Wednesday 15th of January 2025

प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य को हुन् ? कसले गराउँदैछ शपथ ?

0 Shares

काठमाडौँ — गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधिसभा चुनावको अन्तिम परिणाम बुझाइसकेको छ । त्यस्तै सातै प्रदेशका प्रमुखलाई पनि निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाउँदै छ ।

 

प्रतिनिधिसभाको नतिजा राष्ट्रपतिलाई बुझाएसँगै संघमा सरकार गठनका लागि दलहरूले गृहकार्य सुरु गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा चुनिएका जनप्रतिनिधिले पुस २८ अघि नै नयाँ सरकार बनाउने भएका छन् । चुनावमा एउटै दलले बहुमत प्राप्त गर्न नसकेकाले दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठन हुनेछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा घोषणा गरेको ३५ दिनभित्र प्रधानमन्त्रीको नियुक्ति भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, एउटै दलको बहुमत नपुग्ने भएकाले संयुक्त सरकार गठनको गृहकार्य हुनेछ । नतिजा घोषणाको ३० दिनभित्र संयुक्त सरकार गठन भइसक्नुपर्ने व्यवस्था संविधानको धारा ७६ मा छ ।

संविधानको धारा ८८ मा संघीय संसद् र धारा १७९ मा प्रदेशसभाका सदस्यको शपथसम्बन्धी प्रावधान छ । दुवै सभाका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्नेछ

निर्वाचनपछि पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् । ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएपछि सांसदलाई शपथ गराउने छन् । आयोगले निर्वाचितको सूची संसद्‍मा पठाइसकेको छ ।

आयोगका अनुसार प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य सर्लाही–२ बाट निर्वाचित माओवादीका महिन्द्रराय यादव हुन् । उनी ८५ वर्षीय हुन् । निर्वाचन आयोगका अनुसार यादवको नागरिकतामा जन्ममिति वि.स‌ं. १९९४ वैशाख २४ उल्लेख छ ।०७४ मा पनि उनी सबैभन्दा ज्येष्ठ थिए तर उनी अनुपस्थित भएपछि महन्थ ठाकुरले शपथ गराएका थिए ।

यसपालि यादव अनुपस्थित भएमा उनीपछिका सबैभन्दा पाका उमेरका नेता हुनेछन् बागलुङ-१ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । उनी ८० वर्षका छन् ।

उनको जन्ममिति वि.स‌ं. ११९८ साल माघ २० गते उल्लेख छ । महन्त ठाकुर पनि ८० वर्षकै भए पनि उनको जन्ममिति भने वि.स‌ं. १९९९ साल वैशाख २४ गते रहेको छ । उनीभन्दा १ दिन जेठा छन् राप्रपाका नेता पशुपति शमशेर जबरा । समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जबराको जन्म १९९९ साल वैशाख २५ गते भएको हो ।

प्रदेशमा कसले गराउँछन् शपथ ?

प्रतिनिधिसभामा जस्तै प्रदेशमा पनि निर्वाचित सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट शपथ लिएपछि बाँकी सदस्यलाई शपथ ग्रहण गराउनेछन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा गयानन्द मण्डल गनगाई सबैभन्दा पाका उमेरमा सदस्य हुन् । प्रत्यक्षतर्फ प्रदेशसभामा निर्वाचित गनगाईको उमेर ७९ वर्ष रहेको छ ।

त्यस्तै मधेस प्रदेशमा ७१ वर्षीय गोविन्दबहादुर न्यौपाने सबैभन्दा जेठा सदस्य हुन् । वि.स‌ं. २००८ साल जेठ २ गते जन्मिएका उनी प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।

त्यस्तै वाग्मती प्रदेशमा ७२ वर्षीय रामप्रसाद ढुंगानाले ज्येष्ठ सदस्यका रूपमा प्रदेश सांसदलाई शपथ ग्रहण गराउनेछन् । वाग्मतीमा उनीपछिका पाका सदस्य हुन् शिवराज अधिकारी । दुवै ७२ वर्षका भए पनि ढुंगानाले केही महिनाले अघि छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ६५ वर्षीय मित्रलाल बस्यालले शपथ ग्रहण गराउनेछन् । निर्वाचन आयोगका अनुसार उनको जन्ममिति २०१४ भदौ ५ गते उल्लेख छ । उनीभन्दा २ दिनले कान्छा छन् बिन्दुकुमार थापा ।

त्यस्तै लुम्बिनी प्रदेशका सबैभन्दा जेठा सदस्य हुन् २०१० जेठ ७ गते जन्मिएका ६९ वर्षीय डिल्लीराज भुसाल । त्यसैगरी कर्णाली प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएका ६६ वर्षीय विनोदकुमार शाह सबैभन्दा पाका सदस्य हुन् । उनले प्रदेश प्रमुखबाट शपथ लिएपछि बाँकी सदस्यलाई शपथ ग्रहण गराउनेछन् ।

सुदूरपश्चिम प्रदेशसभामा भने ६८ वर्षीय मानबहादुर रावल सबैभन्दा पाका सदस्य हुन् । निर्वाचन आयोगका अनुसार उनको जन्म वि.स‌ं. २०११ साल असार २० गते भएको हो ।

प्रतिक्रिया