्यो कमिटीले प्रतिवेदन बुझायो तर त्यो प्रतिवेदनमा के छ अहिलेसम्म थाहा छैन । पार्टी नेताकार्यकर्तालाई लाग्यो कि त्यो प्रतिवेदन लुकाउने काम गिरिराजमणि पोखरेलले गर्नुभयो । किनकि अन्तर्घत नै उहाँ र उहाँको टिमले गरेको स्थानीय नेता कार्यकर्ताको आरोप छ ।’
महोत्तरी १ को ख मा माओवादीका भरत साहले प्रदेशसभामा टिकट पाए । उनले चुनाव पनि जिते । तर, तिनै साहका विरुद्धमा पोखरेलले विष्णु लामालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको माओवादी स्थानीय नेता बताउँछन् । ती नेताले भने, ‘पोखरेलले साहलाई हराउन नै लामालाई स्वतन्त्र उम्मेदवारी दिन लगाउनुभयो । तर, साहले प्रदेश चुनाव जिते । उल्टै पोखरेलले चुनाव हार्नुभयो । कार्यकर्ता मिलाउनुभन्दा भिडाउन लाग्नुभयो । जसका कारण माओवादी कमजोर बन्यो ।’
पुरानाले साथ छोड्नु
माओवादीका पुराना नेता-कार्यकर्ताले पार्टी छोडेर अन्य पार्टीमा जाँदा पनि जनमतमा असर परेको छ । यति मात्र होइन, पोखरेलको टिमले नै साथ छोडेका कारण टिम पनि कमजोर हुन पुगेको एक स्थानीय माओवादी नेता बताउँछन् ।
तर, माओवादीका जिल्लानेता तुलसी ढुङ्गाना भने यो कुरा स्वीकार्दैनन् । माओवादीलाई गठबन्धनले धोका दिनु र माओवादीको मत नै अन्यत्र सिफ्ट हुनुले महोत्तरी १ हारेको ढुङ्गानाको दाबी छ ।
जनमोर्चाको ह्याङओभर
महोत्तरीमा माओवादी र पूर्वएकता केन्द्र अर्थात् जनमोर्चाको अन्तर्घुलन हुन सकेको छैन । अझ पोखरेलले स्थानीय नेता कार्यकर्तालाई मिलाउनेभन्दा पनि माओवादीलाई पाखा र एकता केन्द्रका नेता कार्यकर्तालाई नजिक गरेपछि पार्टीमा सुषुप्त रूपमा विवाद बढ्दै गएको दाबी गरिएको छ ।
जसको परिणाम स्थानीय चुनाव र अहिलेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा देखिएको शर्मा बताउँछन् । शर्माले भने, ‘उहाँले पार्टीमा जुन गलत संस्कार ल्याउनुभयो, त्यही संस्कारले उनले पराजय भोग्नुपर्यो । आफ्नालाई नजिक मान्ने, अरु कार्यकर्तामाथि विभेद गर्ने तर अन्तिममा उहाँले नजिक मानेकाले नै उहाँको साथ छोडेर हिँडे । उहाँले स्थानीय तहमा अन्तर्घात गर्नुभयो । अहिले अरुले अन्तर्घात गरे ।’
शर्माले थपे, ‘माओवादीको वैचारिक र राजनीतिमा दख्खल भएको र पार्टीको उपमहासचिवजस्तो नेतालाई हराएर प्रहरीको हत्याको आरोप लागेका व्यक्तिलााई भोट हाल्ने अवस्थामा जनता कसरी पुगे ? सोच्नुपर्ने अवस्था आएको छ ।’
रामवृक्षको सालिक प्रकरण
पोखरेलको पहलमा गत वर्ष महोत्तरीमा रहेको माओवादीका रामवृक्ष यादवको सालिक हटाएर निर्मल लामा बहुप्राविधिक विद्यालय स्थापना गर्ने योजना सुरु भयो । जसको असर माओवादीमा उल्टो पर्यो । उक्त सालिक हटाउने विषय माओवादीको महाधिवेशनमा समेत उठ्यो ।
महाधिवेशन हलमा मातृका यादव पक्षधर सत्यनारायण भगतसहितका नेताले पोखरेलमाथि कारबाही गर्न माग गरेका थिए । त्यतिबेला पोखरेलले एक दिन महाधिवेशन नै बहिष्कार गरेका थिए । यो प्रकरणले पनि अहिले महोत्तरीमा माओवादीलाई रुष्ट बनाएको बताइन्छ ।
शर्माले भने, ‘उहाँले रामवृक्ष यादवको सालिक हटाएर निर्मल लामा बहुप्राविधिक विद्यालय स्थापना गर्ने भनेपछि माओवादीभित्र नै विवाद भयो । जसको असर गत वर्ष भएको महाधिवेशनमा पनि देखियो । नेतृत्वले कुरा मिलाए पनि जिल्लामा नेता कार्यकर्ताको मन मिल्न सकेन ।’
सभार : शिलापत्र अनलाईन