Sunday 16th of June 2024

महोत्तरीका केही महिला हिंसाका घटनाहरु

0 Shares

सुनिता महतो
महोत्तरी / यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन हुदैछन् । गत मङ्सिर ९ गतेदेखि देशभर सुरु भएको अभियान मंसिर २४ गते समापन हुँदैछन् । ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ अभियानको सुरुवात भएतापनि यसको प्रभाव भने समाजमा दीर्घकालिन हुन सकेको छैन । अभियान अन्तर्गत यस पटक ‘म हिंसा गर्दिन, म हिंसा सहदिन र म हिंसाको प्रतिकार गर्छु र रिपोर्ट गर्छु’ भन्ने प्रतिवद्धता राखिएतापनि समाज १७ दिनपछि सवै विर्सिएर दैनिकीमा व्यस्त रहेका हुन्छन् ।

See the source image
प्रस्तुत छ, महोत्तरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहदा पछिल्लो गतिविधी के कस्ता रहयो । समग्रमा महोत्तरीमा घटेका केही घटनाहरु यहाँ चर्चा गर्न चाहन्छु ।

प्रहरी, सरकारी वकिल कार्यालय र अदालतको पुरातन शैलीमा आधारित ‘डेलिभरी’ प्रणाली दोषी रहेको छ । एउटा पीडित सयौँ बाधा झेलेर प्रहरी कार्यालय पुग्छ, तर प्रहरीले उसलाई ‘असिस्ट’ गर्दैन । थोरै केस सरकारी वकिल कार्यालय र अदालत जान्छन् । त्यहाँबाट उनीहरूले उठ्नै नसक्ने गरी हन्डर खानुपर्छ ।

चन्द्रकिशोर झा

मधेस मामिलासँग जानकार

घटना १, दाइजो दलनमा महोत्तरीकी नेहा
५१ लाख नगद र २० तोला सुन दाईजोमा दिएर छोरीकी विवाह गरेकी महोत्तरीकी नेहा चौधरीका घरपरिवार चिन्तित छन् । ज्वाईले अझ दाईजोको माग गर्दै छोरीमाथि अत्याचार गरेपछि उनको माईतीपक्ष कानुनी उपचार खोजेका हुन् । गत फागुनमा रामगोपालपुर नगरपालिका ५ का डा. पंकज चौधरीसँग वैवाहिक वन्धनमा वाँधिएकी नेहाको दाम्पत्य यात्रा ६ महिना नवित्दै अवरुद्ध भएको छ । अहिले नेहा र उनका श्रीमान् पंकजले फरक फरक बाटोबाट कानुनी उपचारको लागि अदालतको शरणमा पुगेका छन् । नेहाले दायर गरेको मुद्दामा घरेलु हिंसा र दाईजो उल्लेख रहेको छ । त्यस्तै नेहाका श्रीमान् पंकजले अदालतमा दायर गरेको मुद्दामा सम्बन्ध विच्छेदलाई अगाडि ल्याएको छ ।

See the source image
तीन वर्षअघि काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दै गर्दा महोत्तरी औरहीकी नेहा चौधरीको महोत्तरीकै रामगोपालपुर नगरपालिका- ५ का डा. पंकज चौधरीसँग भेट भयो  । डा. पंकज ग्रान्डी अस्पतालका जागिर गर्थे । सामाजिक सञ्जालमार्फत उनीहरू अझ नजिकिए । प्रेममा परेपछि दुवै परिवारको सल्लाह र अनुमतिमा ६ फागुन ०७७ मा इन्गेजमेन्ट भयो  । त्यसको एक वर्षपछि २५ फागुन ०७८ मा जनकपुरको एक होटेलमा धुमधामसँग विवाह भयो  । विवाहको दुई महिनासम्म राम्रो थियो । त्यसपछि भने पंकजको परिवारले नेहालाई मानसिक र शारिरीक रुपमा तनाव दिन थालेको नेहाले संचारकर्मीसमक्ष बताईन् । त्यसपछि श्रीमान् श्रीमतीविचमा वारम्बार खटपट हुन थाल्यो । पंकजले नेहालाई घरेलु हिंसा गर्न थाले । जव हिंसा उग्ररुप लिएपछि नेहाले जाहेरी दिन महोत्तरी जलेश्वरस्थित प्रहरी कार्यालय पुगिन् । प्रहरीले पंकजलाई पक्राउ गर्‍यो । त्यसपछि दुवैलाई सम्झाई-बुझाई धरौटीमा छाडिदियो  ।
तर, पछि नेहामाथिको यातना झन् बढ्न थाल्यो । हुँदाहुँदा पंकजले नेहालाई कुटपिट गरी घरबाटै निकालिदिए  । गत २५ कात्तिकमा नेहाले फेसबुकमार्फत आफूमाथि भएको घरेलु हिंसाको घटना सार्वजनिक गरिन् । नेहाले जिल्ला अदालत महोत्तरीमा मुद्दा हालेकी छिन् । उनको मुद्दा अदालतमा दर्ता भइसकेको छ ।
यता पंकजले श्रीमतीबाट अन्याय गरेको खवर ग्रान्डी अस्पतालले थाहा पाएपछि पंकजलाई कारवाहीस्वरुप जागिरबाट बर्खास्त गरेका छन् ।

