सर्लाही – जिल्ला ट्राफिक प्रहरी कार्यालयले नयाँ भवनबाट सेवा शुरुआत गरेको छ । विगत लामो समयदेखि सो कार्यालय भाडाका घरमा रहदैँ आएको थियो ।
करिव सात वर्षपछि स्थानीय निकाय, संघीय सरकार तथा समाजसेवीका सहयोगमा भवन निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमहरी काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार तत्कालीन नेत्रगञ्ज गाविसबाट रु ५० हजार, लालबन्दी नगरपालिकाबाट रु २० लाख, हरिवन नगरपालिकाबाट रु एक लाख, वाग्मती नगरपालिकाबाट रु दुई लाख ५० हजार, प्रदेश सरकारबाट रु पाँच लाख र केन्द्र सरकारबाट रु नौ लाख प्राप्त भएको थियो ।
यसैगरी प्याब्सनबाट रु एक लाख ५० हजार र व्यवसायीबाट गरी करिब पाँच लाखगरी कुल रु ४४ लाख ५० हजारको लागतमा सो भवन निर्माण भएको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङ्गले नयाँ भवनबाट सेवा प्रवाहमा सहज भएको र भवन निर्माणमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।