Sunday 16th of June 2024

ऋण मिनाहा र क्षतिपूर्तिको माग गर्दै उखु किसान आन्दोलित

0 Shares

लक्ष्मी साह

बारा / चिनी उद्योगले किसानलाई दिएको ऋण मिनाहा गर्नुपर्ने र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै बाराका उखु किसानहरूले शनिबार प्रदर्शन गरेका छन् । कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी उद्योग अगाडि सयौं किसानहरूले आ–आफ्नो खेतमा सुकेको उखुको बोट लिएर प्रदर्शन गरेका हुन् ।

 

See the source image

प्रदर्शनको क्रममा किसानहरूले रोगले सुकेको उखु जलाउँदै दिउँसो २ घण्टा कलैया–पिलुवा सडक अवरुद्धसमेत गरे ।

झन्डै ३ सय किसानले प्रदर्शन गर्दै करिब ३ क्विन्टल सुकेको उखु जलाएका हुन् । कलैया १६ विद्यानगरका उखु किसानका अगुवा इन्द्रदेव कुसवाहाका अनुसार बारामा झन्डै पाँच सय किसानले करिब ८ सय बिघामा लगाएको उखु खेती रोगले सुक्दै गएकोले किसानलाई नोक्सानीबाट जोगाउन चिनी उद्योगले उखुको बिउ र औषधिका लागि दिएको ऋण मिनाहासँगै सरकारले किसानलाई क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरिएको छ ।

‘गत साउनदेखि नै चिनी उद्योग र स्थानीय प्रशासन मार्फत सरकारलाई रोगको समस्यासँगै ऋण मिनाहा र क्षतिपूर्तिको लागि अवगत गराउँदै आयौं । तर अहिलेसम्म पटकपटक आश्वासन मात्र पायौं,’ उखु किसान अगुवा कुसवाहाले भने, ‘उद्योगले न ऋण मिनाहा गर्योे नत क्षतिपूर्तिको लागि स्थानीय प्रशासनबाट सरकार समक्ष पहल भयो ।’

कुसवाहाले सडक आन्दोलन गर्नुको विकल्प नरहेकाले आन्दोलन सुरु गरेको पनि बताए । किसानको पीडा र नोक्सानीबारे कसैले पनि वास्ता नगरेको उनको गुनासो छ। ‘मागप्रति सरकार र चिनी उद्योगले अटेर गरे कडा आन्दोलन हुनेछ,’ उनले भने, ‘किसानले उखु खेती गर्न चिनी उद्योगबाट बिउ र उखु रोगविरुद्धको औषधि र बिउको लागि ऋण लिएर उखु खेती गरेका छन् ।’ उखुको बिउ र रोगको प्रकोपबाट उखु जोगाउन किसानहरुले ‘ट्राइको डर्मा र फन्डिसाइड’ र कोराजिन नामको औषधिको लागि ऋण लिएको हो । उखुबाट बढीभन्दा बढी चिनी निकाल्न सकिने सीओ २३८ जातको उखु किसानहरुले लगाएका हुन् । मनहर्वा, श्रीपुर, विद्यानगर, कलैया, भोडाहा, उत्तरझिटकैया, इनर्वा, सिसवा, मदिल्वालगायत दर्जनौं गाउँ आसपासको खेतमा लगाइएको उखु सुक्ने रोगको प्रकोप छ ।

See the source image

रोगको पहिचान भने भइसकेको छैन । रोग पहिचान गर्न र प्रकोपविरुद्ध औषधि छर्न हालसालै उद्योग वा सरकारको तर्फबाट कृषि प्राविधिक टोली खटेको छैन । तर उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुसवाहाले ५ महिना अघि उद्योगले प्राविधिक ‘हायर’ गरेर जाँच गराउँदा त्यो बेला प्राविधिकहरुले ‘रेडरट’ रोगले उखु सुकेको बताए । उनकाअनुसार बारा र पर्सामासमेत यो रोगको प्रकोप पाँच महिनादेखि फैलिँदै आएको छ ।

दुवै जिल्लामा ९ हजार बिघामा साढे ६ हजार किसानले उखु खेती गरेको उनको भनाइ छ । ‘किसानको उखुबाट ऋणको पैसा असुलउपर गरिने सर्तमा उद्योगले किसानलाई ऋण दिँदै र सिकसानले लिँदै आएको उनले बताए । उद्योग स्रोतका अनुसार झन्डै ८ करोड रुपैयाँ उद्योगले बिउ र औषधिमा किसानको लागि ऋण लगानी गरेको छ । किसानले उखु काटेर बिक्री गर्ने समयमा यस्तो रोगको प्रकोप बढेकोले चिनी उद्योग पनि सञ्चालनमा आइसकेको छैन् ।

‘उद्योग पनि जोगियोस्, किसान पनि बाचून् भन्ने हाम्रो उद्देश्य हो,’ उखु उत्पादक किसान संघका अध्यक्ष कुसवाहाले भने, ‘मन्त्रालय र उद्योगको सल्लाहमा बढीभन्दा बढी चिनी निकाल्न सकिने यी सीओ २३८ जातको उखुको खेती गरिएको छ ।’ यो जातको उखु क्रसिङ गर्दा प्रति क्विन्टल उखुमा १३ केजी चिनी निस्कने गरेको छ । यो जातको खेती यही वर्षदेखि सुरु गरिएको हो ।

यसभन्दा अघि ९६६९, दहीचिउरा, ९२२६८, ९२३८ जातको खेती गरिन्थ्यो । जसबाट प्रति क्विन्टल साढे ८ केजी चिनी निस्कने गरेको थियो । ‘त्यसैले यसलाई छाडेर मन्त्रालय र उद्योगले सीओ २३८ जातको खेती गर्न सुझाएका थिए,’ अध्यक्ष कुसवाहाले भने, ‘यो जातको खेती गर्दा रोगको मारमा किसान परेको छ । जति गर्दा रोग नियन्त्रण भएन ।’

प्रतिक्रिया