घटना २, आत्मदाहको प्रयासपछि बल्ल डिएनए परीक्षण गर्न अदालतको आदेश
जलेश्वर निवासी निहारिका राजपुत चरम महिला हिंसा भोगेकी एक पात्र हुन् । उनले छोरा र बलात्कार घटनामा संलग्न धनुषा क्षिरेश्वरनाथ नगरपालिका- ३ का २३ वर्षीय शिवराज श्रेष्ठको ‘डिएनए’ (डिअक्सिराइबोन्युक्ल्के एसिड) टेस्ट गर्नका लागि धेरै नै लडाई लडयो ।
जिल्ला अदालत धनुषाले निहारिका बलात्कृत नभएको भन्दै २४ माघ ०७८ मा आदेश नै दिएको थियो  । अदालतको आदेशपछि न्यायका लागि निहारिका काठमाडौं पुगिन् । माइतीघर मण्डलामा धर्ना बस्नुको साथै वसन्तपुरमा अनशन समेत वसिन् । तैपनि उनले न्याय पाउने छाँट देखिएन । सरोकारवाला निकायले न्याय दिलाउन असक्षम भएपछि उनी सिंहदरवार अगाडि अनसनमा बस्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । प्रहरी लगायतका सरोकारावाला निकायले निहारिकालाई सहयोग गरिने वाचा गरिन् । तर ती वाचा पुरा गर्नका लागि कुनै पनि पक्षले अगाडि बढन् नसकेको अवसथामा निहारीकाले गत २७ साउनमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालय अगाडिको सडकमा उत्रिइन्  ।

See the source image शरीरमा पेट्रोल छर्किन् र आत्मदाहको प्रयास गरिन्  । समयमा प्रहरी आएपछि उनको ज्यान जोगियो । यो खवर समाजिक संचाल अनि मिडिायमा आएपछि नेपालका अदालतले उनलाई न्याय दिलाउनका लागि सक्रिय भुमिका निर्वाह गरेको थियो । ८ भदौमा बलात्कार घटनामा संलग्न भएका शिवराज र निहारिकाको छोराको डिएनए परीक्षण गर्न जनकपुर उच्च अदालतले आदेश दिएको थियो । खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा डिएनए परीक्षण भयो  । जसमा निहारिकाको छोरा र शिवराजको डिएनए बाबुछोराको रुपमा ९९.९९ प्रतिशत मिल्न पुग्यो ।

घटना ३, पतिबाट जलाइएकी प्रमिलाको उपचारको क्रममा मृत्यु
श्रीमानले आगोले पोलेर घाइते बनाउँदा भङ्गहा नगरपालिका-९ की ३५ वर्षीया प्रमिला सदाको उपचारका क्रममा मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्निङ अस्पतालमा गत साउन २९ गते प्रमिलाको उपचारको क्रममा मृत्यु भएको हो । ३८ वर्षीय पति शंकर सदाले शरीरमा मट्टीतेल छर्केर आगो लगाएपछि उनी घाइते भएकी थिईन् । माइतीघरमा आमासँगै सुतेकी प्रमिलालाई पति शंकरले साउन २१ गते राति मट्टीतेल खन्याएर आगो लगाएको आरोप छ । प्रमिलासँगै सुतेकी ६५ वर्षीया आमा रेशमा देवी सदाको शरीरको १० प्रतिशत भाग जलेको थियो । आरोपित शंकर सदालाई नेपाल-भारतको सीमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका-६ स्थित सम्सी-कन्हवा स्थित नेपाल क्षेत्रबाटै साउन २५ गते प्रहरीले गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घटना ४, ‘बोक्सी’ भन्दै दुई महिलामाथि कुटपिट
जलेश्वर-६ धबौली की ५५ वर्षीया कालोदेवी महतो र ५४ वर्षीया दुलरिया देवी रामलाई गत जेठ २६ गते वोक्सीको आरोप लगाउँदै अभद्र व्यवहार गरेका छन् । उनीहरुलाई सोही ठाउँका ४५ वर्षीय भुलन राम, ५० वर्षीय तलेवर राम, २५ वर्षीय राकेश राम, २४ वर्षीय रवि राम, ३० वर्षीय रामु राम, २८ वर्षीया सोमनी भनिने सोमारी देवी राम र २५ वर्षीया आरती रामले ‘बोक्सी’ को आरोपमा कुटपिट गरेको पीडित परिवारले जनाएको छ ।
घरबाट बाहिर सडकमा बोलाएर ‘बोक्सी’ भन्दै कुटपिट गरेको र अभक्ष कोच्याउने प्रयास गरेको पीडित कालोदेवीले बताईन् । पिडितका छोरा अमितकुमार महतोले दिएको जानकारी अनुसार आमालाई घरबाट बाहिर बोलाएर आरोपितहरूले ‘बोक्सी’ भन्दै नाङ्गै बनाएर कुटपिट गरेको देखेर छुटाउन जाँदा आफूलाई समेत कुटपिट गरेको थियो ।
घटनामा संलग्न आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय जलेश्वरमा जेठ २७ गते उजुरी दिएको पीडितका छोरा अमितकुमार महतोले जानकारी दिए । प्रहरीले भुलन राम र सोमनी भनिने सोमारी देवी रामलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।
त्यस्तै, खेतमा काम गरिरहेकी दुलारी देवी रामलाई आरोपितहरूले नियन्त्रणमा लिएर घरमा ल्याई ‘बोक्सी’को आरोपमा कुटपिट गर्दै नाङ्गै बनाएपछि नजिकैको पोखरीमा हाम फालेको पीडितले बताउनु भयो ।
पीडितले पोखरीमा हाम फालेपछि स्थानीयले उद्दार गरेको पीडितका छोरा अशोक रामले बताउनु भयो । पीडित दुई महिलालाई भुतप्रेत लगाएको भन्दै स्थानीय सोमन भनिने सोमारी देवी र भुलन राम लगायतले हात, लाठी र लात्तीले कुटपिट गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घटना ५, श्रीमतीको गर्भपतन भएपछि भाउजुको हत्या
गत असोज २७ गते प्रहरीले भाउजुको हत्या गरेको आरोपमा महोत्तरी गाउँपालिका-३ मडैका ४२ बर्षिय देवर संजयकुमार झालाई पक्राउ गरेका थिए । आफ्नी ४२ वर्षीया भाउज्ु शिलादेवी झालाई ‘बोक्सी’को आरोप लगाउँदै हत्या गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा हत्या गरिएको अवस्थामा शिलादेवीको शव असोज २८ गते घरमै फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गत असारमा सञ्जय र रिङ्कु झाबिच विवाह भएको थियो । विवाहपछि सो परिवार सगोलमा बस्दै आएका थिए । एकदिन शिलादेवीले दिएको केरा रिङ्कुले खाएको र सोही राति रिङ्कुको गर्भपतन भएको भन्दै सञ्जयले शिलादेवीलाई ‘बोक्सी’को आरोप लगाउँदै आएको प्रहरीले जनाएको छ ।
गर्भपतन भएपछि घरमा निको हुने अवस्था नदेखेपछि सञ्जयले रिङ्कुलाई उपचार गराउन जनकपुर लगेको र अस्पतालमा उपचार गराउँदा पनि निको नभएपछि सञ्जयले धामीझाँक्रीको सहारा लिँदै आएको पनि प्रहरीले जनायो ।
धामीझाँक्री लगाउँदा रिङ्कुले काम्दै ‘म कृष्णा हुँ । आमा शिलादेवीले म र मेरो बुबा लालकिशोरलाई मारेकी छन् । अब सञ्जयको श्रीमती रिङ्कुलाई मार्छु ।’ भनेकाले सञ्जयले शिलादेवीलाई ‘बोक्सी’को आरोप लगाएको स्थानीयले बताएका छन् ।
प्रहरी कार्यालयले दिएको जानकारी अन्ुसार शिलादेवीको हत्या गर्ने योजनाका साथ सञ्जय असोज २७ गते जनकपुरबाट मडै घरमा आएर बसे । सोही राति भाउजू सुतिरहेको ओछ्यानमै गएर तीन हथौडा प्रहार गरी भाउजुको टाउको छियाछिया पारेर हत्या गरिएको थियो । भाउजुको मृत्युपछि संजय साइकलमा जनकपुर भागेका थिए ।
प्रदेशगत रूपमा सबैभन्दा धेरै महिला हिंसा मधेसमा भएका छन् । प्रहरीको तथ्यांकअनुसार आव ०७४/७५ यता चालू आवको असोजसम्म मधेसमा २३ हजार आठ सय ८२ घटना भएका छन् । मधेस मामिलासँग जानकार रहेका चन्द्रकिशोर झाले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतको पुरातन शैलीमा आधारित ‘डेलिभरी’ प्रणाली दोषी रहेको बताउँछन् । उनले भने, ‘एउटा पीडित सयौँ बाधा झेलेर प्रहरी कार्यालय पुग्छ, तर प्रहरीले उसलाई ‘असिस्ट’ गर्दैन । थोरै केस सरकारी वकिल कार्यालय र अदालत जान्छन् । त्यहाँबाट उनीहरूले उठ्नै नसक्ने गरी हन्डर खानुपर्छ ।’

प्रतिक्रिया